✍️ कलानिधि दाहाल
भात पकाउँने बुढा आमाहरू घरमा । खेतबारीमा काम गर्ने लक्काजवानको जमात खेतबारीमा । छानिएका खप्पिस रूख चढ्न सक्ने जति घाँसदाउराका लागि वनमा । यस गाउँको र यस्तै प्रकृतिका अन्य गाउँका पनि कार्यिक दैनिकी खाका यिनै र यस्तै हुन् क्षेत्र र कार्यप्रविधिमात्र फरक । रामपुर, पराप्चा, चित्रे यिनकै मध्यभागको प्राकृतिक/मानसिक मनोसौन्दर्यको अनुपम परिधि/परिवेश हो म जन्मेको गाउँ अर्थात् बिगुटार वा बिगुटक्सार । यहाँका मानिसहरू ताते टुक्टुकाउँदैदेखि सङ्ला खोलाका स्वच्छ-पवित्र जलका कुल्कुल आवाजसँग टुक्टुकाउँछन् । नयनका ढकनी खुल्दै अग्ला पहाडमा राताम्य फुलेका गुराँससँग नानी खेल्दछन् ।
अलिकति चेतनाचास्नीमा मन भिज्नासाथ इन्द्रेणी मुछिएका जलतरङ्गका झर्नासँग विचार उचाल्छन् । भावना रङ्गाउँछन् । कल्पनात्मक उछालका उतुङ्ग शिखर आरोहित हुन्छन् । हरिया पाखाजस्तै दिलका पाखामा प्रेमका आली चिल्याएर प्रणयका वैधानिक निकटतामा लुकामारी खेल्छन् । समाजका बन्धनले वा कानुनका इन्धनले जतिसुकै दण्डित गर्न खोजे पनि यो अन्तरालमा सृष्टिको सुरुदेखि अझ भनौँ सृष्टि नै यसैबाट बग्दै आएकाले कतै कहिल्यै रोकिन्न यो प्रवाह । अहिले यौनप्रसङ्गहरू चेतनस्तरदेखि नै खुला भएकाले समस्या रहेन । त्यस बेला परिवेश पूर्णतः ढाकिएकाले यस्ता व्यवहारहरू अझ बढी तर लुकी चोरीमा मात्र हुन्थे, देख्दा समाजको चेहरा बडो शान्त वैधानिक जस्तो देखिन्थ्यो । यस दृश्यभित्र अझ बढी निषेधित कार्यहरू हुन्थे, हुन्छन् ।
यौनकुण्ठाका सिकारीहरू न सिर्जनामा सम्यक् गतिदिन सक्छन्, न मानवीय उच्च शिखर आरोहणमा सफलता हासिल गर्न सक्छन् । न बोलीमा नै मीठासको वासना छर्न सक्छन्, न व्यवहारमा व्यापकताका सम्भाव्य सम्भावनालाई जीवनको शैली बनाउन सक्छन् ।
छिमेकी बस्तीको माझ गोठाले बस्तीको गाउँ भएर पनि यो आदर्शको गाउँ थियो, आनुपातिक तरिकाले हेर्ने हो भने अहिले पनि छ । पराप्चाचित्रेहरू, राम्पुरढुस्केहरू, बुङ्नाम लामिडाँडाहरू समाजले तोकेका कथित प्रतिबन्धित कार्यसम्पादनमा निकै अगाडि छरपष्ट रूपले आउँथे, आउँछन् अहिले पनि । देखिने/दण्डित हुने वंशगत वर्णशङ्करका स्वरूपमा समेत । यी र यस्ता कार्यमा निकै कमम जन्मेको गाउँ तर नभएको चाहिँ पटक्कै होइन । भित्र पसेर हेर्ने हो भने हाम्रा पुर्खाहरू कोही पनि यी कृत्रिम नियमका घेरामा प्रतिबन्धित छैनन् । बरु हुने चाहिँ कलियुगका कार्टुन् हुन् भन्ने मेरो ठहर सच्चाइमा आधारित छ ।
जे होस् यो जीवनको अपरिहार्य आङ्गिक आवयविक कार्यमा सहभागी भएर सहजसिर्जनशीलताका मार्गावतरित हुनेहरू नै संसार विजयी योद्धा बनेका छन् । कुनै परम्परागत अँध्यारा आस्थाका सिरानी हालेर आदर्शका गायत्रीगायकहरू कहिल्यै कतै पनि अग्रिम सफलतामा पुग्न सक्दैनन् । यस बिन्दुविशेषमा ओशोको उदात्त अन्तरचेतनाको उध्र्वगामी यात्रासँग म निकटता राख्न चाहन्छु । यौनकुण्ठाका सिकारीहरू न सिर्जनामा सम्यक् गतिदिन सक्छन्, न मानवीय उच्च शिखर आरोहणमा सफलता हासिल गर्न सक्छन् । न बोलीमा नै मिठासको वासना छर्न सक्छन्, न व्यवहारमा व्यापकताका सम्भाव्य सम्भावनालाई जीवनको शैली बनाउन सक्छन् ।
अतिकाधार मेटेर इच्छित अन्तर यौन समागमका सहज, उदार र हाम्रो जस्तो अति सङ्कीर्ण समाजमा चाहिँ गोपनीय पनि त्यत्तिकै बन्दै जीवनरथ चलाउने व्यक्तिहरू नै सफल जीवनयात्राका यात्रीहरू हुन् । यस अतिरिक्तका मानिसहरू अत्यन्त एकाङ्गी हुन्छन् । धार्मिक उन्मादका एकाङ्गी, राजनीतिक उन्मादका एकाङ्गी, निःरस बोलीवचनका एकाङ्गी र आफ्नै एकोन्मादले सकिने खालका निकम्मा बन्न पुग्दछन् ।
यिनै मर्म बुुझेर अध्यात्म चेतका शिखरपुरुष, प्रजातन्त्रका हरिया पहाड, विश्वका जुनसुकै प्रश्नका उत्तर पनि समयसान्दर्भिक बनाएर ट्वाक्क ट्वाक्क दिन सक्ने सन्त महन्त कृष्णप्रसाद भट्टराईले आफू कुमार नभएर अविवाहितमात्र भएको भन्न पुगे । बिपी मुखले केही नबोले पनि यस मामलामा वा सबै क्षेत्रमा खुला पुस्तक व्यावहारिक रूपले नै देखिए । महात्मा गान्धी जस्ता गीतादर्शनका हिमायती, हर क्षेत्रमा अत्यन्त सम्यक दृष्टिका तपस्वी सिद्ध भएका व्यक्ति पनि यस सन्दर्भमा विचलित/उत्तेजित नभई रहन सकेनन् । तपस्वी विश्वामित्रको प्राप्त भइसकेको अन्तिम लक्ष्यको अवरोधक पनि मेनका बिम्बकामार्फत यही बन्न पुग्यो । अझ गम्भीर कुरा त बोधि प्राप्त गर्ने भनेर विश्व प्रचारित बुद्धमा देखा पर्दछ ।
यसको सहारा नलिउन्जेल बुद्धको बोधित्व उनको आसपास नै आएन । बुद्धको यो पाटो केही विदेशीले अवश्य बुझेका छन् तर नेपाली बख्खुधारक बुद्धिष्ट कतिले बुझेका होलान् ? मलाई लाग्छ-छँदै छैनन् । यिनले सोझो बुद्धको रेकर्डर बाटो बुझेका छन् पुख्र्यौली अन्ध टेपरेकर्डमा । यसैले त बालसुलभ भविष्यका होनहार चेलीहरू जसले जीवनको ऊर्जा दिएर सृष्टिको चक्र सुन्दर बनाउने काममा बलिया खम्बा बन्ने गर्दछन्, लहरलताका सौन्दर्य झुलाउँछन् तिनलाई त्यही अन्धविश्वासको अन्धभक्तिको परम्परागत भित्तामा आड लागेर गुम्बाका कालकोठरीमा थुन्छन् र माने हल्लाउन लगाउँछन् । छाउपडीको कालो मण्डी ओढाएर हिन्दुहरू चिसा सिँढीमा दुःखद् जीवनलीला समाप्त गराउँछन् र जनैको त्यान्द्रो जपेर भुर्भुवको अग्निकुण्डमा टपरे स्वाँठको आडम्बर उभिन्छन् ।
त्यस बेलाममा पनि यिनै काला मण्डीका बर्काहरू मनको शरीरले ओढेको थियो । चाहनाका अनेकौँ चेलीहरू बहिष्कारका सिकार भए । मन कुण्ठ्याएर भए पनि तिनीहरू आआफ्ना घरपरिवरमा, परिवारसँग रुन्चेहाँसो नै किन नहोस् देखाउँदै जीवन गुजारा गरिरहेका छन् । यसर्थ चाहेर पनि यहाँ नामोल्लेख गर्नुले उनीहरूमा आँच आउँछ । बिपीले बाबुआमा र छोरो उपन्यासमा पात्रहरूका सही नाम उच्चारण अहिले नगर्नु पार्टीमा ठूलो खल्बल मच्चिन्छ भनेझैँ ।
पातलमा प्रवेश गर्नेको सङ्ख्या धेरै भए पनि घाँसदाउरा खोज्ने क्रममा दुई भन्दा बढी आमुन्ने सामुन्ने होइँदैन । पुरुष साहसी भएकाले अझ एक्लै हुन खोज्छन् यस बेला छिटै भारी पुग्ने, आफूलेमात्र परिधिको जम्मै सोहोर्न पाइने भएकाले ।
एक दिन त यस्तो अपूर्व घटना भयो । म लैना गाईभैँसीको घाँस काट्न पाताल-थुम्कीपाताल नै जानुपर्ने भयो, नै यस अर्थमा म जर्रो मान्छे, निःरस गोठालो । सधैं खुला डाँडाका अग्ला रुखमा परसम्म पुगेर फैलिएका घोच्ने, तिखा काँडेदार खस्रु । यो अजीवको वनस्पति । म एक्लै वा अरू पनि बलिया गोठालाले दरो गरी भारी हालेर बोक्ने हो भने दश-बाह्रवटा डरलाग्दा भैँसीका पेट टम्म अघाउने । मतलव सिमलको रुवा जस्तै हलुको हुने । यही जात उही घाँस लट्टा परेको खस्रु छ भने बढीमा दुई भैँसीमात्र अघाउने घाँस बोकिने हुनाले धेरै पेटका लागि म काँढादार खस्रु नै ल्याउनेमा पर्थें ।
यो निरन्तरता त्यस दिन टुटेकाले घना पातालको सुनसान संसार जहाँ बाघभालुको भय, अन्य अपरिचित हिँस्रक वन्यजन्तुको भय, आक्कलझुक्कल मौका परेमा यिनीहरूले मान्छेलाई सिध्याउँथे पनि । मेरै समकक्षी साथी युवराज खतिवडालाई रुख भालुले मजाले मर्काएको पनि छ । धन्न उनी निकै ठूलो मिहिनेतपछि बाँच्न सफल भए । एक्लै परेका खण्डमा यिनका सिकार हुनु कुनै आश्चर्य त्यो पातालमा थिएन ।
ठाउँहरू अचम्मका हुन्छन् कतै कतै । कोशौँकोश जहाँ आँखाले कुनै सीमा ठम्याउन सक्दैन । मान्छेको बस्ती त कुरै छाडौँ चराका कलरवसमेत सुनिँदैनन् । एक बित्ता अगाडिको जमिन आँखले देखिँदैन । त्यस्तो आटव्य जङगल भएको त्यो दूर देश परदेश न्युजिल्याण्डमा, त्यहाँका ती घनाच्छादित काला अँध्यारा चौपट्ट सुनसान निस्तब्ध निराकार जङगलमा एक्लै हराए पनि ज्यान जोखिम नहुने बरु अझ मोटाएर घर फर्किन सकिने, मनको बाघले खाएमात्र नत्र वनको बाघले कहिल्यै नखाने ठाउँ पनि छन् यसै विश्वमा ।
घरदेशको यो पातलो पाताल चाहिँ यति बिघ्न भयप्रद । त्यो विशाल न्युजिल्याण्डको जङ्गल जो नेपालको दोब्बर भू-भागमा फैलिएको छ । पचास लाख हाराहारीको जनघनत्व भएका ठाउँमा तैपनि हिंस्रक जनावरको सङ्केतमात्र दिनेले भारी इनाम प्राप्त गर्न सक्छ । कसैले पाएको अहिलेसम्म जानकारी छैन कसैलाई । यसको माने हो हिँस्रक जीव नै नहुनु । अन्तर साहसले पुरुषहरू एक्लै पनि हिम्मत गर्छन् मेरो थुम्कीमा प्रवेश गर्न । नारी वा छोरीचेलीको मुटुले यो साहस जुटाउन नसक्ने हुँदा पुरुषको आड अनिवार्य हुन्छ उनीहरूलाई । यो स्वाभाविक पनि हो ।
जाँदा वा पातलमा प्रवेश गर्नेको सङ्ख्या धेरै भए पनि घाँसदाउरा खोज्ने क्रममा दुईभन्दा बढी आमुन्ने सामुन्ने होइँदैन । पुरुष साहसी भएकाले अझ एक्लै हुन खोज्छन् यसबेला छिटै भारी पुग्ने, आफूलेमात्र परिधिको जम्मै सोहोर्न पाइने भएकाले । म यसअन्तर्गत नपर्ने कुरा सबैमा विदित भएर नै कोही न कोही त सधैँ हुन्थे नै मसँग । यो प्रसङ्ग सम्झदा भेलभित्रको जेलमा नै मेरो आङ सिरिङ्ग हुन पुगेर आत्महत्याका अन्तरासँगै नजानिँदो विरोधाभास अचानक जन्मन पुग्छ । यो अचानकको तरङ्ग मानवजीवनलाई निकै महत्वपूर्ण नहुने होइन । अचानक आएका अचम्म तरङ्गका तालमा पौडिन पुग्दा एउटा आत्महत्याको सङ्घार पुगेको मान्छे हठात संसार फर्कन सक्छ । लक्षित बिन्दुमा पुगेको चोर साधुको भेष लगाउन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच