काँग्रेस र एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभामा विश्वाको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गर्नुभयो । उहाँले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने बताउनु भयो । उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको बताउनु भयो । नयत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु । संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो । त्यो डर हो, सुशासनको डर । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । मलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको छ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन । यहाँ त नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउँदै हुनुहुन्न, अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन् । तपाईहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौं आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ ?’

उहाँले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गर्नुभयो ।

काँग्रेस-एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको जिकिर गर्नुभयो । उहाँले आफूले विधिको शासन शुरु गरेको जिकिर गर्नुभयो । उहाँले काँग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेँ, लोकतन्त्रको गोडमेल शुरू गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरू गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा शुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

उहाँले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?