✍️ होमप्रसाद वाग्ले
ॐ श्री गणेशाय नमः
ॐ श्री सरस्वत्यै नमः
विद्यामा हुन्छ आनन्द विद्याले बन्छ जीवनी
धन साँचेर बन्दैन मान्छे वास्तवमा धनी ।
नेपालमा झण्डै दुई दशकअगाडिसम्म शिक्षाले राष्ट्रिय समस्या सिर्जना गरेको थिएन । त्यसपछि हाम्रो शिक्षा प्रणालीले सामाजिक र आर्थिक समस्या पार्दै आएको कुरा सर्वविदितै छ । प्राचीनकालदेखि राणाकालसम्म नेपालको शिक्षा परम्परागत रूपमा चलिआएको थियो । उक्त शिक्षा हाल चुनौतीपूर्ण बन्दै गएको छ । मुसलमानहरूले आजकलसम्म मस्जिदको पटाहालाई मदरसा भनी बालबालिकाहरूलाई शिक्षा प्रदान गरेको देखिन्छ । वैदिककालबाट आर्य सनातनी हिन्दुहरूको शिक्षा प्रणाली मन्दिर वरपरका पाटी, सत्तल, धर्मशाला र पिँढी पटाहामा शिक्षा प्रदान गर्ने परम्परा थियो । तद् समयमा गुरुकुल र ऋषिकुल जस्ता संस्थाहरू पूर्णरूपमा स्थापित थिए । गुरुकुल (विद्यालय)मा विद्यार्थीहरूलाई सिधा तथा आवासको निःशुल्क व्यवस्था गरी विद्या आर्जन एवं अध्ययन गराउने आश्रमहरूमा बस्दोबस्त मिलाइएको हुन्थ्यो । गुरुकुलमा पढाउने गुरुको सेवा शुश्रूषा भिक्षाटन गरी विद्याको आर्जन तथा अध्ययन गर्नुपर्ने प्राचीन पद्धति अनुसार शिक्षालयको व्यवस्था गरिएको हुन्थ्यो । त्यसैगरी ऋषिकुलमा ठूलाठूला ऋषिमहर्षिहरूबाट शिक्षार्थीलाई वेद वेदांग आदि विषयको पठनपाठन गराइन्थ्यो । दुवै ऋषिकुल र गुरुकुल शिक्षाका केन्द्र थिए ।
नेपालको शिक्षा प्रणाली प्राचीनकालीन ऋषिकुलीय र गुरुकुलीय प्रकारका नरही मन्दिरका सत्तल, विहार र टोलका डबली (खुल्लामञ्च) र गाउँका पण्डित र ज्योतिषीका पिँढी वा काठको फलैँचामा सीमित रहेको पाइन्छ । बाह्रखरी अक्षर नचिने पनि व्यावहारिक शिक्षा भने बालबालिकालाई आफ्नै घरमा घरपरिवार, इष्टमित्र, नाताकुटुम्बले दिने गर्दथे । विशेषगरी जीवनको पहिलो खण्ड २५ वर्षसम्म विद्या आर्जन गर्नुपर्ने अवधारणा प्राचीन नेपालमा थियो ।
आश्रमहरूले प्राचीन शिक्षा प्रणालीलाई जीवन्त तुल्याएको हुन्थ्यो भनेपछि आएर ऋषिकुल प्रायः लोपोन्मुख भए । गुरुकुलहरू लोकप्रिय हुँदै गए । गुरुकुलमा पढेका सर्वोत्कृष्ट विद्यार्थीहरू परम्परा धान्न भनी त्यहीँ बस्थे अथवा अर्को नयाँ गुरुकुल स्थापना गर्थे । गुरुकुलमा व्यावहारिक र सैद्धान्तिक दुवै विषयको पढाइ हुन्थ्यो । गुरुकुलबाट उत्तीर्ण छात्रको त्यही आधारमा उच्च मूल्याङ्कन गरिन्थ्यो । गुरुकुलमा शिक्षा पाउन अथवा प्रवेश पाउन र पढाइ पूरा गर्न सजिलो कुरा थिएन । विद्यार्थीको शारीरिक, मानसिक, सांस्कृतिक, व्यवहार, सहनशीलता, गुरुभक्ति, समर्पण, जिज्ञासु, मूर्ख, सज्जन, न्यायी, उपकारी, घमण्डी, कुकर्मी कस्तो छ भनी परीक्षण गरिन्थ्यो । त्यस्तो परीक्षण वा जाँच एक वर्षदेखि तीन वर्षसम्म चल्थ्यो । मूल गुरु (प्रधानाध्यापक) लाई पूर्णतः चित्त बुझेपछि मात्र विद्यार्थी शिक्षा पाउन योग्य र सुपात्र ठहरिन्थ्यो । त्यस्तो शिक्षा पद्धतिलाई गुरुकुलीय शिक्षा प्रणाली भनिन्थ्यो ।
त्यस्ता गुरुकुलहरूमा
१. आयुर्वेद शल्य, शालक्य (हँसाउने), वैदांगी, वैद्यनाथ
२. अर्थशास्त्र, उद्योग, वाणिज्य, नश्ल सुधार, सीप व्यापार सामानहरू
३. वेद वेदांग, पुराण, उपनिषद्, आरण्यक, ब्राहृमण दर्शन
४. धनुर्वेद, कुस्ती, युद्ध विद्या, गढ निर्माण, व्युह निर्माण, गढी गौडा
५. वास्तु शास्त्र, भवन निर्माण कला, मठमन्दिर, सत्तल, दरबार निर्माण
६. विमान निर्माण, वाहन निर्माण, दु्रत गामिनी, रथ निर्माण, गडा बग्गी निर्माण
७. ज्योतिष शास्त्र, ग्रह पिण्ड, भूगोल, भूगर्भ मापन, भूमिगत, जलवायु विज्ञान
८. तन्त्र, मन्त्र, यन्त्र, चक्र, मारणमोहन, वसीकरण, सम्मोहन, सायमुन्द्री
९. खनिज, लौह, स्वर्ण विद्या, धातु प्रशोधन विद्या, चट्टान विद्या
१०. लेनदेन व्यवहार, तमसुक भर्पाई, फार्से, फिरादपत्र, लेखापढी गर्ने विद्या
११. आन्तरिक राजनीति, कूटनीति, धर्मनीति, परराष्ट्र नीति, जननीति, साड्गुण्य (राजधर्म)
१२. शरीर विज्ञान, अंगप्रत्यंग पोषण, रूप परिवर्तन, योनि परिवर्तन, गुप्त भेष
१३. लोप हुने, उड्ने, जमिनमुनि दबिएर बस्ने, प्राण परिवर्तन गर्ने, प्राण सार्ने
१४. ज्ञानयोग, कर्मयोग, ध्यानयोग, लघुदीर्घ काययोग र योग विद्या
माथि वर्णन गरिएका चौध विद्याको उपस्थिति चौसठ्ठी कला जानेर पारंगत भएपछि सम्भव हुन्थ्यो । प्रत्येक विद्याका गुरुकुलहरू फरक–फरक हुन्थे । एक व्यक्तिले एक विद्याको अंशमात्र दख्खल अथवा सिद्धि गर्न सक्थ्यो । भगवान् श्रीकृष्णले चौध विद्या र चौसठ्ठी कला जानेका थिए । त्यसैले श्रीकृष्णलाई भगवान् विष्णुको पूर्ण अवतार मानिन्छ । त्यस विद्याको परम्परागत अवशेष आंशिक रूपमा भए पनि राणाकालसम्म रहेको पाइन्छ । भारत वर्षका प्रकाण्ड विद्वान्हरू पनि नेपालमा केही जान्न आउने गर्दथे । श्री ३ जंगबहादुर राणाले १९०६ चैत्रबाट ११ महिनासम्म युरोप भ्रमण गरेर फर्कंदा गिद्धे छापाखाना र अंग्रेजी शिक्षाको प्रवेश गराए ।
उनले नेपाली शास्त्रीय वास्तुशास्त्रीलाई पूर्णतया परित्याग गरी नक्कली विद्या, नक्कली कर्मी, नक्कली सामानबाट बनेका नक्कली हवेलीहरू १९९० सालको भूकम्पबाट ढलेर धनजनको ठूलो क्षति भयो । तर, मानदेवको पालामा बनेको चाँगुनारायण, पलाञ्चोकी भगवती मन्दिर, राजा राम शाहले बनाएको गोर्खा दरबार, प्रताप मल्लले बनाएको तलेजु मन्दिर तथा हनुमानढोका, नौतले दरबार, राजा भूपतिन्द्र मल्लले बनाएको पचपन्न झ्याले दरबार तथा तुलजा भवानीको मन्दिर र न्यातपोल देवल, सिद्धिनरसिंह मल्लले बनाएको पाटन दरबार, सिद्धेश्वर मन्दिर, पृथ्वीनारायण शाहले बनाएको साततले दरबार, काठमाडौंको नौतले दरबार कहिल्यै भूकम्पले भत्काएन । किनभने ती भवनहरू हाम्रो मौलिक, वैदिक, पूर्वीय वास्तुशास्त्रको विधानमुताबिक बनाइएको थियो । त्यसै उदाहरणबाट हाम्रो पूर्वीय शास्त्र मौलिक, वैज्ञानिक, टिकाउ र बलिया छन् भन्ने कुरा प्रमाणित हुन्छ ।
नेपालको शिक्षा प्रणाली प्राचीनकालीन ऋषिकुलीय र गुरुकुलीय प्रकारका नरही मन्दिरका सत्तल, विहार र टोलका डबली (खुल्लामञ्च) र गाउँका पण्डित र ज्योतिषीका पिँढी वा काठको फलैँचामा सीमित रहेको पाइन्छ । बाह्रखरी अक्षर नचिने पनि व्यावहारिक शिक्षा भने बालबालिकालाई आफ्नै घरमा घरपरिवार, इष्टमित्र, नाताकुटुम्बले दिने गर्दथे । विशेषगरी जीवनको पहिलो खण्ड २५ वर्षसम्म विद्या आर्जन गर्नुपर्ने अवधारणा प्राचीन नेपालमा थियो । तर, संगठित तथा संस्थागत विकास भने शिक्षा क्षेत्रमा रहेको पाइँदैन । ती पण्डित र विद्वान्हरूले आफू कण्ठाग्र, जिहृवाग्र रहेको कुरालाई एउटा भाँडामा पगालेको घिउ अर्को भाँडामा खन्याए झैँ खन्याउने काम हुन्थ्यो । फरक यति हुन्थ्यो कि ती गुरुहरूको विद्या र ज्ञान अरु बढ्दथ्यो । कुनै ठूलो शहर जस्तै काशी, कास्मिर, पञ्जाव, पुना, बंगाल, मेरठ, मध्य प्रदेश, महाराष्ट्र, उडिसा जस्ता आश्रमहरूमा बसेर पढेको कुरा सुनिन्थ्यो ।
शास्त्र पढेर आएका मानिसहरूमा श्रवण, मनन, व्याख्या, छलफल, वादविवाद, प्रदर्शन, प्रयोग जस्ताको त्यस्तै हुन्थ्यो । उदाहरणका लागि– कनकमणि निर्माण (सुन बनाउने) विधि, रजत निर्माण विधि, मोती विधि, भष्म विधि, लौह भष्म विधि, कस्तुरी वटी जस्ता विधि विधान छात्रहरूले व्यावहारिक रूपमा सिक्दथे । विद्वान्हरूको बीचमा शास्त्रार्थ गर्न र कन्या विवाह गर्दा वरको विद्या परीक्षण लिने परम्परा व्यापक रूपमा प्रचलित थियो । कन्याहरूलाई दशैँ र विभिन्न पर्वहरूमा टीका लगाइदिँदा पढेको पोइ पाएस् भन्ने आशीर्वाद दिइन्थ्यो भने कन्यालाई घरायसी व्यवहारमा परिआउने हरेक कुराको तालिम आफ्ना आमा, फुपू, दिदी, भाउजू, काकीहरूले घरमै दिने चलन थियो । उदाहरणका लागि- परिकार बनाउने, आतिथ्य सत्कार गर्ने, आपत्-विपत्मा गर्ने कुरा आफ्ना खसम(पति) सँग गर्ने व्यवहार, बाजेबज्यै, जेठाजु, देवर, जेठानी, देवरानी, आमाजू, नन्द, बुढाबाजे, बुढीबज्यैसँग लिन सकिन्छ ।
कुन शिक्षकले के काम गरे, कस्तो पदोन्नति पाए, कसले नराम्रो काम गरे र नसिहत पाए ? त्यसको माप आजसम्म सार्वजनिक भएको थाहा पाइएन । सबैभन्दा ठूलो कुरा राष्ट्रमा धमिरो लगाउनुछ भने शिक्षण संस्थालाई निकम्मा, निहत्था, निरीह, फाल्तु बनाए पुग्छ । त्यसो भयो भने राष्ट्र नराम्रोसँग खोक्रो बन्छ ।
नेपालको शिक्षा विस्तार गराउन प्राचीनकालमा प्रशस्त जमिन, बिर्ता, गुठी, भिक्षाटन तथा चन्दादानको चलन थियो । ठूलादेखि साना रजौटाहरूले आफ्नो इज्जत प्रतिष्ठाका लागि विद्यालयको स्थापना गरेका हुन्थे । धनीमानीहरूले गुरुहरू झिकाई आफ्ना छोराछोरीहरूलाई पढाउने गर्दथे । एक आश्रमबाट अर्को आश्रममा जाने छात्रहरूलाई गाउँटोलका मानिसहरूले यथाशक्य सहयोग गर्दथे । त्यसरी मद्दत लिई पढ्न आएका छात्रहरूले धेरै शास्त्र पढेपछि आफ्नै गाउँमा फर्केर विद्या दान दिने परम्परा प्रशस्त्र मात्रामा थियो । बाहिरबाट विद्या आर्जन गरिआएकाहरूलाई आफ्नो घरमा कार्य (कर्मकाण्ड) गराई चौकी (व्यासासन) मा बसाल्ने चलन थियो । अन्य सीप जानेर आएका मानिसहरूले मठमन्दिर, सत्तल, धाराकुवा, पोखरी, चौतारो र समाज सेवा गर्ने परम्परा थियो । यसरी नै प्राचीन शिक्षा जीवन्त रहेको थियो ।
वर्तमान नेपालमा विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयबाट प्राप्त गरेको शिक्षा विदेशी निकायमा मान्य हुँदैन र भए पनि स्तरीय मानिँदैन । त्यसको परिणति नेपालको शिक्षा अहिलेको ढंग र ढाँचामा प्रदान गर्दा पछिको पिँढीमा पूणतः बेकम्मा तथा बेरोजगारमात्र होइन, विश्व बजारमा बिकाउ हुने अवस्था छैन । त्यसताका नेपालमा ती बेरोजगारीहरूको कस्तो विद्रोह जन्मला ? कल्पना गरौं ।
विश्वविद्यालयमा कुन स्तरका कति विद्यार्थीहरू छन् र तिनीहरूलाई के कति सरकारी रोजगारी मिल्छ त्यसको जिम्मा सरकारले लिँदैन । लिएको थाहा पाएको पनि छैन । दीक्षान्तपछाडि विचरा, विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी दिने ठोकुवा गर्ने कुरा पनि भएन । विश्वविद्यालयमा गुणस्तर प्राप्त जनशक्ति चयन गर्ने नेपालको कुनै नीति छैन । राष्ट्रिय योजना आयोगले पुरानो रा.वि.शे.उच्च शिक्षा हासिल गरेपछि सबैलाई देशका कुनाकाप्चामा पढाउन पठाउने चर्चा गरेको तथापि त्यसको लक्ष्य र उपलब्धि निर्धारण गर्न सकेको छैन । पृष्ठपोषण गर्ने परम्परा नेपालमा छैन । योग्य, सक्षम, निवृत्त व्यक्तिहरूलाई संगठित गरी राष्ट्र निर्माणमा उपयोगी सम्भवहरू, सुझावहरू संकलन गर्ने निकाय पाइँदैन ।
शिक्षक कर्मचारीहरूमा पुरस्कार, दण्डको विवेकपूर्ण व्यवस्था छैन । कुन शिक्षकले के काम गरे, कस्तो पदोन्नति पाए, कसले नराम्रो काम गरे र नसिहत पाए ? त्यसको माप आजसम्म सार्वजनिक भएको थाहा पाइएन । सबैभन्दा ठूलो कुरा राष्ट्रमा धमिरो लगाउनुछ भने शिक्षण संस्थालाई निकम्मा, निहत्था, निरीह, फाल्तु बनाए पुग्छ । त्यसो भयो भने राष्ट्र नराम्रोसँग खोक्रो बन्छ । नेपालका कतिपय विद्वानहरूले विदेशी प्राध्यापकहरूको सिफारिशमा संसारको ज्ञान हासिल गरेका छन् । यसै परिप्रेक्ष्यमा मैले यस विद्यालयमा २०७१ सालदेखि २०७५ जेठ ९ गतेसम्म पाएको प्रअको जिम्मेवारीको अवधिमा विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक एवं प्रशासनिक उन्नतिका लागि प्रयत्न गर्दा पूर्ण आशा गरे बमोजिमको परिवर्तन गर्न नसके पनि माथि उल्लिखित कार्यहरू धेरै मात्रामा सुधार भएको सर्वविदितै छ ।
निष्कर्षमा भन्नुपर्दा नेपालमा आधारभूत शैक्षिक संरचना महत्व दिने खालको नहुँदा त्यसको परिणाम नेपालले छिट्टै बेहोर्नुपर्नेछ । त्यसको समाधानको एउटै उपाय छ, विश्वमा जे जस्तो जनशक्ति आवश्यक ठानिएको छ स्वदेशी स्रोतको परिचालन गरी प्राविधिक, जान्ने तथा व्यवहारिक, रोजगारीमूलक शिक्षानीति, पाठ्यक्रम, विद्यालय तथा संस्थाहरू स्थापना गरी कार्यान्वयनमा शीघ्रातिशीघ्र लाग्न जरुरी देखिन्छ । (लेखक बुढानीलकण्ठ नगरपालिका-१०, कपन काठमाडौंमा रहेको बालउद्धार माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच