काठमाडौं । भारतविरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसी महिला एसिया कपबाट बाहिरिएको छ । मंगलबार राती भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ‘ए’ बाटै बाहिरिएको हो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाउनुभयो । सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट हुुनुभयो । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहनुभयो ।
भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २/२ विकेट लिनुभयो । रेनुका सिंहले १ विकेट लिनुभयो । त्यसअघि श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाउनुभयो । उहाँको यो टी-२० आई करिअरको उच्च प्रदर्शन हो । अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाउनुभयो ।
भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए । नेपाललाई स्पिनर सीता राना मगरले हेमलथालाई लङअनमा रुविनाबाट क्याच गराउँदै पहिलो सफलता दिलाउनुभएको थियो । शेफाली सीताकै बलमा विकेटकिपर काजोल श्रेष्ठबाट स्टम्पिङ आउट हुँदै शतकको अवसरबाट चुक्नुभएको थियो । सजीवन सजनाले १२ बलमा १० रन बनाउँदै एलबिडब्ल्यु आउट हुनुभयो । जमीमा रोड्रिग्सले २८ रन र रिचा घोष ६ रनमा अविजित रहनुभयो ।
नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा युएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा यो तेस्रो सहभागिता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेले पनि एक खेल जित्न सकेको थिएन ।
यससँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेपाललाई ८२ रनले पराजित गरेसँगै पाकिस्तानले पनि अन्तिम चारको यात्रा तय गरेको हो । यस समूहमा भारत अपराजित रहृयो । पाकिस्तानलाई सात विकेट र युएईलाई ७८ रनले पराजित गर्दै भारत शीर्ष स्थानमा रहृयो । पाकिस्तानले नेपाललाई ९ र युएईलाई १० विकेटले पराजित गरेको थियो ।
सीता, इन्दु र रुबिनाको वरीयतामा सुधार
यसैबीच, आइसिसी टी-२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता राना मगर, कप्तान इन्दु बर्मा र रुबिना क्षेत्रीले सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा सीता ५८, इन्दु ६६ र रुबिना ४८औँ स्थानमा हुनुहुन्छ । सीताले १५, इन्दुले १२ र रुबिनाले ६ स्थान सुधार गर्नुभएको हो । वेस्ट इण्डिजकी हाइली म्याथ्युज वरीयताको शीर्ष स्थानमा कायम हुनुहुन्छ । ब्याटिङतर्फ पनि सीता एक स्थान सुधार गर्दै ८२औँ र रुबिना तीन स्थान झर्दै ८६औँ स्थानमा पुग्नुभएको छ । वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाकी बेथ मोनी कायम हुनुहुन्छ । बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष १०० भित्र छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच