धनगढीको नोभा हस्पिटलमा तनाव, ३ राउण्ड अश्रुग्यास प्रहार

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको नोभा हस्पिटल परिसर क्षेत्रमा तनाव सिर्जना भएको छ । सो हस्पिटलमा एक जना किशोरको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

जन्डिस भएको भनेर साउन ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरी-२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियाे । सोही विषयलाई लिएर अहिले हस्पिटलमा तनाव भइरहेको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताउँदै आएका छन् । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ।

सामान्य स्वास्थ्य समस्या लिएर आएका चौधरीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोजेका हुन् । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए। तर, अस्पतालले न त उचित उपचार गरिदियो, न त रिफर नै। यस्तै अहिले मृतको शव अस्पतालमै छ। उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको बताएको छ। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएपछि प्रहरी खटिएको छ। आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्। तर स्थिती सामान्य बन्ने अवस्था नदेखिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

मृतकका आफन्त आक्रोशित भएर अस्पतालमा तोडफोड गर्न उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको हो । अस्पताल बाहिर जम्मा भएका मृतका आफन्तले ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मृतकका आफन्त अहिले तितरबितर भएका छन् ।

पाँच दिन अस्पतालमा राखेर बिरामी अन्तिम अवस्थामा पुगेपछि मात्रै नेपालगन्ज या भारतको बरेली लैजान भनिएको मृतकका आफन्तले बताएका छन् । शुक्रवार दिउँसो साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले भने अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?