काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पारा खेलकुदलाई व्यावसायिक बनाएमात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवद्र्धनको जन्म हुने सम्भावना रहेको बताउनुभयो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा घिसिङले पलेशाको यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूलो सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने उहाँको विश्वास छ । भौगोलिक र आर्थिक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताउनुभयो ।
पारालम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको सदस्य-सचिव घिसिङको विश्वास छ । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उहाँको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि उहाँलाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको उहाँले स्मरण गर्नुभयो । तयारीअनुरूप पलेशा र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि विशेष धन्यवाद दिनुभयो । राखेप सदस्य-सचिव घिसिङले यो सफलतामा सिंगो देशले नै खुसीयाली मनाएको बताउनुभयो ।
सदस्य-सचिव घिसिङले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक रूपमा अगाडि बढाउन सरकारले योजना कार्यान्वयनमा ल्याएको पनि बताउनुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमार्फत् नवौँ राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको बताउनुभयो । यद्यपि यो पर्याप्त नरहेको उहाँको भनाइ छ ।
सदस्य-सचिव घिसिङले खेलअगाडि नै राज्यले दिने पुरस्कारबारे खेलाडीलाई प्रत्याभूति गराउन सके उनीहरूको प्रदर्शन उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सोहीअनुरूप नै आफू राखेपमा नियुक्ति भएपछि देशका लागि पदक जित्ने खेलाडीले कानुनी रूपमै पुरस्कार पाउने वातावरण सिर्जना गर्न खेलकुद विकास नियमावली बनाइएको उहाँको भनाइ छ । त्यसअनुरूप पलेशाले पारालिम्पिकमा पदक जितेपछि ६५ लाख रुपैयाँ पाउने र उक्त पुरस्कारमा काटिने कर छुटका लागि राखेपको कार्यकारी समितिबाट प्रस्ताव अगाडि बढाउने उल्लेख गर्नुभयो ।
सन् २०२६ को २०औँ एसियाली खेलकुदका लागि अहिले नै राखेपले तयारी गरिसकेको उहाँको भनाइ छ । उहाँले राखेप खेलकुदमा परिणाममुखी बनाउन खेलाडी आवास पनि आवश्यक रहेको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच