चितवन । भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ-मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बस शनिबार पनि फेला पर्न सकेनन् । शनिबार पनि बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म भेट्टाउन सकिएन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आइतबार पनि बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।
घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनुभएको छ । त्यस्तै, नारायणी नदी तटीय क्षेत्रमा र्याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गर्ने प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले खोजी तथा उद्धारका लागि सबै खालका प्रयासहरूलाई जारी राखेको जनाएको छ । शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सातजना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउण्टरको विवरणबाट देखिन्छ । तर, बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।
यी बस पहिरोले बगाउने क्रममा तीनजना यात्रु भागेर बाँच्न सफल भएका छन् भने अरू बेपत्ता भएका थिए । बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका-२८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साहको भएको पुष्टि भएको छ । शनिबार दिउँसो नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-७ स्थित नारायणी किनारमा दुई जनाको शव भेटिएको छ । उनीहरू सोही दुर्घटनामा बेपत्ता भएका यात्रु रहेको हुनसक्ने अनुमान गरिएको छ । ती शवहरू भरतपुर आएका बेपत्ताका आफन्तलाई देखाएर पहिचान गरिने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच