
सर्लाही । सर्लाहीको लालबन्दी थोक तरकारी बजारबाट एक महिनामा साढे १३ करोड रुपैयाँको तरकारी निकासी भएको छ । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार साउन महिनामा १३ करोड ५५ लाख ३७ हजार नौ सय ५० रुपैयाँको तरकारी देशका विभिन्न शहरमा निकासी भएको हो । लालबन्दी बजारमा लालबन्दीसहित छिमेकी हरिवन, ईश्वरपुर, चन्द्रनगर, हरिपुर, बागमतीलगायत पालिका तथा महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाका किसानले समेत तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।
मधेश प्रदेशकै सबैभन्दा ठूलो लालबन्दी तरकारी बजारमा प्रत्येक महिना किसानले १० करोडभन्दा बढीको तरकारी बेच्ने गरेका छन् । साउनमा अधिक वर्षाले तरकारी बालीमा क्षति पुर्याउँदा पनि किसान साढे १३ करोड रुपैयाँको तरकारी फलाएर बिक्री गर्न सफल भएका हुन् ।
साउनमा सबैभन्दा धेरै परवल चार करोड ७६ लाख ९० हजारको निकासी भएको छ भने बोडी दुुई करोड नौ लाख ९७ हजार बराबरको निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिको तथ्यांक छ । त्यस्तै भिन्डी एक करोड ६२ लाख ४१ हजार पाँच सय, झिंगनी एक करोड दुुई लाख ७८ हजार, लौका ८४ लाख १२ हजार नौ सय ५०, काँक्रो ५० लाख ९६ हजार दुई सय ५० र अन्य हरियो तरकारी पनि हजारौं रुपैयाँ बराबरको निकासी भएको छ ।
लालबन्दी बजारमा किसानले बिक्री गर्ने गरेको तरकारी मुख्यगरी संघीय राजधानी काठमाडौं तथा नारायणगढ, पोखरा, सिन्धुलीलगायत नजिकका विभिन्न बजारमा निकासी हुने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । भारतबाट आएका व्यापारीले समेत दैनिक ३५/४० वटा मोटरसाइकलमा तरकारी लगेर भारतीय सीमावर्ती बजारमा बेच्ने गरेका छन् । असार, साउनमा पानी धेरै परेर दक्षिणी भेगमा तरकारीमा धेरै नै क्षति पुर्याएपछि सीमावर्ती भेगका व्यापारी धेरै आएर यहाँको तरकारी दक्षिणी भेगमा लाग्ने हाटबजार र भारतीय बजारसम्म पुर्याएका बजार समितिका अध्यक्ष तोरनबहादुर मगरले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच