काठमाडौं । चौथोपटक मुलुकको बागडोर सम्हालिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग सुमधुर सम्बन्ध नरहेको राजनीतिक र कूटनीतिक वृत्तमा चर्चा हुँदै आएको छ । प्रधानमन्त्री नियुक्त भएको दुई महिना बढी बितिसक्दा पनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबारे अझै टुंगो लागेको छैन । यसकारणले पनि ओली र भारतको संस्थापन पक्षबीच सम्बन्ध राम्रो नभएको टिप्पणीलाई मलजल गरेको छ । किनकि यसअघि पहिलो र दोस्रो कार्यकालमा प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाटै गर्नुभएको थियो । भारतसँगको सम्बन्धबारे विभिन्न टीका टिप्पणी भइरहँदा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोप्ते प्यालेसमा भएको थियो । भेटवार्ताका अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिनुभएको छ ।
भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘मोदीजीले छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि बैैैठकका दौरानमा भएको छ ।’ बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुभएका प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको बताउनुभयो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो । बैठकपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले दुई मुलुकबीचको विश्वासको वातावरणलाई थप बलियो बनाउन द्विपक्षीय भेटवार्ताले थप सहयोग गरेको जानकारी दिनुभयो ।
मोदीको प्रतिक्रिया : ‘भारत-नेपाल मित्रता धेरै बलियो छ, अझ गति दिन चाहन्छौं’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भएको प्रतिक्रिया दिनुभएको छ । भारत-नेपाल मित्रता धेरै बलियो भएको र आफूहरूले सम्बन्धलाई अझ गति दिन चाहेको मोदीले उल्लेख गर्नुभएको छ । भेटमा ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा कुराकानी भएको उल्लेख गर्दै मोदीले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो । भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ ।’ ओलीसँगको फोटो राख्दै ट्वीट गर्नुभएका मोदीले लेख्नुभएको छ, ‘हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’ चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । भेटमा नेपाल र भारतका विदेशमन्त्री र अन्य अधिकारीसमेत सहभागी थिए ।
विश्वव्यापी वित्तीय प्रणालीले असमानताका मुद्दालाई सम्बोधन गर्न सकेन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानता जस्ता समकालीन मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९, बढ्दो द्वन्द्व र जलवायु परिवर्तनले दिगो विकासका लागि प्रगतिमा गम्भीर असर पारेको स्पष्ट पार्दै भन्नुभयो, ‘दशकौँ अघि डिजाइन गरिएको विश्वव्यापी वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानता जस्ता समकालीन मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन । अन्तर्राष्ट्रिय समर्थन उपायहरू या त स्थिर छन् वा घट्दै गइरहेका छन् । डिजिटल विभाजन बढ्दै गइरहेको छ र देशहरूले आफ्नो अर्थतन्त्रको रूपान्तरणका लागि डिजिटल प्रविधिको लाभ उठाउन कठिन कार्यको सामना गरिरहेका छन् ।’
विश्वको दृष्टिकोण, प्राथमिकता र कार्यमा के कस्ता कमजोरी भए भनेर आत्मसमीक्षा गर्ने बेला भएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘विकास आकांक्षा र बहुपक्षीय सहयोगलाई गहिरो बनाउने प्रयासहरूमा इच्छित परिणाम प्राप्त गर्न हाम्रो असफलताको कारणहरू आत्मसमीक्षा गर्दा हामी व्यावहारिक हुन आवश्यक छ ।’ अन्तरक्रियात्मक संवाद सत्रको सह-अध्यक्षता गर्नुभएका प्रधानमन्त्री ओलीले अहिले विश्व इतिहासको एउटा महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै भन्नुभयो, ‘विकासशील देशहरू, विशेष गरी कम विकसित देशहरू, ल्याण्डलक्ड विकासोन्मुख देशहरू र साना टापु विकासोन्मुख राज्यहरू जस्ता विशेष परिस्थिति भएका देशहरूले विद्यमान र उदाउँदो कमजोरता र जोखिम असमान रूपमा सामना गरिरहेका छन् ।’
सन् २०१५ मा नै प्राप्त गर्नुपर्ने एसडिजी गोलको जम्मा १७ प्रतिशत लक्ष्य मात्र हालसम्म ती मुलुकहरूले प्राप्त गर्नु निकै निराशाजनक अवस्था भएको ओलीले टिप्पणी छ । प्रधानमन्त्री ओलीले विकासोन्मुख देशहरूको निर्णय प्रक्रियामा बलियो आवाज र प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘यस सुधारले आइएफआईहरूलाई उनीहरूको विशिष्ट आवश्यकताहरूलाई राम्रोसँग समर्थन गर्न र विश्वव्यापी संकटहरूमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्षम बनाउनेछ । नेपालजस्ता अल्पविकसित देशसहित विकासोन्मुख देशहरूको अद्वितीय परिस्थितिअनुसार व्यापक ऋण राहत पहलहरू जरुरी छ ।’
भुटानका प्रधानमन्त्री तोग्बेसँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार बिहान भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र तोग्बेबीच राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको बताइएको छ । भेटमा द्विपक्षीय हितका विषय छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका उच्च अधिकारी सहभागी थिए । यसैबीच, प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ । प्रधानमन्त्रीद्वयबीच राष्ट्रसंघका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा छलफल भएको हो ।
मानव अधिकार उच्चायुक्तबीच भेट
प्रधानमन्त्री ओली र राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीलाई राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गर्नुभएको हो । भेटमा मानव अधिकार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
अब सँगै मिलेर काम गरौँ : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय सहकार्यको यात्रामा समिट अफ द फ्युचरले नयाँ अपेक्षाको बाटो तय गर्ने बताउनुभएको छ । ७९औँ महासभाको उच्चस्तरीय छलफल हुनु एक दिनअघि मात्र सुरु भएको बहुचर्चित ‘समिट अफ द फ्युचर’ कार्यक्रमको उद्घाटन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, ‘हामी यो पहिलो पाइला अघि बढाउँदै छौँ । म सबैलाई सदस्य मुलुकहरूलाई बधाई दिन चाहन्छु । अब सँगै काम गरौँ ।’
शान्ति मिसनमा प्राथमिकता दिन आग्रह
प्रधानमन्त्री ओलीले शान्ति मिसनमा नेपाललाई प्राथमिकता दिन राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागिता जनाउन न्युयोर्क जानुभएका प्रधानमन्त्री ओलीले गुटेरेससँगको भेटवार्तामा यस्तो आग्रह गर्नुभएको हो । भेटवार्तामा जलवायु परिवर्तन र संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको थियो । ओलीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारेमा उल्लेख गर्नुभएको थियो । उक्त अवसरमा महासचिव गुटेरेसले शान्ति मिसनमा नेपालले पु¥याएको योगदानलाई लिएर कदर गर्नुभएको थियो । महासचिव गुटेरेसले नेपालले कम विकसित मुलुकहरूको अध्यक्षका रूपमा निर्वाह गरेको भूमिकाको समेत प्रशंसा गर्नुभएको छ ।
सुरक्षाको कारण देखाउँदै ओलीलाई स्वागत गर्ने कार्यक्रम स्थगित
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदायले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्युयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्बिर अंकित ब्यानरसहित मञ्चसमेत तयार पारिसकिएको थियो । तर, सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको हो । नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्रसंघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’ महावाणिज्य दूतावासले यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट दुःख व्यक्तसमेत गरेको छ । न्युयोर्कमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी संघ संगठनहरूले कार्यक्रम स्थलमै विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचना पाएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ । उनीहरूले कार्यक्रममा सहभागी भएर कालो झण्डा देखाउन सामाजिक सन्जालमार्फत आहृवान गरेका थिए । त्यसपछि स्थानीय सुरक्षाकर्मीहरूले भिभिआइपीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कार्यक्रम स्थगित गर्न सुझाव दिएका थिए । सोही सुझावको आधारमा कार्यक्रम स्थगित गरिएको हो ।
ओली र मोदीको भेटवार्ताप्रति रावलले उठाए प्रश्न
नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओली नेतृत्वको सरकारमाथि प्रश्न उठाउनुभएको छ । प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको विषयमा पनि प्रश्न उठाउँदै रावलले भन्नुभयो, ‘अहिले हाम्रा प्रधानमन्त्रीले न्युयोर्कमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको सुन्यौँ । त्यसबेलामा सामान्य कुरा भयो होला समय पनि भएन । तर, हाम्रो देशको मुलभूत राष्ट्रिय हितको विषयमा, हाम्रा भौगोलिक अखण्डताको विषयमा त्यहाँ उठाएको भए त हामीले नेपालमा ताली बजाउँथ्यौँ धन्यवाद भनेर ।’ भारतीय नेतृत्वसँग कुरा गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्साको विषयमा कुरा नउठाएको रावलको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच