परराष्ट्रमन्त्री डा.आरजु राणा छिमेकी मित्र राष्ट्र भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ । उहाँले भारतीय समकक्षी एस.जयशंकरसँग मात्रै होइन प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत गरेको संवादका आधारमा दुई देशबीचको परस्परागत सम्बन्ध थप सुदृढ भएको विश्वास प्रकट गर्नुभएको छ । यो विश्वासका आफ्नै आधारहरू होलान् र नै डा.राणाले दृढतापूर्वक प्रकट गर्नुभएको होला । पहिलोपटक मन्त्रीका रूपमा त्यो पनि अत्यन्त संवेदनशील मन्त्रालयको जिम्मेदारी लिएकी डा.राणामा समकक्षीसँग वा सरकार प्रमुखसँगको भेटमा जुन आत्मविश्वास र सहजपन देखियो त्यसले पनि उहाँको विश्वास निरर्थक होइन भन्ने स्पष्ट हुन्छ । भारतीय सञ्चारमाध्यम र नेपाली सञ्चारमाध्यमहरूमा सम्वाद, समय र भेटका समयमा देखिएका तस्वीरमा निसंकोच, आत्मविश्वास भरिएको लाग्ने डा.राणाको प्रस्तुति निश्चय पनि प्रशंसनीय छ ।
त्यस समय कुनै पनि अर्थमा डा.राणा नयाँ मन्त्रीजस्तो देखिनु भएको थिएन । सम्भवतः करिब तीस वर्षदेखि निरन्तर शासकीय शीर्षासनको हिस्सा भएर बसेको अनुभवको परिणाम हुनसक्छ यो । तीन दशक भनेको सामान्य समय होइन, असामान्य हो एक मानिसको जीवनका लागि । उहाँले गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री हुनुभएको आफ्ना पति शेरबहादुर देउवाको सहयोगी भएर प्रशस्त राजकीय अनुभव प्राप्त गर्नुभएको छ । राणा खानदान वा राणा परिवारको जन्मले शैक्षिकबाहेक उहाँको राजनीतिक योग्यता र अनुभव बनेको होइन भन्ने तथ्य सबैलाई थाहा छ । राजनीतिक रूपको योग्यता देउवासँगको धर्मपत्नी भएरमात्रै हासिल गर्नु भएकोमा सन्देह छैन । शासकीय अनुभवले खारिएकी हुनाले सायद नेपालको हितका सन्दर्भमा डा.राणाले विश्वासपूर्वक विचार राख्नुभयो होला भन्नेमा हामी शंका गर्दैनौं । यसै पनि भारतीय नेतृत्वसँग हाम्रो पक्ष दृढतापूर्वक प्रस्तुत गर्नु प्रमुख विषय हो ।
विगतमा स्पष्टसँग विषय प्रस्तुत गर्ने महनीय बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरूको नाम लिने गरिन्छ । पञ्चायतकालमा राजाहरू कुन रूपमा प्रस्तुत हुन्थे अब इतिहासको विषय भएको छ । अन्य केही अपवादलाई छाडेर नेपालका अरू परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीहरूले विचार प्रस्तुत गर्दा देशको हितसँग आफ्नोसमेत हित सुरक्षित हुने वा नहुने चिन्ता गर्ने गरेको धेरैको मत छ । छिमेकी त्यो पनि पानी ढलो र सर्वाधिक सहजीकरणदेखि समस्यासँग जुध्नुपर्ने भारत र अडेसजस्तो लाग्ने अर्को छिमेकी चीनसँगको सम्वाद वा व्यवहार गर्दा पहिलोमा आफ्नो देशको स्वार्थ र जनताको स्वार्थलाई केन्द्रमा राख्नै पर्ने हुन्छ । निजी स्वार्थहरूको प्रतिबिम्बन भयो वा सम्वादमा त्यो कमजोर पाटो देखियो भने नेपालजस्तो देश सदा अपमानित हुनुपर्ने हुन्छ र नेपाली जनताले शीर ठाडो गराउने अवसर पाउँदैनन् ।
डा.राणा नेपाली कांग्रेस र एमालेसहितको गठबन्धनको सरकारमा रहेको हुनाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विचार पनि महत्वपूर्ण हुनसक्छन् । प्रधानमन्त्री ओलीले पठाउनु भएको भ्रमण निमन्त्रणा पत्र प्रदान गर्ने क्रममा भारतीय प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीको विचार र नेपालको अवस्थाबारे पक्कै पनि छलफल भयो होला । संयोग नै भन्नुपर्छ नेपालकी परराष्ट्रमन्त्रीसँगको भेटलगत्तै भारतीय प्रधानमन्त्री मोदी पोलैण्ड र युद्धविभीषीकाको डरलाग्दो आगोमा जलिरहेको देश युक्रेनको भ्रमणमा निस्कनु भएको छ । पहिलो दिन पोल्याण्डमा भारतीय समुदायलाई सम्बोधन गर्ने क्रममा मोदीले प्रस्तुत गर्नुभएको एउटा विचार महत्वपूर्ण छ । उहाँले मन्तव्यका क्रममा भन्नुभएको छ : सम्बन्ध समदूरीका आधारमा होइन समनिकटताका आधारमा हुनुपर्छ । यसको कूटनीतक अर्थको विवेचना हुँदै जानेछ ।
तर उहाँले परम्परागत समदूरीको सिद्धान्त वा भूगोलको सन्निकटतालाई महत्वहीन देख्नु भएको लाग्छ । समदूरी होइन समनिकटताको सिद्धान्त अपरिहार्य छ र भारत त्यही समनिकटताको पक्षमा रहेको छ । मोदीको यो भनाइ हामीजस्ता साना छिमेकी देशका लागि मात्रै नभएर बाँकी देशहरूसँग समेत परिलक्ष्यित छ भन्ने स्पष्ट छ । नेपालमा समदूरीको सिद्धान्तमाथि व्यापक विमर्श हुनेगरेको छ । समदूरी भनेको भौगोलिक निकटता, वैचारिक निकटता, व्यावसायिक निकटता वा सहयोगसँग जता पनि समान तहको सम्बन्धअन्तर्गतको व्यवहार हो । तर सन्निकटता भन्नासाथ फरक हुन्छ । सन्निकटताले अवसर र उपयोग पनि जनाउने गर्दछ । मोदीको यो व्यख्या बारे नेपालका परराष्ट्रविद्हरू, कूटनीतिकहरू, कूटनीतका विशेषज्ञहरूले निश्चय अर्थ खोज्नु हुनेछ । विगत पाँच वर्षयता दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका हुँदै भरखरै बंगलादेशको उथलपुथल, यसमा रणनीति र कूटनीतिको असफलताले घेरिएको भारतको विचार सन्निकटताको खोजिमा लाग्नु विचारणीय हुन्छ ।
डा.आरजु राणा मन्त्री हुनुअघि, मन्त्री भएपछि र भारतको भ्रमणमा जानु भएपछि हरेक समय अनेक विवादको विषय बन्नुभएको छ । शंकाको पोखरीमा सदा पौडी खेल्नेहरू, राजनीतिक दाउमा असफल सिद्धहरू, परिवर्तनप्रति सदा नकारात्मक हुनेहरू सबै नै डा.आरजुविरुद्ध कुनै न कुनै रूपमा सक्रिय अभिव्यक्ति दिइरहेको देखिन्छ । डा.आरजुका विषयमा अनेक प्रश्न गर्न नसकिने होइन । ती प्रश्न प्रमाणित हुन् वा नहुन् फरक हो । तर यतिखेर नेपाल-भारत सम्बन्धलाई सुमधुर बनाउन आत्मविश्वास भएको नेतृत्व आवश्यक छ । विसं २०७२ सालमा संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालाले देखाउनु भएको अडान र त्यसको निरन्तरता दिनुभएका केपी ओली पुनः प्रधानमन्त्री भएको समयमा भारतसँगको सम्बन्धले निश्चय बढी महत्व राख्दछ । यतिखेर नेपालका दुईटा अन्तर्राष्ट्रिय विमानस्थल कर्महीन भएको अवस्था छ, कमसेकम तिनलाई कर्मशील बनाउन भारतको समर्थन अनिवार्य छ । विगतमा सदा राष्ट्रवादी राजनीतिक खेलको जञ्जीरमा कैद भएर रहेको पानी, बिजुलीको सही उपयोग, विद्युत उत्पादन र व्यवसायीकरणमा भारतको सकारात्मक सहयोग आवश्यक छ । प्रत्येक वर्ष हुने व्यपार असन्तुलन घटाउन, भारतीय विषादी तरकारीलाई परीक्षण गर्ने र मात्र आयात हुन दिने, नेपाली सामानहरूमा भन्सार करमा सहुलियत आदि अनेक विषय छन् जो सहजरूपमा समाधेय छन् । सीमा विवाद गम्भीर छ । यो विवाद कुनै एक समयमा एक सरकारले मात्रै समाधान गर्न कठीन होला । तर पनि नेपालले आफ्नो भूमिलाई ऐतिहासिक तथ्यहरूका आधारमा आफ्नो सार्वभौमिक अखण्डताभित्र सुरक्षित बनाउने प्रयास छाड्नु हुँदैन । यो विषय सडकमा हल्लाभन्दा पनि डबल डी अर्थात् डिप्लोमेसी र डायलगबाट नै समाधान गर्नुुपर्ने हुन्छ । अहिले हामी आसा गरौं डा.आरजु राणाले परराष्ट्रको नेतृत्व गर्दै गर्दा र ओली प्रधानमन्त्रीका रूपमा सबल सरकारको नेतृत्व गर्दै गर्दा डबल डीको प्रयोग सशक्त हुनेछ र भारतीय प्रधानमन्त्री मोदीले भन्नुभएजस्तो नेपालले पनि समदूरीको होइन सन्निकटताको अनुभव गर्न पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच