✍️ प्रा. कपिल अज्ञात
डोहोडोहो डोल्पो (२०८१) रञ्जु दहालको प्रियसँगको यात्रा (२०७२) पछिको दोस्रो यात्रा निबन्धको कृति हो । रञ्जु प्रकृतिप्रेमी र साहित्यप्रेमी दुवै हुन् भन्ने उनकै कृतिभित्र यथेष्ट प्रमाण भेटिन्छन् । उनी प्रकृतिको सार्वभौम सत्तालाई स्पर्श गरिरहन चाहन्छिन् । प्रकृति नै मानिसको विशाल शिक्षालय हो भन्ने बुझेकी उनले आफ्नै देशको प्रकृति र संस्कृतिलाई आत्मसात् गर्न साथमा अरू तीनजना हिम्मतिला नारीहरूसँग कदममा कदम मिलाएर आफ्नै देशका दूरदराजमा पर्ने भीरपाखाहरू, चट्टानमा रहेका गोरेटा बाटाहरू, सुरम्य दृश्यहरू, मनमोहक तालहरू चहार्न पुगेकी छन् ।
लेखक हुनेले आफ्नो अन्तर्दृष्टिको भरपुर उपयोग गर्न सक्नुपर्छ भन्ने मान्यताले नै उनलाई प्रकृति दर्शनतर्फ उत्प्रेरित तुल्याएको छ । चारैजना प्रायः एउटै उमेर समूहका भावना, विचार र योजना मिल्ने नारी कसैको करबलले होइन आफ्नै राजीखुशी र रहरले बाटाघाटाका अनेकौँ कहर, कष्ट, हण्डर-ठक्कर सहँदै प्रकृति दर्शन गर्न निस्केका हुन् । उनीहरूको यो यात्रा ठिमीले यात्रा होइन । प्रकृति दर्शन गरी सिर्जनशील प्रतिस्पर्धामा उत्रने यो स्वैच्छिक आँट वा सङ्कल्प हो । नरहरूमात्रै किन, नारीहरू पनि आफ्नो यात्रा योजनामा सम्मिलित भई उत्साहपूर्वक अग्रसर हुन सक्छन् भन्ने यो कुनै विद्रोह नभई बौद्धिक अधिकार प्राप्तिको निम्ति गरिएको नारीशक्तिको स्वतन्त्र अभियान हो । यही प्रकृति प्रेम र दर्शनले उनीहरूको सिर्जनशील मनमस्तिष्क अझै तिखारिँदै र निखारिँदै गएको तथ्यगत प्रमाण उनैका रचनाराशिहरूबाट पाउन सकिन्छ ।
यो नेपालका सतहत्तर जिल्लामध्ये सबैभन्दा ठूलो रहेको जिल्लाको नाम पनि हो । यही ‘डोल्पो’का अघि ‘डोहोडोहो’ द्वित्व शब्द विशेषणका रूपमा आएको छ । ‘डोहो’को शाब्दिक अर्थ लेखिकाकै शब्दमा भन्दा ‘पुगोस्–पुगोस्’ अर्थात् ‘दुर्लभता’ रहेछ ।
रञ्जुको आत्मकथ्यमा किताबप्रतिको प्रगाढ मोह देखिन्छ । यस प्रवृत्तिलाई उनले आफ्ना शब्दमा किताबी लत भनेकी छन् । यहाँ प्रयुक्त लतले नकारात्मक अर्थ दिन्छ । यसलाई किताबी लत नभनी किताबी रस भनेको भए हुन्थ्योजस्तो लाग्छ । किनभने लतले बिग्रनेतिर सङ्केत गर्छ, रसले सप्रनेतिर । यसको अर्थ हो – नयाँनयाँ किताबहरू पढ्नमा रस लिनु । किताब सबैका निम्ति गुरु हो । यसले ज्ञानको सम्प्रेषण गर्छ । एक शक्तिशाली लेखक बन्नका निम्ति ज्ञानको क्षितिज फराकिलो हुनैपर्छ । जो किताबी लतमा डुबेको छ उसैको अनुभव र ज्ञानको क्षितिज फराकिलो हुन्छ । फराकिलो आकाशबाट वर्षिएका अनुभूतिको वर्षाले हृदयभूमि निकै द्रबिलो, रसिलो वा उर्वरा बन्छ ।
परिणामस्वरूप भावनाका मूलहरू फुट्छन्, तिनलाई नियमित रूपमा लिपिबद्ध गर्ने प्रयासबाटै व्यक्ति लेखकको रूपमा स्थापित हुन पुग्छ । आफ्नो सिर्जनप्रक्रियाको पृष्ठभूमिमा रञ्जुले किताबी लतको जे वयान गरेकी छन्, त्यो सबैका निम्ति प्रेरणादायी विषय रहेको छ । त्यही किताबी लतले नै त उनलाई पनि गौरवशाली लेखिकाको रूपमा उभ्याएको छ ।
रञ्जुले आफ्नो परिचयका क्रममा केशवप्रसाद उपाध्यायकी बुहारी, लब्धप्रतिष्ठ साहित्यकार निर्मोही व्यासकी शिष्या भएको बताएकी छन् । यस परिचयले पङ्क्तिकार पनि उनीप्रति स्नेह र सद्भावले आकर्षित हुनपुग्यो । किनभने पङ्क्तिकार पनि उनैको प्रेरणा र प्रोत्साहन पाएर साहित्यिक क्षेत्रमा आफ्नो लेखन कर्मलाई अघि बढाउन समर्थ भएको पात्र हो । आपूm पनि उनैसँग जोडिएका पात्र भएकाले उनका कृतिको विवेकपूर्ण समीक्षा गर्नुपर्छ भन्ने भावना जाग्यो ।
उनकै हातबाट केही समय पहिले प्रियासँगको यात्रा (२०७५) उपहारस्वरूप हात परिसकेको थियो । उक्त कृति पढेर आफ्नो प्रतिक्रिया जनाउनु है भनेर नियात्राकार निर्मोही व्यासले समेत भन्नुभएको थियो । परिस्थितिवश त्यसबारे आफ्ना धारणा लिपिबद्ध गर्ने मेसो जुरेन । अहिले यस कृतिबारे बजारमा पनि व्यापक चर्चा आइरहेकाले उत्सुकतावश पनि आफ्नो बुद्धिविवेकको उपयोग गर्नुपर्छ भन्ने भावना जाग्यो र लेखनमा अग्रसर रहेँ ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित एक सय साठी पृष्ठको आयतनमा फैलिएको यस कृतिमा तीन भूमिका लेखसहित जम्मा दशवटा यात्रा निबन्ध सङ्गृहीत छन् । वर्षा ऋतुको अन्ततिर भएको यसको यात्रा अवधि पनि त्यति लामो समयको छैन, जसमा दश-बाह्र दिनको देखिन्छ । यसमा ‘नियात्रा’ नभनेर ‘यात्रा निबन्ध’ भनिएकाले प्रस्तुति पनि त्यसैअनुरूपको हुनुपर्छ भन्ने लाग्यो । शीर्षकले नै कृति डोल्पो विषय केन्द्रित छ भन्ने बुझिन्छ । डोल्पो नेपालको पश्चिमी भागको एक स्थानिक नाम हो । यो नेपालका सतहत्तर जिल्लामध्ये सबैभन्दा ठूलो रहेको जिल्लाको नाम पनि हो । यही ‘डोल्पो’का अघि ‘डोहोडोहो’ द्वित्व शब्द विशेषणका रूपमा आएको छ । ‘डोहो’को शाब्दिक अर्थ लेखिकाकै शब्दमा भन्दा ‘पुगोस्-पुगोस्’ अर्थात् ‘दुर्लभता’ रहेछ । यिनै प्रदेशको चित्रणमा आधारित भएकाले शीर्षकले पनि सार्थकता वहन गरेको देखिन्छ ।
डोल्पालाई नै यात्राको विषय बनाएर जनकलाल शर्माले कौतुकमय डोल्पो, घटराज भट्टराईले डोल्पाको छोट्टी, त्यस्तै डा. दामोदर पुडासैनी ‘किशोर’ले डोल्पो ओ डोल्पो कृतिको रचना गरेका छन् । यसले डोल्पो प्राकृतिक सौन्दर्य एवम् संस्कृति र सभ्यताको खानी रहेकाले लेखकहरू त्यसतर्फ आकर्षित हुनपुगेका हुन् भन्ने बुझिन्छ । यसैगरी धेरै लेखक, साहित्यकारले डोल्पो पुगेर डोल्पोको वयान गरेका छन् । त्यहाँको प्रकृति र संस्कृतिलाई आआफ्नै भावना र दृष्टिमा उतारेका छन् । यसमा के कसले, के कति तथ्य उजागर गर्यो भन्दा पनि तथ्यहरूलाई साहित्यि रङ्ग दिएर के कसरी प्रस्तुत गर्यो भन्ने प्रस्तुतीकरणले नै महत्वपूर्ण अर्थ राख्छ ।
यसै कृतिकी लेखिका रञ्जुले पनि आफ्नै प्रतिभा र सीपको उपयोग गरी प्राकृतिक वातावरण एवम् सांस्कृतिक रीतिरिवाजलाई साहित्यिक रङ्ग दिएर नवीन कृतिको रचना गरेकी छन् । कृति पढ्दा कहाँ, के कस्तो प्रभाव पा¥यो त्यसैको आकलन गरी प्रतिक्रिया जनाउने लेखकको उद्देश्य हो । सबै यात्राकारको गन्तव्य र उद्देश्य सफल हुनु सुयोगको कुरा हो र यहाँ रञ्जु आफ्नो उद्देश्य र गन्तव्यमा सफल हुन पुगेकी छन् । सबै यसरी नै सफल हुन सक्छन् भन्ने छैन । उनले भनेकी छन्, ‘समाजको कौतुकी भएर होस्, पतिको अटेरी भएर होस्, देशकी बास्ने पोथी नै भएर किन नहोस्, म डोल्पा पुगेँ ।’ ठूलो चुनौतीको सामना नगरी ठूलो कुरा हात लाग्न सक्दैन ।
उनले जे अठोट गरेर अगाडि बढिन् आखिर चिताएको महत्वपूर्ण कुरा हासिल गरेरै छाडिन् । देव-दानवको सागर मन्थनबाट पहिले विष निस्किएर हाहाकार मच्चिए पनि पछि मन्थन गर्दै जाँदा अमृत निस्कियो । सारा कष्ट, पीडा खुशीमा परिणत भयो, त्यस्तै उनको जीवनमा पनि यस कृतिको आगमनपछि खुशी र गौरवले विगतका दर्द, पीडा पक्कै पनि बिर्सिएको हुनुपर्छ । पतिदेवले पनि गौरवको अनुभव गरेको हुनुपर्छ । यसबाट एक महत्वपूर्ण सन्देश पनि मुखरित भएको छ, त्यो के भने आफ्नो उद्देश्यका निम्ति बाँच्न सिक, चुनौतीसँग लड्न सिक ।
केही प्राप्तिका निम्ति केही चुनौतीहरूको सामना गर्न नडराऊ, आत्मनिर्णय र आत्मसङ्घर्ष नगरीकन मानिसले विजयश्री हासिल गर्न सक्दैन । उनमा बौद्धिकता, सीप, जाँगर, हिम्मत र आत्मविश्वासजस्ता उत्कृष्ट गुण सन्निहित रहेकाले लेखकीय जीवनमात्र होइन पारिवारिक जीवन पनि सफल र समुन्नत छ भन्ने लाग्छ । जे जस्तो सङ्कल्प र आत्मविश्वास बोकेर यात्रा तय गरियो, त्यो सपनाले साकार रूप लिएको देखिन्छ । यो उनको योजना, सपना र मिहिनेतको अमृतफल सबैका निम्ति मधुर र मिठासयुक्त रहेको पाउँन सकिन्छ ।
किताबी लत, प्रकृति प्रेम, सिर्जनशील प्रवृत्तिले नै लेखकलाई जिउँदो बनाउँछ । शिष्ट र परिष्कृत शैली, उदात्त विचार र सुन्दर व्याख्या–विश्लेषणले यो सजिएको कृति देखिन्छ-डोहोडोहो डोल्पो । यसमा काव्यात्मकता र आलङ्कारिकताको ओइरो त्यति देख्न नपाइए पनि सम्यक् प्रस्तुतिको मोहकताले तानिरहन्छ ।
नियात्रामा गतिमयता हुन्छ भने यात्रा निबन्धमा स्थितिमयता रहन्छ । यसमा नियात्राका गतिमय गुणहरू पनि नभएका होइनन् तर स्मृतिमय वर्णनको प्राचुर्य र स्थितिमय चित्रणले निबन्धकै स्वरूप लिएको पाइन्छ । वर्णन चातुर्य र मनोसंवादले भरिएको यस कृतिमा वर्णनको एक नमुना हेरौँ :
उब्जाउशील जमीन, बगिरहेका खोलानाला, लमतन्न फिँजारिएका चाक्ला ठूलाठूला फाँट अनि फाँटका बीचबीचमा शहरिया आधुनिक सभ्यताले सुसज्जित हुँदै गरेका घरहरू । ओहो ! साँँचै सुन्दर नगरी रहेछ दाङ । (पृ. २८)
यात्रा गर्दा यात्राकारको के कस्तो प्रवृत्ति हुन्छ, यसबारे यात्राकार रञ्जुको धारणा यस्तो छ :
यात्रा गरिरहँदा यात्रु अगाडिको यात्रा योजना बुन्छ । यात्रा गरिनुको उद्देश्य सफल बनाउन हरतरहबाट प्रयत्नरत रहन्छ । भोलि र अझ भोलि पुगिने ठाउँहरूको स्मृति र परिकल्पाको आनन्दमा भुलिन्छ । (पृ. ४१)
हिमाल आरोहण गरेजस्तै निकै चुनौतीपूर्ण रहेछ त्यो यात्रा । कति ज्याद्रै आँटिला रहेछन् ती चार नारी, जो भारी जोखिम मोलेर पनि गन्तव्य साधिरहेका रहेछन् । घरका अभिभावक खुन्सिएर मोबाइलको घण्टी नबज्नु पनि स्वाभाविकै हो जस्तो रहेछ । खुसी मनले कसले यस्तो चुनौती खेप्न पठाउँछ ? यात्रामा अवरोधहरू आउँछन् तर यस्ता प्राकृतिक अवरोधहरू झेलेर यात्रा गर्नु के जरुरी थियो ? अभिभावकले चिन्ता मान्नु पनि मनासिवै हो जस्तो लाग्छ । कतै हिलाम्मे बाटो धस्सिएको, कतै पहिरो झरिरहेको, कतै ढुङ्गा बज्रिरहेको, कतै भेलबाढी छिचोलेर पार गर्नुपर्ने, वर्षाको मौसम बितेको भए पनि त्यसको अवशेषले ल्याएको आतङ्क ! यस्तो यात्रा पढ्दा पाठकको मन पनि त्रासदीले हल्लिन पुग्छ । लेखिकाको साहस र हिम्मतले अघि बढ्नुपर्छ भन्ने यो उद्गारले पाठकको मन आश्वस्त हुन पुग्छ ।
सिद्धिने दिनमात्र होइन नि रात पनि सिद्धिन्छ अनि फेरि दिन आउँछ । हिउँमै सुतेर रात बिताएर हिमाल चढ्छन् आरोहीहरू । जलधिमै रात बिताएँछन् पारि पुग्नुको र सूर्योदय हेर्नुको आनन्दबोध लिने माझीहरू । (पृ.७५)
कतिपय स्थानमा उनले प्रकृतिसँग मानवजीवनको तुलना गर्दै भन्छिन्- खोला र मानजीवन उस्त लाग्यो मलाई (पृ.१०८) । मानव पनि समयसँगै बग्न सक्नुपर्छ । यदि त्यसतर्फ लागेन भने परनिर्भर कतै कैदी हुनुपर्छ भन्दै आफ्ना अनुभूति र विचारले पाठकलाई सजग र सचेत तुल्याएँदै लगेकी छन् । यस दृष्टिले यो कृति मानसिक आस्वादनको मात्र खजाना नभई जीवन ज्ञानको पनि पथप्रदर्शक रहेको पाइन्छ ।
किताबी लत, प्रकृति प्रेम, सिर्जनशील प्रवृत्तिले नै लेखकलाई जिउँदो बनाउँछ । शिष्ट र परिष्कृत शैली, उदात्त विचार र सुन्दर व्याख्या–विश्लेषणले यो सजिएको कृति देखिन्छ-डोहोडोहो डोल्पो । यसमा काव्यात्मकता र आलङ्कारिकताको ओइरो त्यति देख्न नपाइए पनि सम्यक् प्रस्तुतिको मोहकताले तानिरहन्छ । लेखिकाले जता डो¥याउन खोजेकी छन् त्यतै पाठकीय मन उत्सुकताले पछ्याइरहन्छ । जे होस् अति दुर्लभ डोल्पोको सुन्दर चित्र खिचेर रञ्जुले नेपाली यात्रा साहित्यमा सुन्दर उपहार चढाएको महसुस गर्न सकिन्छ ।
चित्रणकै कुरा गर्ने हो भने शैय्या बनाउँ सरिता तँलाईको अन्ततिर व्यवसायभन्दा बढी सेवा गर्ने बालकुमारीको चरित्रको चित्रण उच्चतम कलात्मकतासाथ गरिएको पाइन्छ । सन्दर्भवश प्रयोग भएका पद्यात्मक सूक्ति एवम् गद्यात्मक कविताले कथ्यलाई रोचक र आकर्षक तुल्याएका छन् । निजात्मकता, चित्रात्मकता, कल्पना प्रवणता, भाषाशैली संरचना आदि यात्रा निबन्धका कसी हुन्, ती सबै आधारमा परीक्षण गर्दा पनि कृति निकै खरा उत्रिएको पाइन्छ । घटना र परिवेशको वस्तुगत स्थितिलाई सिलसिलाबद्ध रूपमा चित्रण गरी कृतिलाई गुरुत्वमय तुल्याउन सफल यात्रा निबन्धकारको प्रस्तुत कृति यात्रा साहित्यको उत्कृष्ट कृति रहेको धारणा व्यक्त गर्दै यो रञ्जुयात्राको अमृत फल हो भन्ने उद्घोष गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच