
काठमाडौं । हरितालिका तीजका अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै आज(शुक्रबार) ‘तीज स्पेसल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ । र्यापिड चेसको एकदिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूका अनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालकी पहिलो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताकी विजेता उहाँ नेपाल बुद्धिचाल महासंघकी उपमहासचिव तथा विश्व बुद्धिचाल महासंघको महिला आयोगकी सदस्य पनि हुनुहुन्छ ।
‘महिलाहरूको पर्व तीजका अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्नुका साथै एकअर्कालाई साथ दिँदै महिला सशक्तीकरणमा थप ऊर्जा दिन सकौँ भनेर प्रतियोगिता आयोजना गरिएको हो,’ एकेडेमीकी संस्थापक खम्बू भन्नुहुन्छ, ‘स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा महिला खेलाडीमात्रै सहभागी हुन पाउनेछन् । आर्बिटरलगायत प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन् ।’
‘तीज स्पेसल टोर्नी २०२४’ मा प्रत्येक खेलाडीले हरेक खेलमा १० मिनेटसँगै प्रतिमुभ १० सेकेण्ड उपयोग गर्न पाउनेछन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडलसँगै आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।
२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेडेमीले प्रतियोगिता आयोजना गर्न लागेको यो तेस्रो अवसर हो । उसले यसअघि असार ८-९ गते एसइई कप र साउन ५ गते हिमालयन १०० (फिडेको १ सयौँ वार्षिकोत्सवका अवसरमा गिनिज वल्र्ड रेकर्ड्सका लागि) सफलतापूर्वक आयोजना गरेको थियो ।
एकेडेमीले प्रशिक्षण र प्रतियोगिता आयोजनासँगै व्यवस्थापन पनि गर्दै आएको छ । हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडी÷विद्यार्थीलाई नियमित प्रशिक्षण गराउँदै आएको एकेडेमीले चेसको अनलाइन ट्रेनिङ पनि सञ्चालन गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच