असुरक्षित गर्भपतनले लिँदैछ ज्यान !

एक्टोपिक प्रेग्नेन्सीको कारुणिक कहर

काठमाडौं । हिजो बेलुका ६ बजे काठमाडौंकी एक तीस वर्षकी महिला महिनावारी रोकिएको र तल्लो पेट अत्यधिक दुखिरहेको भनेर श्रीमानले अस्पताल ल्याएर आए । बिरामीको जाँच गर्दा योनिबाट रक्तस्राव भैइरहेको पेट फुलेको, शरिरमा रगतको कमी देखियो र सकमा (SHOCK) रहेको देखियो ।

बिरामी बोल्न सक्ने अवस्थामा थिइनन्, बेहोस जस्तै ! उपचार तत्काल सुरु भयो । अत्यावश्यक जाँच तुरुन्तै गर्नुपर्छ भन्दा न त पैसा छ, न स्वास्थ्य बीमा !

अस्पतालको इमर्जेन्सीबाट तत्काल आवश्यक मिल्न सक्ने जाँच पठाएर बिरामीका श्रीमानलाई हालको अवस्था र जोखिमहरु बुझायौं ।

श्रीमानले सबै नालीबेली बताए -"घरमा बच्चा छ, पिसाब जाँच गर्दा गर्भवती देखायो अनिश्चित गर्भ फाल्न नजिकैको पसल (फार्मेसी) बाट औषधि लिएर खाएको ३ दिन भयो रगत बगिरहेको छ, रगत रोक्नलाई पनि औषधि खाएको ठिक भएन । घर छेउको प्राइभेट अस्पतालमा उपचार र अप्रेसनको एक देखि डेढ लाख लाग्छ भन्यो ।"

संसारमा नेपालमात्र एउटा यस्तो देश होला जहाँ जुन सुकै औषधि सजिलै किन्न मिल्छ, मानौं पसलको चक्लेट किने जसरी । बिरामीलाई "Ruptured Ectopic Pregnancy"

(पाठेघरभन्दा बाहिरको नलिमा बसेको गर्भ फुटेको) अवस्था रहेको र तत्काल अप्रेसन गर्नुपर्ने देखियो । उपचारको सम्पूर्ण पैसा पनि अस्पतालकै सामाजिक सेवा इकाइबाट छुट गराएर उपचार सुरु भयो।

साझ ७ बजे तिर फुटेको नलि फाल्ने अप्रेसन सम्पन्न भयो । बिरामीलाई थप ६ पोका रगत चढाउन पर्‍याे । अप्रेशन सफल भयो, बिरामीको ज्यान जोगियो । करिब एक घन्टा भित्रै बिरामीको उपचार सकेर बिरामीलाई निगरानीमा राखियो ।

बिरामीले दाहिने नलि (Fallopian tube) घुमाउन पर्यो ! त्यो भन्दा ठूलो बिरामीको ज्यान जोगियो, श्रीमानले श्रीमति गुमाउनु परेन, घरको निर्दोष बच्चाले आमा गुमाउनु परेन ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीका उपचारमा सङ्लग्न टिम प्रति बिरामी र आफन्तले बिरामी बचाइदिनु भएकोमा खुसी साटे । बेहोस अवस्था कि श्रीमतिले पैसा छैन भन्दै रुदै गरेका श्रीमानको जिवनमा परेको यति ठुलो चोटमा मल्हम लगाइदिनु हुने डाक्टर साबको टिम र अस्पताल प्रति मनै देखि धन्यवाद ब्यक्त गरिन् ।

बिहानिको तीन बजे फेरि अर्कि बुडि आमाले आफ्नो छोरी अचेत अवस्थामा ल्याउनु भयो उनलाई पनि ruptured ectopic pregnancy अप्रेसनको तयारी गरी रगत जाच र रगत जम्मा गर्न अनुरोध गरियो, कुरा फेरि तेहि "बाबू साथमा आफन्त र पैसा छैन सुन राखी उपचार गराउन मिल्छ ?"आमाको सो बोली सुनेपछी केहि स्वस्थ्यकर्मी बिरामीलाई अप्प्रेसन कोठामा लियेर गए । कोहि वृद्ध आमा लाई बस्ने ठाँउमा राखी B नेगेटिभ रगतको जोहो गर्न लागे, खर्च सामाजिक कोष बाट । अप्रेसन सफल आमा र छोरीको मुखमा मुस्कान ।

यो र यस्तै घटनाले ३-४ वटा सवाल गर्न आवश्यक ठानेँ ।

पहिलो:

च्याउसरि उम्रेका औसधि पसललाई त आम्दानी होला, बिरामीको भने सत्यानाश हुन्छ । पसलबाट मनलाग्दी औसधि किन्दै खाने नगर्नुहोला। औसधि पसल संचालकले पनि अवस्था हेरेर मात्र औसधि दिनुपर्छ, ब्यापारको नाममा मानवीय धर्म बिर्सनु हुदैन । कयौं मान्छेलाई थाहा छैन, तपाइँहरुले डाक्टरलाई देखाउनु पर्छ मात्र भनिदिए पनि ठुलो धर्म हुन्छ, यस्ता दुर्घटना न्यूनीकरण गर्न तपाइँ हामी सबैको साथ अनिवार्य छ।

देशमा औसधि ब्यवस्था विभाग छ । जथाभावी गर्ने माथि निगरानी बढाउनपर्छ। काठमाडौंमै यस्ता घटना कयौं देखिन्छन्, राजधानी बाहिरको अवस्था झन बिकराल छ।

दोस्रो:

गर्भ रोक्न कयौं साधन छन् । स्वास्थ्य संस्थामा तपाईं हामीलाई उपयुक्त साधन बारे सम्पुर्ण जानकारी दिइन्छ । उपयुुक्त साधनको प्रयोग गरौं।

अनिच्छित गर्भ भए डाक्टरलाई नदेखाइ कुनै पनि औसधि प्रयोग नगर्नुहोला । सरकारले गर्भपतन सेवा धेरै जसो अस्पतालमा उपलब्ध गराएको र उल्टै पैसा पनि दिने गरेको छ । गर्भपतन सेवा धेरै विकास भैसकेको भएपनि हामी आम नागरिक आफै सजग छैनौं, हाम्रा पनि कयौं कमी कमजोरी छन् ।

तेस्रो:

सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । कसलाई कहिले के पर्छ थाहा हुदैन । ३५०० मै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन । वडा-पालिकामा बुझेर सबैले स्वास्थ्य बीमा गरौं । हाम्रा सरकारी अस्पताल अब्बल छन् । सबैले बिश्वास गरौं । संसारकै सस्तो दरमा सेवा उपलब्ध हुनु हामी सबैका लागि अवसर हो ।

अन्तिममा

सामान्यरुपमा भ्रुण पाठेघरमा स्थापना हुनुपर्छ ! त्योबाहेक पाठेघरको नली (ट्यूब), डिम्बासय, पेटमा गएर भ्रुण बस्यो भने त्यसलाई "एक्टोपिक प्रेग्नेन्सी" भनिन्छ।

योनि, पाठेघर र नलिको बारम्बार संक्रमण हुने महिलामा पाठेघर बाहिर बच्चा बस्ने चान्स बढी हुन्छ । महिलामा पेट दुख्ने धेरै कारणहरु छन् त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ । बेलैमा उपचार नभए एक्टोइपिक गर्भ फुटेर रगत बगि महिलाको ज्यानसमेत जाने ठूलो खतरा हुन्छ।

डा. दर्शनराज पाण्डे
मेडिकल अधिकृत
कालिकोट जिल्ला अस्पताल
हाल: परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?