काठमाडौं । सरकारको समीक्षाका लागि तीन साताको समय पर्याप्त होइन तर भनिन्छ बिहानीले दिनको संकेत गर्छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन साता पूरा भएको छ । प्रधानमन्त्री स्वयंले आफू दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बन्ने घोषणा संसद्को रोष्ट्रमबाट गरिसक्नु भएको छ । यस्तोमा सरकारका लागि हरेक दिन प्रभावकारी र परिणाम केन्द्रित हुनुपर्ने हो । तर, प्रधानमन्त्री ओलीबाहेक सबै मन्त्रीहरू अलमलमै रहेको तीन साताको समीक्षाले देखाउँछ ।
छवि बदल्दै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने क्रममा नै विगतमा भन्दा आफू बदलिएको प्रस्तुति दिन खोज्नुभएको थियो । यतिबेला प्रधानमन्त्रीका रूपमा दैनिक कार्यव्यवहारमा पनि विगतभन्दा बदलिएको व्यवहार ओलीले देखाउनुभएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान सुधार गर्ने, प्याराफिट बनाउने र फ्लडलाइट जोड्ने काम तीन सय दिनमा गरिसक्ने महत्वकांक्षी निर्णय ओलीले गराउनुभएको थियो । सो काम सम्पन्न गर्न त्रिवि पदाधिकार र क्यान पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गरिसक्नु भएका प्रधानमन्त्री ओलीले आफैँ अग्रसर भएर त्रिवि क्रिकेट मैदानलाई रंगशालाको रूपमा दिन चाहनुभएको छ ।
प्रधानमन्त्री भएलगत्तै मन्त्रीहरूलाई कार्ययोजना माग गर्नुभएका ओलीले मन्त्री र सचिवहरूसँग संयुक्त छलफल गरिसक्नु भएको छ भने मन्त्रालयगत कामका बारे आफैँले तदारुकता देखाउनुभएको छ । आफ्नो सरकार बनाएसँगै सेयर बजारमा उछाल देखिएको दाबी प्रधानमन्त्री स्वयंले गर्नुभएको छ । सेयर बजारमा उत्साह भर्न प्रधानमन्त्रीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमै हस्तक्षेप गर्नुभयो । दीर्घकालिक नभए पनि मौद्रिक नीतिको जगमा अहिले सेयर बजार र निजी क्षेत्र उत्साहित देखिएका छन् ।
राजदूत नियुक्तिको सैद्धान्तिक पाटोमा बहस भए पनि प्रस्तावित राजदूतहरूबारे व्यक्तिगत रूपमा सवाल नउठ्नुमा प्रधानमन्त्रीकै चासोले काम गरेको जानकारहरू बताउँछन् । विगतमा घण्टौँसम्म औपचारिक कार्यक्रम र वक्तव्यबाजीमा रमाउने आरोप चिर्दै प्रधानमन्त्रीले यसपटक आफूलाई चुस्त बनाउने प्रयास गर्नुभएको छ । बालुवाटारमा पार्टी बैठक नराख्ने भन्दै ओलीले हालै एमाले बैठक बालुवाटारबाहिर नै सम्पन्न गर्नुभयो ।
सरकारले परिणाम दिनेगरी काम गर्न खोजेको देखिन्छ : विश्लेषक तिवारी
राजनीतिक विश्लेषक शंकर तिवारी अघिल्ला कार्यकालमा भन्दा यसपटक प्रधानमन्त्री ‘सिरियस’ देखिनुभएको बताउनुहुन्छ । यसपटक दुई वर्षका लागि मात्रै प्रधानमन्त्री भएको स्वघोषणा गरिसकेकाले दुई वर्षभित्रै मानक कामहरू गर्ने र आफ्नो छवि बदल्ने प्रयत्न प्रधानमन्त्रीले गर्नुभएको उहाँको भनाइ छ ।
‘प्रधानमन्त्री पहिलेभन्दा बदलिनुभएको छ । उहाँ संयमित देखिनुभएको छ । परिणाम दिनेगरी काम गर्न खोजेको देखिन्छ । प्रधानमन्त्रीका रूपमा उहाँको सु्रुआत ठीक छ तर मूल्यांकन गर्न अझै केही समय कुर्नुपर्छ’, तिवारीले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँले प्रधानमन्त्रीले सत्ता सहयात्री दललाई विश्वासमा लिन खोज्नु पनि सकरात्मक भएको बताउनुभयो । ‘राज्यमन्त्री दुई कांग्रेस र एक नागरिक उन्मुक्तिलाई दिनुभयो । यसले पनि सत्ता गठबन्धनको विश्वास हासिल गर्न उहाँले प्रयास गरेको देखिन्छ’, तिवारीको भनाइ छ ।
सरकारले भाषणभन्दा कामलाई प्राथमिकतामा राख्नुपर्छ : शर्मा
प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता र स्टण्टबाजीको लागि कुनै पनि काम नगर्ने घोषणा गरे पनि सत्तापक्षकै कतिपय नेताहरूले भने आशंका व्यक्त गरेका छन् । सरकारको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई भन्दा कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री शर्माले भन्नुभयो, ‘अहिलेको प्रधानमन्त्री केपी ओली र मन्त्रीहरूले बोल्ने कुरालाई दोस्रो प्राथमिकतामा र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यो सरकारसँग नागरिकहरूको धेरै अपेक्षा छ, त्यो सम्बोधन गर्नुपर्छ ।’ नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचारका मुद्दाहरूमा अनुहार नहेरी छानविन र कारबाही गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भन्नुभयो, ‘गिरीबन्धुमा कांग्रेसले ७० बिघा जग्गा बेचेर खायो भन्ने आरोप लगाइएको थियो । मैले संसद्मै उभिएर भनेको थिएँ–को व्यक्तिले खायो ? प्रधानमन्त्रीज्यू खोलिदिनुस् फाइल, हालिदिनुस् ती कांग्रेसलाई जेल ।’
मन्त्रीहरू खादा मालामै व्यस्त
तीन साता बितिसक्दा कुनै पनि मन्त्रीले न ठोस कार्ययोजना सार्वजनिक गरेका छन् न कुनै काम । मन्त्रालयमा लाइन लगाएर खादामाला, उपहार र बधाई लिनमै मन्त्रीहरू व्यस्त देखिन्छन् । एकाध मन्त्री बाहेकले मन्त्रालयको नियमित काम चासोसाथ सुरुसमेत गर्न भ्याएका छैनन् । पार्टी, जिल्ला र क्षेत्रका बधाई र कार्यक्रममा मन्त्रीहरू व्यस्त हुन थालेको देखिन्छ ।
उपप्रधान एवं शहरीविकास मन्त्री प्रकाशमान सिंहले पहिलो साता नै तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएपछि सामाजिक सञ्जालमा आलोचना खेप्नुपर्याे । निर्माणाधीन संसद् भवन छिटो सक्न निर्देशन दिने र मन्त्रालयमा आएका राजदूत भेट्नेमै सिंहको दैनिकी केन्द्रित छ । त्यसबाहेक बिहान बेलुका चाक्सीबारी र दिउँसो मन्त्रालयमा बधाई लिनेदिनेको कमी छैन ।
अर्का उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल केही समय मौद्रिक नीतिलाई सरकारअनुकूल बनाउन केन्द्रित हुनुभयो । निजी क्षेत्रका ज्ञापनपत्र बुझ्ने र कार्यक्रममा जानेबाहेक ठोस योजना उहाँले सार्वजनिक गर्न भ्याउनुभएको छैन । अन्य मन्त्रीहरूको स्थिति पनि उस्तै छ । ‘मन्त्रीलाई बधाई लिँदै ठिक्क छ । कतिपय मन्त्रीले राम्रोसँग ब्रिफिङ लिन पनि भ्याउनुभएको छैन’, सिंहदरबारका एक उच्चपदस्थ कर्मचारीको भनाइ छ ।
विश्लेषक शंकर तिवारी अधिकांश मन्त्रीहरू नयाँ भएकाले सुरुआतमा केही अलमल देखिएको स्वीकार्नुहुन्छ । ‘मन्त्रीहरू नयाँ भएकाले फर्ममा आउन केही समय लाग्छ । यो तीन हप्ता चैँ कुनै पनि मन्त्रीले सम्भावना प्रस्तुत गर्न सक्नुभएन । मन्त्रीहरू अलमिलएको कुरा सत्य हो’, तिवारीले भन्नुभयो ।
हालै मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री ओलीले आफूले हरेक मन्त्रीको कामको रेकर्ड राख्ने बताउनुभएको थियो । हरेक मन्त्रीलाई एक महिनाभित्र कम्तीमा एउटा प्रभावकारी काम गर्न निर्देशनसमेत दिनुभयो । मन्त्रीहरू भने अनूभूति हुनेगरी काम देखाउन सकिरहेका छैनन् । यद्यपि, उनीहरू यस्तो आरोप स्वीकार्न भने तयार छैनन् । ‘मन्त्रीहरू अलमलिए भन्ने कुरा गलत छ । मन्त्रीले जादु देखाउने होइन । व्यवस्थित काम गर्ने हो, गरिरहेका छौँ । त्यसको असर देखिन केही समय लाग्छ’, एक मन्त्रीले हिमालय टाइम्ससँग भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच