ढोरपाटनमा सिकार खेल्न टेण्डर खुला

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । यस वर्षको पहिलो सिकार यामका लागि ढोरपाटन सिकार आरक्षले टेण्डर खुलाएको छ । आगामी असोजदेखि हुने सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार खेल्न चाहने सिकारीका लागि टेण्डर खुलाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिजनका लागि १२ वटा नाउर, ८ वटा झारल र ११ वटा बँदेल सिकार गर्न टेण्डर खुलाइएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङका प्रमुख वीरेन्द्र प्रसाद कँडेलले जानकारी दिनुभयो । टेण्डरको म्याद १५ दिनको हुने र सबै प्रक्रिया पूरा भएपछि अर्को महिनादेखि सिकार सुरु हुने उहाँको भनाइ छ ।

धेरै महङ्गो र साहसिक हुने हुँदा धेरै जसो विदेशी सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकहरुमा आएर सिकार खेल्ने उहाँ बताउनुहुन्छ । टेण्डर प्राप्त गर्ने संस्थाले नेपाली तथा विदेशी सिकारी ढोरपाटन लैजाने प्रमुख कँडेलको भनाइ छ । ढोरपाटनमा प्रत्येक वर्ष पहिलो सिजन असोज-मंसिर र दोस्रो सिजन फागुन-वैशाखमा सिकार याम सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सिकार आरक्षबाट चार करोड ४८ लाख १५ हजार राजश्व संकलन भएको थियो ।

बागलुङ, पूर्वी रुकुम र म्याग्दी गरि तीन जिल्ला फैलिएको सिकार आरक्षलाई सिकार खेल्नका लागि सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ७ ब्लकमा विभाजन गरिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् भने नाउर, झारल, थार र हिमाली भालु पाइन्छन् । यहाँ दुर्लभ एवं संरक्षित पंछीको सूचीमा परेका डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरू पाइने सिकार आरक्ष कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?