कविता : बुबा

हिमालय टाइम्स
Read Time = 2 mins

खिलाप मेरा सब टार्न सक्ने
विलाप दुर्भाव सपार्न सक्ने ।
द्रष्टा उनै दीक्षक हुन् पिताजी
सन्तानका आँसु निखार्न सक्ने ।।

मिलाप बुन्ने घरबारभित्र
रानो मुली रक्षक घारभित्र ।
खाताखजाञ्ची सुचरित्रदाता
पिता ! दया सागर जन्मदाता ।।

खेतीकिसानी समुदाय न्यानो
घरायसी अड्चन आड छानो ।
खुसी फुटाएर जुटाउने को ?
प्रसन्न पार्ने फल–बोट को त्यो ? ।।

पगाल रे ईश्वर भावमा छ
नपाल रे दुष्ट सभा समाज !
सुमार्ग देखाउन च्याप्प च्यापी
हिँडाउने तागत हौ पिताजी ।।

आमा र बा पालक प्रेमधारा
उन्मुक्तिका संकटका सहारा
दयार्द्र दानी करुणा निधान
कल्याणका बीजन रामवाण ।।

बाबाविनाको धरती अँधेरो
बा ! हौ तिमी आयुदआयु मेरो ।
आशीष ली ढाकर ढोग्न पाऊँ
गुरुत्व हौ जाँगर जोड्न पाऊँ ।।

पिता महामान्य गरौं पुकार
सौभाग्य वर्षा गर बारबार !
सन्तान हो ! पार पिता प्रसन्न
मिष्टान्न सेवा थप टन्न टन्न ।।

रुँदा बुबा सन्तति दुख्छ भोलि
आमा दुखे क्रन्दन फुट्छ बोली
आमा बुबा प्राण दिने दुखेमा
सन्तान को हाँस्छ वसुन्धरामा ? ।।

-पदम दाहाल
मादी, संखुवासभा
हाल : लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?