चितवनका तीन सामुदायिक विद्यालयलाई अन्तर्राष्ट्रिय चिन्ह

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 7 mins

चितवन । चितवनका तीन वटा सामुदायिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह प्राप्त गरेकाछ । शिक्षण सिकाइका प्रविधिको प्रयाेग गरेका जिल्लाका तीन विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण(आइएसओ) को चिन्ह (लोगो) प्राप्त गरेका हुन् ।

जिल्लाका तीन मध्ये चितवनको राप्ती नगरपालिका वडा नं ७ स्थित बीरेन्द्र आदर्श माध्यमिक विद्यालयले मंगलबार अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह प्राप्त गरेको हो । यस अघि भरतपुरको नारायणी नमुना मावि र माडीको जनकल्याण माविले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह पाएका थिए ।

वीरेन्द्र आदर्श अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण चिन्ह पाउने जिल्लाको तस्रो सामुदायिक विद्यालय हो । प्रविधि मार्फत शैक्षिक गुणस्तरमा उल्लेख्य काम गरिरहेको वीरेन्द्र आर्दशलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण(आइएसओ) को चिन्ह (लोगो) हस्तान्तरण गरिएको हो ।

राप्ती नगरपालिकाका मेयर शमशेर लामा, शिक्षा विकास इकाई चितवनका प्रमुख भुमिलाल सुवेदी, राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलगायतको उपस्थितिमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

युनाइटेड एकृडिटेसन फाउन्डेसनअन्तर्गत ग्लोबल क्वालिटी काउन्सिलका अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रतिनिधि नारायण प्रसाद दुवाडीले विद्यालयका प्रधानाध्यापक सोमनाथ तिवारीलाई आइएसओको अंकित लोगो हस्तान्तरण गरेका थिए । कार्यक्रममा आइएसओ प्रतिनिधि दुवाडीले विद्यालयले पहिलो चरणको व्यवस्थापकीय पक्षमा २० प्रतिशत काम गरेकोले अहिले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको बताउनुभयो ।

विद्यालयले शिक्षण सिकाइका प्रविधिको प्रयोग गरेर आशादित उपलब्धि हासिल गरेको भन्दै विद्यालयले तीनवर्ष भित्र अन्य विभिन्न सुचकहरु पूरा गरी बाँकी ८० प्रतिशत काम गर्नुपर्ने उहाँले बताउनुभयो । तीन बर्ष भित्र सुचकहरु पूरा गरे मात्रै विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गर्ने दवाडीले बताउनुभयो । कार्यक्रममा शिक्षा विकास इकाइ भरतपुरका कार्यालय प्रमुख प्रमुख सुवेदी नतिजामुखी शिक्षण सिकाइलाई प्राथमिकता दिएर शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताउनुभयो ।

एसईईमा जिल्लाको नतिजा खस्किएका बेला वीरेन्द्र आर्दशले आइएसओ प्रमाणीकरण लोगो ग्रहण गरेको भन्दै उहाँले शिक्षण सिकाइमा बढ्दै गएको चुनौती प्रति ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले प्रविधिको प्रयोग गर्दै सिकाउ, टिकाउ र विकाउको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

लोगो हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका मेयर लामाले नगरपालिकामा शैक्षिक गुणस्तर खस्किएको भन्दै गुणस्तर वृद्धिका लागि शिक्षामा लगानी बढाउने बताउनुभयो । राप्तीका जनप्रतिनिधिबीचको आपसी बेमेलको कारण शिक्षा क्षेत्रमा प्रयाप्त ध्यान दिन नपाएकोले पछिल्लो समयको एसइई परिक्षामा नतिजा राम्रो नआएको भन्दै अब शिक्षालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कँडेलले नतिजा राम्रो नआउनुको मुख्य जिम्मेवारी शिक्षकहरुले लिनुपर्ने भन्दै संस्थागत विद्यालयले परीक्षाको अन्तिम दिनसम्मसमेत विद्यार्थीहरुलाई पठनपाठन र परीक्षाको तयारीमा सहयोग गर्ने गरेको तर सामुदायिक विद्यालयका शिक्षकहरुले प्राथमिकता नदिँदा सामुदायिक विद्यालयको नतिजा खस्केको बताउनुभयो । उहाँले शिक्षकहरुले बिशेष ध्यान दिए आगामी दिनमा नतिजा सुधार गर्न सकिने बताउनुभयो ।

प्रधानाध्यापक तिवारीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयले शिक्षण सिकाईको विधिलाई प्रविधिमैत्री बनाएको बताउनुभयो । विद्यालयले शिक्षकहरुलाई ४३ वटा ल्यापटप वितरण गरेको र २१ वटा कक्षा कोठामा प्रोजेक्टर जडान गरि प्रविधिमैत्री रुपमा अध्यापन भइरहेको भन्दै उहाँले गणित प्रयोगशाला, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्यावलगायतको सुविधा रहेको बताउनुभयो । २०२३ सालबाट संचालनमा आएको विद्यालयमा कक्षा १२ सम्म एक हजार १०० बढी विद्यार्थी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?