काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने विषयमा प्रतिनिधि सभालाई जानकारी गराउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघमा आफूले उठाउने विषयमा बैठकलाई जानकारी गराउनुभएको हो । नेपालले कुनै पनि हस्तक्षेप अस्वीकार गर्ने स्थापित नीतिलाई संयुक्त राष्ट्रसंघमा राख्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रहितको पक्षमा केन्द्रित भएर आफूले धारणा राख्ने संसद्लाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले महासभामा ‘फ्युचर समिट’ मा सम्बोधन गरी मानव जाति र धर्तीको सुरक्षा, हिमाल र समुद्रको इकोसिष्टमबारे नेपालको दृष्टिकोण प्रस्तुत गर्ने जानकारी दिनुभयो । अमेरिकामा रहँदा न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको शिर ढल्नेगरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेको बारेमा प्रतिनिधि सभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालको शिर ढल्नेगरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिनँ । हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो । आजका लागि हो । भोलिको लागि हो । संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रवृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन । क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो ।’
‘छुद्र, जाली छिमेक होइन, असल सम्बन्धको कुरा उठाउनेछु’
प्रधानमन्त्री ओलीले मुलुकले असल छिमेक सम्बन्ध कायम राख्न चाहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरूबाट असल सम्बन्ध चाहेको स्पष्ट पार्दै भन्नुभयो, ‘नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छुद्र, जाली छिमेकी होइन । छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ । र, त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’
उपसभामुखबारे प्रधानमन्त्री : ‘के विषय रहेछ भनेर सोध्न पनि नपाउने ?’
प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको टिप्पणी गर्नुभएको छ । कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उठ्दै नउठेका कुराहरूमा, प्रस्तावै नआएका कुरामा छलफल कसरी चलेको हो त्यो मैले बुझेको छैन । उठेका विषयमा कहीँ कसैले कुरा गरे रे भनेर के कुरा ग¥यौ, किन कुरा ग¥यौ भन्ने,ए बाबा कस्तो हो, संसद्मा कुरा उठ्छ, के रहेछ भनेर सोध्न पनि नपाउने ?’ उपसभामुखको कुरा उठ्दा जातियता र लिंगीय विभेदका कुरा उठाएर गालीगलौज गरिएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नुभयो ।
पाँचथर बम विस्फोटबारे माओवादीप्रति व्यंग्य
प्रधानमन्त्री ओलीले पाँचथरमा दुई बालबालिकाको मृत्यु बम विस्फोटबाट भएको भनेर भन्न मिल्ने हो कि होइन ? भन्दै आफू अप्ठेरोमा परेको भन्दै माओवादीतर्फ व्यंग्य गर्नुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘प्राकृतिक विपत्ति पनि होइन । पाँचथरमा दुईजना बालबालिकाको निधन भयो । अहिले त्यति भनौँ । कसरी निधन भयो भनेर पछि कुरा गरौँला । बम विस्फोटबाट भन्न मिल्ने को कि नमिल्ने हो । यहाँ त अन्यौल भइरहेको छ । तर, म विस्फोटबाट दुई बालबालिकाको निधन भएकोप्रति दुःख व्यक्त गर्दछु । उहाँको परिवारजनलाई सरकारले पाँच÷पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुईजना घाइतेको उपचारको जिम्मा सरकारले लिने त्यो पनि यस गरिमामय संसद्लाई जानकारी गराउन चाहन्छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच