
तेजप्रकाश बानियाँ
दैनिक जीवनको भोगाइमा हामीले देखेका कति मानिसहरू आरोह अवरोहको भुमरीमा छट्पटाइरहेका छन् । कैयौं मानिस उतार चढावको तनावमा जीवनयापन् गरिरहेका हुन्छन् । कति मानिस असल छन् । कति मानिस सफल छन् । कति त सफल र असल दुवै छन् । उच्च घरानामा जन्मिएर सामान्यमा झरेका छन् । सामान्यमा जन्मिएर उच्च घरानियासरह बनेका छन् । कतिले जीवनलाई घृणा पनि गरेका छन् । सफल र असल मान्छे बन्नलाई, त्यसै हुँदैन । त्ससका लागि जाँगरिलो, लगनशील, इमानदार भएरमात्र हुँदैन, भाग्य पनि चाहिन्छ ।
हुन त कतिले मान्छेको भाग्य भन्ने कुरा जाँगर पनि हो भन्दछन् । जे होस् एउटा ठाकुरले सामान्य परिवारमा जन्मिएर इमानदारी र निरन्तर गरेको मिहिनेतको फलबाट प्राप्त गरेको प्रेरणादायी नतिजाले मेरो मन छोेएको हुनाले सबैलाई जानकारी गराउने उद्देश्यले यहाँ प्रस्तुत गरेको छु । जुन यस प्रकार छ ।
मेरो नजरमा असल पिता उमेश ठाकुर
सधैं हसमुख चेहरामा देखिने, उमेश ठाकुरको जन्म विसं २०२८ साल भदौ ३ गते, सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नंं.१३ राजविराजमा भएको हो । पिता जोखन ठाकुर र आमा अतियादेवी ठाकुरको एकमात्र सुपुत्रको रूपमा जन्मिएका उमेशको बाल्यकाल सुखद् रहेन । आपूm चार वर्षको हुँदा एउटी बहिनीको जन्म भएपछि आमाको स्वर्गवास भयो । त्यसपछि दुःखका दिनहरू सुरु भए । छोरा र छोरीको मुख हेरेर बाबुले अर्को बिबाह गरेनन् । डेढ बिघा जमिनको, परम्परागत खेती, कृषिकर्म, वस्तुभाउ एवं बालबच्चा र घरायसी काम जोखन ठाकुर एक्लैले मुस्किलसाथ भ्याइ-नभ्याई गरेर उतार्दै गए ।
अति सामान्य परिवारमा जन्मिएर सानैमा आमा गुमाएका उमेशले खेतीपाती र घर व्यवहार धानेर वृद्ध बाबुको हेरविचार गरी बहिनीको विवाह गराइदिनु, छोरीलार्ई पढाएर १२ कक्षासम्म पास गरेपछि विवाह गराइदिनु, छोराहरू दुवैजनालाई काठमाडौं राखेर बोर्डिङमा पढाएर इन्जिनियर बनाउनु सामान्य काम होइन ।
छोराछोरीले पनि आफ्नो उमेर अनुसार जे जस्तो काम सकिन्छ बाबुलाई सघाउँदै गए । सात वर्षको उमेरमा घरको काम भ्याउँदै उमेश गाउँको, श्री महावीर माध्यमिक विद्यालयमा जान थाले । उनले त्यहाँ कक्षा ७ सम्म पढे । कक्षा ८ देखि पब्लिक माध्यमिक विद्यालय, लौनिया तिलाठीमा अध्ययन गरी २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । घरायसी काम र खेतीपाती दुःखजिलो चलेकै छ । घरको अवस्था र जनशक्तिको कमीले बहिनीलाई पढ्न पठाउन सकिएन । हुँदैजाँदा, घरमा काम गर्ने मानिसको अभावले त्यसै वर्ष घरदेखि पाँच किलोमिटर उत्तरतर्फ फर्छेट गाविस वडा नं.३ फर्छेट निवासी सूर्यनारायण ठाकुर तथा श्रीमती चन्द्रादेवी ठाकुरकी सुपुत्री सुश्री रामकुमारी देवी ठाकुरसँग विवाह बन्धनमा बाँधिए र घर सम्हाले । २०५२ सालमा बहिनीलाई विवाह गरी घर पठाए ।
तर, केही काम गर्ने समयमा घर बसेर के गर्ने ? घर व्यवहारले गर्दा कपाल काट्ने व्यवसाय गर्न नभ्याए पनि उमेशका बाबुले कपाल काट्न जानेका थिए । कहिलेकाहीँ बाबुले आफन्तको कपाल काटेको हेर्दाहेर्दै उमेशले पनि कपाल काट्न जानिसकेका थिए । एसएलसीपछि उच्च शिक्षातिर नलागी घर व्यवहारमा रहेका उमेशको २०५० साल मंसिरमा, छोरीको जन्म भयो । छोरीलाई गाउँको स्कुलबाट एसएलसी गराए । पछि प्याराडाइज कलेज, राजविराजबाट १२ कक्षासम्म उत्तीर्ण भएपछि नेपाली सेनामा कार्यरत रामकुमार ठाकुरसँग विवाह गराइदिए । २०५६ जेठ महिनामा जेठो छोरा जन्मियो । २०५७ कात्तिकमा कान्छो छोरा जन्मियो । उमेशले आफूमाथि तीनजना बालबच्चाको लालनपालनको जिम्मा पनि थपिएको महसुस गरे ।
अब घर बसेर हुँदैन, अवश्य केही गर्नुपर्छ भन्ने सोचेर २७ वर्षको उमेरमा २०५६ सालमा सोझै काठमाडौं छिरेर बेलाबेला घरको पनि देखभाल गर्नेगरी बालाजुको एउटा सैलुनमा छ वर्ष काम गरेको अनुभवले २०६२ सालदेखि काठमाडौंको, बूढानीलकण्ठ-३ रुद्रेश्वर चोकमा उमेश हेयर कटिङ सैलुन स्थापना गरी हालसम्म काम गरिरहेका छन् । सैलुनमा पनि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म धेरैजसो एक्लैले खटेको देखिन्छ ।
सैलुन खोलेर काम गरेको भरमा, चाहिँदो काममा मात्र रकम खर्च गरी सक्दो मितव्ययीता अपनाई बचत गरेर छोरीलाई १२ कक्षासम्म पास गराए । त्यसपछि छोरीको विवाह गरीदिए । जेठो छोरालाई २ कक्षासम्म लिटिल फ्लावर बोर्डिङ स्कुल राजविराजमा पढाएर । ३ कक्षादेखि हिमालय बोर्डिङ स्कुल, बुढानीलकण्ठमा १० कक्षासम्म पढाए । त्यसपछि छोराले मदनअश्रित मेमोरिएल टेक्निकल इन्स्टिच्युट गोठाटारमा अध्ययन गर्न चाहेकोले, उक्त इन्स्टिच्युटको प्रवेश परीक्षामा सरिक भई उत्तीर्ण भए । करिब दुई लाख रुपैयाँको जोगाड गरी तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाए ।
उत्तीर्ण गरेपछि उनले लोकसेवा परीक्षा दिई नाम पनि निकाले तर जागिर खाने विचार नगरेर सिभिल इन्जिनियरिङमा स्नातक गर्न, जापान जाने चाहना गरेकाले छोराको चाहना अनुसार २० लाख रुपैयाँ यताउती मिलाएर कतै जग्गा धितो राखेर भए पनि मिलाएर छोरालाई अढाई वर्ष अगाडि स्नातक गर्न जापान पठाए । खुशीको कुरा के छ भने, छोराले अढाई वर्षको अवधिमा, भाषा सिक्दै काम गर्दै गरेर २० लाख रुपैयाँ फिर्ता गरिसकेका छन् ।
कान्छा छोरालाई पनि ३ कक्षादेखि १० सम्म हिमालय बोर्डिङ स्कुल, बुढानीलकण्ठमा पढाए । एसएलसी उत्तीर्ण भएपछि क्यानभास कलेज बसुन्धराबाट प्लस २ उत्तीर्ण गरे । तत्पश्चात बिई अध्यनका लागि खोपः इन्जिनियरिङ कलेज भक्तपुरमा प्रवेश परीक्षा दिएकोमा स्कलरसिपमा नाम निस्कियो । प्रथम प्राथमिकता, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन र द्वितीय प्राथमिकता बिर्ई (सिभिल) थियो ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन पढ्ने कलेज काठमाडौंमा नभएको तर उनको परिवार काठमाडौंमा भएकोले बिई (सिभिल) नै पढने विचार गरेर खोपअन्तर्गत कान्तिपुर सिटी इन्जिनियरिङ कलेज काठमाडौं, पुतली सडकमा बिई (सिभिल) कक्षामा भर्ना भए ।
उक्त पढाइका लागि ८ लाख ५० हजारमा कुरा फाइनल भयो । उमेशले त्यो खर्च पनि जोगाड गरे तर अध्ययन गर्दै जाँदा सेमेस्टरहरूमा हुने परीक्षामा कान्छो छोराले राम्रो नतिजा प्राप्त गरेबापत कलेजले शुल्कमा दिने छुट रकम कटाउँदा जम्मा खर्च ७ लाख ५० हजारले पुग्यो । यस प्रकार बिई गरेपछि काम र अध्ययनका लागि उनी हाल विदेश जाने तरखरमा छन् । उमेशका बाबु जोखन ठाकुर पनि छोराको परिश्रम नातिहरूको यस्तो सफलता देखेर सारै खुशी छन् ।
एउटा अति सामान्य परिवारमा जन्मिएर चार वर्षको उमेरमा आमा गुमाएका उमेशले खेतीपाती र घर व्यवहार धानेर वृद्ध हँुदै गएका बाबुको समेत हेरविचार गरी बहिनीको लागि योग्य ज्वाइँ खोजेर विवाह गराइदिनु, छोरीलार्ई पढाएर १२ कक्षासम्म पास गरेपछि विवाह गराइदिनु, छोराहरू दुवैजनालाई काठमाडौं राखेर बोर्डिङमा पढाएर, लाखौलाख रुपैयाँ छिनछिनमा व्यवस्था गरेर २०औं लाखसम्म कतै चलअचल सम्पत्ति धितो बन्धक राखेर भए पनि, समयमा जोहो गरी सम्बन्धित निकायमा पुर्याउनु भनेको पक्कै पनि सहज काम होइन । यसरी उनले कुशल अविभावकको भूमिका निर्बाह गर्न सफल भएकाले असल पिता संज्ञा दिएको हुँ ।
यसले के बुझिन्छ भने उमेशको यो सफलता तँ आँट म पुर्याउँछु भन्ने हाम्रो पौराणिक उखानको चरितार्थ हो । अर्को कुरा मानिसको भाग्य भन्ने कुरा जाँगर हो । इमानदारी र निरन्तरको लगनशीलताले धेरै व्यक्ति धेरै ठाउँमा सफल भएका छन् । हँसिलो अनुहार, मीठो बोली, पेशाप्रतिको दक्षता, ग्राहकसँगको नम्र व्यवहार एवं लगनशीलता आदि उनको सफलताको कडी हो जस्तो मलाई लाग्छ । आगामी दिनहरूमा पनि आवश्यकता र चाहना अनुसार सफलता मिल्दै जावस् । छोराहरू दुवै भाइलाई भविष्यमा सोचेबमोजिम सफलता मिलोस् । उमेशको सैलुनले पनि प्रचूर मात्रामा ग्राहक पाइरहोस् यही मेरो शुभकामना । (बानियाँ नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच