पेशाले गायक, कलाकार, पत्रकार, लेखक, साहित्यकार रहनुभएका रामप्रसाद खनाल हाल अमेरिकामा बस्नुहुन्छ । अमेरिकाको नेपाली समुदायमा हर क्षेत्रमा अग्रणी र उदाहरण बन्नुभएका उहाँ गायकी, कलाकारिता, पत्रकारिता, लेखन र साहित्य क्षेत्रमा मात्र होइन सफल व्यवसायीका रूपमा पनि उत्तिकै चिरपरिचित हुनुहुन्छ । अठार वर्षअघि अमेरिका पुग्नुभएका खनाल त्यहाँ पुग्नासाथ नेपालमा जस्तै नेपाली भाषा, साहित्य, संस्कृति, कला, गीत संगीत, आफ्नोपनका लागि सधैँ क्रियाशील हुनुहुन्छ । राजनीतिबाट अलग र स्वतन्त्र रहनुभएका उहाँ अमेरिकी राष्ट्रपतिद्वारा प्रदान गरिने प्रसिद्ध अमेरिकी पुरस्कार ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट पनि पुरस्कृत र सम्मानित भइसक्नुभएको छ । गीत संगीत, साहित्यदेखि विविध विषयका अठार पुस्तक लेखिसक्नुभएका उहाँका एक हजार २०० भन्दा बढी लोकगीत, दोहोरी गीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, कीर्तन, तीज गीतहरू पनि श्रोता/दर्शकमाझ आएका छन् । पन्ध्र सयभन्दा बढी कविता, गजल पनि लेखेको बताउनुुहुने उहाँका पछिल्लो समयसम्म सन्ताउन्नवटा गीति एल्बमहरू प्रकाशित छन् । विगत चार दशकदेखि नेपाली गीत संगीत, कला, साहित्य, संस्कृति र पत्रकारिताको क्षेत्रमा सक्रिय खनाल नेपालमा चार सयभन्दा बढी राष्ट्रिय, क्षेत्रीय पुरस्कार, सम्मान, अभिनन्दनबाट र नेपालबाहिर अमेरिकामा पनि दर्जनौँ पुरस्कार, सम्मान, अभिनन्दनबाट सम्मानित हुनुहुन्छ । अमेरिकाबाट दुईवटा अन्तर्राष्ट्रियस्तरका पुरस्कार पाइसक्नुभएका खनाल हरेक वर्ष नेपाल आउनुहुन्छ र गीत संगीतदेखि उहाँ कार्यरत क्षेत्रमा तरंग ल्याएर अमेरिका फर्किनुहुन्छ । नेपाल र नेपालीहरूप्रति अगाध आस्था राख्ने खनाल दर्जनौँ राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थामा आबद्ध हुनुहुन्छ । रेडियो नेपाल, बिबिसी, नेपाल टेलिभिजनदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाहरूमा काम गरिसक्नुभएका उहाँ हाल नेपाल मदर डटकम डिजिटल पत्रिकाका प्रधानसम्पादक र एभिन्युज टेलिभिजनका अमेरिका सम्पादकका रूपमा पनि सक्रिय रहँदै आउनुभएको छ । अठार वर्ष विदेश बस्दा मान्छे गुमनाम हुन्छ तर रामप्रसाद खनाल झन् बढी सबैमाझ लोकप्रिय हुनुहुन्छ र चर्चामा रहिरहन सफल हुनुहुन्छ । हालै नेपाल आएको समयमा रामप्रसाद खनालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
म पहिला जस्तै अहिले पनि गीत लेख्छु, संगीत गर्छु, गीत गाउँछु । कलाकारिता, पत्रकारिता, लेखन र साहित्य क्षेत्रमा पनि काम गर्छु र अमेरिकामा व्यापार व्यवसाय पनि गर्दै आइरहेको छु ।
यहाँ लोकदोहोरी गीत संगीतको विकास र प्रवद्र्धनका एक अभियन्ता, अग्रज पनि हुनुहुन्छ साथै अग्रज लोक तथा दोहोरी गायक पनि, वर्तमान नेपाली लोकदोहोरी गीत संगीतलाई कसरी हेरिरहनुभएको छ ?
लोकदोहोरी गीत संगीत हाम्रो आफ्नोपन हो, कला संस्कृति, मनोरञ्जनको मूल पाटो पनि हो । जन-जनको बोली र धड्कन नै भन्दा पनि हुन्छ । यसलाई नेपाल र नेपाली समाजबाट कहिल्यै अलग पार्न वा गर्न सकिँदैन । यसको विकास हुँदै गइरहेको छ र मोडल पनि अलिकति परिवर्तन हुँदै गइरहेको छ तर विकाससँगै विकृतिहरू पनि हावी भइरहेका गुनासा आउन थालेका पनि छन् । यसलाई हामीले गम्भीररूपमा लिँदै आफ्नोपन, मौलिकता, अनुशासन, मर्यादा, सीमालाई ख्याल गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता देखेको छु मैले । त्यसका लागि हामी कलाकारदेखि दर्शक÷श्रोतासम्म सबैले ध्यान पुर्याउनुपर्ने आवश्यकता देख्छु म ।
यो वर्ष यहाँले तीजको मुखमै नेपाल आएर मौलिक तीज गीतहरू गाएर तीजको माहोल नै अर्कै बनाइदिनुभयो । विभिन्न टेलिभिजन, रेडियोलगायतका मिडियाहरूबाट खबरदारी गरेर विकृति विसंगतिलाई धावा बोल्नुभयो र त्यसको राम्रो प्रभाव पर्यो भन्ने सुनियो जनमानसबाट । यसबारेमा यहाँ आफैं के भन्नुहुन्छ ?
म हरेक वर्ष अमेरिकाबाट नेपाल आउने-जाने गरेको भए तापनि तीजकै मौकामा आउने अवसर यो वर्ष मिल्यो । मैले आफैं यहाँ आएर पाँचवटा मौलिक तीज गीत र लोकगीत रेकर्ड गराएँ । सबै गीतहरू दर्शक श्रोताले मन पराइदिनुभयो । अहिले पनि तपाईंहरू युट्युबमा हेर्न सक्नुहुन्छ । म आउनुअगाडि निस्किसकेका केही छाडा गीतहरूको प्रभाव निकै कम देखियो । मलगायतका केही कलाकारहरूले, संघ संस्थाहरूले पनि खबरदारी गरिरहृयौँ । प्रयास गरे सम्भव हुँदोरहेछ । हामीले उठाएको मौलिकताको कुराले दर्शक श्रोताको पनि मन छोए जस्तो लाग्यो । मौलिक गीतहरू चले । राम्रै भयो । विभिन्न टेलिभिजन, रेडियोलगायतका मिडियाहरूमा पत्रकार साथीहरूले हामीसँग अन्तर्वार्ता लिएर हाम्रा भनाइहरू राखिदिएर, खबरदारी गरेर विकृति विसंगतिलाई धावा बोल्ने काम पनि भयो सबैतिर बाट । हेर्नुहोस् अहिलेको यो युगमा सबै राम्रोमात्रै हुन्छ भन्ने छैन, विकाससँगै विकृति पनि आउने रहेछन् । यद्यपि मौलिक गीतहरू चले, चलाइए, राम्रै भयो भन्ने लाग्छ मलाई पनि ।
नेपाली सांगीतिक र साहित्यिक यात्रामा यहाँले करिब चार दशकभन्दा बढी समय बिताउनुभएको छ । यो बीचमा कति जति सांगीतिक र साहित्यिक कोशेली आए होलान् ?
मैले अहिलेसम्म लेखेका, गाएका एक हजार दुई सयभन्दा बढी लोकगीत, दोहोरी गीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, कीर्तन, तीज गीतहरू पनि प्रकाशित, प्रसारित छन् । पन्ध्र सयभन्दा बढी कविता, गजल पनि लेखेको छु, ती प्रकाशित, प्रसारित छन् । हालसम्म सन्ताउन्नवटा गीति एल्बमहरू प्रकाशित छन् । गीत संगीत, साहित्यदेखि विविध विषयका अठार पुस्तक लेखिसकेको छु जुन बजारमा छन् । अरू प्रकाशित हुने क्रममा छन् । यो बीचमा मैले नेपालदेखि अमेरिका हुँदै युरोपका विभिन्न ४५ देशमा आफ्नो प्रस्तुति दिइसकेको छु । नेपाली सांगीतिक र साहित्यिक यात्रा जारी छ भनौँ ।
पत्रकारिता, कलाकारिताको क्षेत्रमा पनि यहाँको लामो अनुभव छ । कहाँ-कहाँ काम गर्नुभयो ? के गर्दै हुनुहुन्छ ?
पत्रकारिता, कलाकारिताको क्षेत्रमा पनि करिब चार दशक बितेछन् । मैले रेडियो नेपाल, नेपाल टेलिभिजन, बिबिसीदेखि छापा हुँदै अनलाइन पत्रकारितासम्म काम गर्ने अवसर पाएँ । मेरो आफ्नै सम्पादन प्रकाशनमा निष्पक्ष राष्ट्रिय साप्ताहिक पहिले बुटवल र पछि काठमाडौंबाट सत्र वर्षसम्म प्रकाशन गरेँ । गत १८ वर्षदेखि अमेरिकाबाट नेपाल मदर डिजिटल पत्रिका चलाइरहेको छु । अहिले एभिन्युज टेलिभिजनको अमेरिका सम्पादकका रूपमा पनि कार्यरत छु । विगतको कुरा गर्दा मैले जनसंघर्ष दैनिक, लोकपत्र राष्ट्रिय दैनिक, नेपाल टाइम्स राष्ट्रिय दैनिक, सन्देसा दैनिक, सत्य साप्ताहिक, ललकार साप्ताहिक, नेपाली पत्र साप्ताहिक, छलफल साप्ताहिक, जनआवाज साप्ताहिक, राष्ट्रवाणी साप्ताहिक, नेपाल वाणी साप्ताहिक, एक्सरे साप्ताहिक, निष्पक्ष साप्ताहिक, लुम्बिनी टाइम्स मासिकलगायतका मिडियाहरूमा संवाददातादेखि सम्पादकसम्म जिम्मेवारी लिएर काम गरेको छु ।
लोकदोहोरीको क्षेत्रमा आमूल परिवर्तन गर्नुभयो । तपाईंले नै सिकाएका, ताते ताते गराएका गायकगायिका कलाकारहरू अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाएर खाइरहेका छन्, यस्तो देख्दा तपाईंलाई कस्तो लाग्छ ?
म आफू रेडियो नेपालमा रहँदा होस् वा नेपाल टेलिभिजनमा रहँदा होस् मैले सधैँ आफ्नो नेपाली मौलिक कला, संस्कृति, आफ्नोपनलाई सधैँ प्राथमिकतामा राखेर काम गरेँ । मेरै कार्यक्रम र मैले नै सिकाएका, पहिलो टेक दिएका कलाकार भाइबहिनीहरूले लोकगीत, दोहोरी गीत, संगीतको क्षेत्रमा राम्रो गरिरहेको देख्दा त्यो मेरो आफ्नै सफलता जस्तो लाग्छ । म उनीहरू सबैप्रति गर्व गर्छु । धेरै मेरा अनुजहरूले राम्रो गरिरहनुभएको छ, यसमा मेरो खुसीको सीमा छैन । केहीले अलिकति आफ्नो मौलिकता छाडेको देख्छु सम्झाउँछु पनि, सम्झिँदै जानुहोला आशा गर्दछु । मेरा हरेक अनुजहरूले मैलेभन्दा पनि राम्रो गरून्, अझ अगाडि बढून् म कामना पनि गर्दछु । उनीहरूको सफलता र खुसी मेरो पनि सफलता र खुसी हो ।
यहाँका धेरै गीत श्रोता दर्शकहरूले मन पराएको पाइन्छ, रामप्रसाद खनाल भनेर चिनाउने गीत कुन हो जस्तो लाग्छ ? कुन कुन गीत तपाईं आफूलाई बढी मन पर्छ ?
हुन त आफूले लेखेका, गाएका गीतहरू आफ्ना लागि सन्तान सरह माया लाग्छन् । तर पनि म आफैंलाई मनपर्ने र मलाई चिनाएका गीतहरू केही छन् जस्तो कि : ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा भो भो मलाई चाहिँदैन सम्पत्ति तिम्रै माया ठूलो छ संसारभरिमा’, ‘रिडी तरेर शनिबार भेटौंला है कान्छी गुल्मी झरेर’, ‘देउरालीमा पिपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘बेंशी झरेर’, ‘धेरै भयो भेटघाट मेरै माया नभाको’, ‘माया गासांै न दुई दिनको जिन्दगी’, ‘बाँदरको चाल गर्छन् सबैले’, ‘मेरा बुढा झर्के’, ‘चिठ्ठी लेखेर’, ‘उनै पियारीको’, ‘विशाल बजारमा’, ‘हरितालिका तीज’, ‘आइदिनुस् न शिवजी’, ‘दुलाहा दुलही’, ‘घर घरको कहानी’, ‘नारायणघाटैमा’, ‘तिहारको देउसी भैलो’, ‘हिँड न्युरोड गेट’, ‘कस्ता भए होलान् ती गाउँघर’, ‘तीजका गीतहरू’, ‘छैन यो मन थिर’, ‘रेल पुग्यो बम्बैमा’, ‘हे कृष्ण हे राम’, ‘तिम्री आमा मेरी आमा’, ‘एउटा ढुकुर उडिगयो’, ‘बग्ने पानीले’, ‘मार्नुसम्म मारी गयौ अर्कैसँग’, ‘आमा आमा भनी मैले’, रामप्रसाद खनालका गीतहरू’ लगायत यी र यस्ता धेरै गीतहरू छन् जसले मलाई चिनाए भन्ने लाग्छ ।
यहाँ लामो समयदेखि अमेरिका बसोबास गर्दै आउनुभएको छ, विदेशमा बसिरहँदा नेपालको के कुरा मिस गरिरहेको लाग्छ ?
के कुरा मिस गरिरहेको भन्दा पनि के कुरा मिस नभएको होला त्यसो भन्दा ठीक होला । आफू जन्मिएको, हुर्किएको माटोको सुवास, स्पर्श, आफन्तजन, साथीभाइ, आफ्नोपन, आफ्नो कला, संस्कृति, रीतिरिवाज, धर्म, संस्कार, चाडबाडहरू धेरै कुरा मिस हुन्छन् । देश के हो, माटो के हो भन्ने कुरा देशभित्र बस्दाभन्दा विदेशमा गएपछि बल्ल महसुस हुँदोरहेछ ।
देशको वर्तमान राजनीतिक अवस्थाले कत्तिको पिरोल्छ ?
हामी विदेशमा छौँ, शरीर विदेशमा भए पनि मन भने स्वदेशमै हुन्छ । त्यसैले देशको वर्तमान राजनीतिक अवस्थाले पिरोल्छ । देश दुख्छ । देशको वर्तमान राजनीतिक अवस्थाले नपिरोल्ने को नै होला र ! अझ विदेशमा बस्ने नेपालीहरूले जति देशको चिन्ता लिने अरू को होला र ! विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सले चलिरहेको देश, यति सानो देश, सुन्दर देश, स्वर्ग जस्तो देश कुशासनका कारण नर्क जस्तो भयो भन्छन् धेरैले, यस्तो सुन्दा मन दुख्छ । लोकतन्त्र, गणतन्त्र, संघीयता नेतालाई भयो जनतालाई भएन । जनताले लोकतन्त्र महसुस गर्नै पाएनन् । केही सीमित मान्छेका लागि यो व्यवस्था फलिफाप होला तर अधिकांश जनताले घाँडो महसुस गर्दैछन् । जो आए पनि उस्तै भयो, उस्तै भए, सबै कान चिरेका जोगी भए, पुराना त असफल थिए, थिए नयाँ झन् खराब र बेइमान निस्किए भन्ने कुरामा कुनै दुईमत रहेन । यस्तो पनि लोकतन्त्र, गणतन्त्र हुन्छ र ? तपाईं नै भन्नुहोस् त ।
यहाँ पत्रकार, लेखक एवं अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको अध्यक्ष पनि हुनुहुन्छ । कलाकार, पत्रकार, संगीतकार, गायक, रेडियो र टेलिभिजन प्रस्तोता तथा कार्यक्रम उत्पादक, लेखक, व्यवसायी सबै क्षेत्रमा यहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । यो सबैलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
चाहे मान्छेले जे पनि गर्न सक्छ । हरकुरा म्यानेज गर्न सकिन्छ । म नेपालमा हुँदा होस् वा अमेरिकामा सधैँ चार-पाँच घण्टा सुत्ने र बाँकी समय अहोरात्र खटेर काम गर्ने मान्छे हुँ । मलाई काम भएर थकाइ लाग्दैन तर काम नगरी खाली बसे थकाइ लाग्छ । एकदिन घरमा बिदा लिएर बसेँ भने पनि ज्वरो आउँछ । मलाई काम र व्यस्तता मन पर्छ । मेरो जीवनका पाँच दशक यसरी नै बिते । अहिलेसम्म सबै कुरा व्यवस्थापन गर्दै आएको छु ।
यहाँ लामो समयसम्म नेपालबाहिर बस्नु भएकाले हाम्रा गीत संगीत र साहित्यलाई अन्तर्राष्ट्रियरूपमा हेर्नुपर्दा कहाँनेर पाउनुहुन्छ ?
हामी निकै पछाडि छौँ स्विकार्नुपर्छ तर अगाडि जाने क्रममा छौँ । गीत संगीत र साहित्य हर क्षेत्रले सरकारीस्तरमा केही नगरेको भए पनि निजी क्षेत्रबाट धेरै गरिरहेको देख्छु । नेपालीहरू विदेश जाने क्रममा अहिले गीत संगीत र साहित्य पनि सँगसँगै बाहिर गइरहेको छ । अन्तर्राष्ट्रिय फोरमहरूमा पनि जाने क्रममा छ । मलाई त्यस्तो लाग्छ ।
देशको परिस्थिति र विभिन्न कारणले विदेशमा बस्नेको संख्या बढ्दो छ । नेपाली जहाँ पुगेका छन् आ-आफ्ना सिर्जनालाई निरन्तरता दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय कलाकार मञ्च जस्ता संघ संस्थामा आबद्ध रहेर आफ्ना सिर्जना पस्किरहेको पाइन्छ । नेपालभित्र रहेर गरिने सिर्जना र नेपालबाहिर रहेर भए गरेका सिर्जनामा कस्तो अन्तर पाउनुहुन्छ ?
देशभित्र रहनेले देशभित्रकै परिधिभित्र रहेर र देशबाहिर रहनेले देशबाहिरकै परिधिभित्र रहेर स्वतस्फूर्तरूपमा गीत संगीत, साहित्य, कला, संस्कृतिका लागि काम गरिरहेकै छन्, छौँ भन्नुप¥यो । यो सत्य हो कि देशको परिस्थिति र विभिन्न कारणले विदेशमा बस्नेको संख्या बढ्दो छ र यो संख्या हेर्दा विदेश जाने लहर र लाइन डरलाग्दो देखिन थालेको सत्य हो । कोही पनि मान्छे रहरले देश छोडेर हिँड्दछन्, आफन्तजन छोडेर हिँड्छन् भन्ने कुरा मलाई विश्वास लाग्दैन तर बाध्यता र विवशता अनि देश काल परिस्थितिले मान्छेलाई विदेश घचेटिरहेको सत्य हो । यद्यपि जे–जे भए पनि नेपालभित्र रहेर गरिने सिर्जना र नेपालबाहिर रहेर भए गरेका सिर्जनामा आवश्यकताअनुसारको विविधतामा एकरूपता पनि नदेखिएको होइन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय कलाकार मञ्च जस्ता संघ संस्थाहरूले पनि त्यसैअनुरूप आफ्नै गतिविधि गरिरहेका छन् र सिर्जनाहरूलाई मलजल गरिरहेको मलाई आभास हुन्छ ।
डायस्पोरा लेखनलाई तपाईंको दृष्टिबाट कसरी मूल्यांकन गर्नुभएको छ ? मानकतालाई ख्याल गरेर लेखिएका छन् या रहर एवं रोइला र कुण्ठामात्र लेखिएका छन् ?
डायस्पोरामा मात्र होइन स्वदेशमै पनि मानकतालाई ख्याल गरेर लेखिएका पनि छन् रहर एवं रोइला र कुण्ठामात्र लेखिएका पनि छन्, यी दुवै कुरा सत्य हुन् । तर पनि लेखिएका छन्, त्यो सकारात्मक पक्ष हो । तर, अहिले इन्टरनेट र सामाजिक सञ्जालको दुनियाँले लेखन, पुस्तक प्रकाशन, अध्ययनमा केही हदसम्म सहजता ल्याइदिएको भए पनि नकारात्मक असर बढी पु¥याएको छ भन्ने मलाई लाग्छ । मान्छे पढ्न अल्छी भइसकेका छन्, लेख्ने कुरा परै छोडौँ । मान्छे लामो सिर्जना पढ्नै छाडे, लेख्नै छाडे, सामाजिक सञ्जाललाई सदुपयोगभन्दा दुरूपयोग बढी गर्न थाले । डायस्पोरामा पनि यसको असर देखिन थालेको छ । पहिला-पहिला जस्तो लेखन सिर्जनामा स्तरीयताको कमी आएको कुरा सबैले महसुस गरेकै हुनुपर्छ ।
घर-परिवारबाट यहाँको सिर्जनशील कर्ममा कत्तिको सपोर्ट मिलेको छ ?
मलाई मेरो घरपरिवारबाट पूर्ण साथ र सहयोग छ । त्यसैकारण म यति सक्रिय भएर काम गर्न पाएको छु । गीत संगीत, साहित्य, कला, पत्रकारितादेखि हरकुरामा मेरी जीवन साथी तीर्था र मेरा छोराछोरी दुवै अत्यन्त सहयोगी छन् । उनीहरू सबै मेरा प्रेरणाका स्रोत हुन् भन्दा फरक नपर्ला ।
स्वमूल्यांकनका आधारमा तपाईं सफल कि असल मानिस हो ? आफ्नो प्रतिविम्बन आफैंले गर्नुहोस् न ?
भगवान्को कृपा, मेरी आमाको आशीर्वाद, मेरो परिवारको साथ, मेरा दर्शक, श्रोता, पाठक, शुभचिन्तकहरूको साथ र सहयोग, मिडियाकर्मी मित्रहरूको साथ, मेरा गुरुहरूको आशीर्वाद सबैको कारणले भन्नुपर्छ मैले आफूलाई सफल नै ठान्छु । मैले गीत संगीत, गायकी, कलाकारिता, पत्रकारिता, लेखन र साहित्य क्षेत्रमा मात्र होइन व्यवसायीका रूपमा पनि धेरै गर्न नसके पनि केही योगदान दिन सकेको छु भन्ने लाग्छ ।
अन्त्यमा ?
मेरा भावनाहरूलाई जनमानसमा पुर्याइदिनुभएकोमा तपाईंलाई र हिमालय टाइम्सप्रति हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु । मैले मेरा धेरै अन्तर्वार्ताहरूमा मेरा गुरुजनहरूलाई स्मरण गर्ने गरेको छु । गुरुहरूलाई आज पनि स्मरण गर्दै उहाँहरूको नाम लिन र नमन गर्न चाहन्छु । गीत संगीत, साहित्य क्षेत्रका गुरु नारद गौतमज्यू, रेडियो पत्रकारिताका गुरु पुरुषोत्तम दाहालज्यू जसले मलाई रेडियो नेपालमा बोल्न, छापा पत्रकारितामा पनि रिपोर्टिङ गर्न सिकाउनुभयो । बिबिसी नेपाली सर्भिसका पूर्वप्रमुख जसले मलाई बिबिसीमा पत्रकारिता गर्नेदेखि बोल्न सिकाउनुभयो, सेवा गर्ने अवसर दिनुभयो उहाँ गुरुलाई, छापा पत्रकारिताका गुरु डा. बालकृष्ण चापागाईंज्यू, टेलिभिजन पत्रकारिताका गुरु दुर्गानाथ शर्मा, कलाकारितातर्फ मलाई पहिलोपटक टेलिभिजन स्क्रिन फेस गराउने, पहिलो टेक दिने अग्रज कलाकार गुरु सन्तोष पन्तज्यू, रेडियो नेपाल र नेपाल टेलिभिजनमा प्रवेश गराउने गुरु तत्कालीन सञ्चार सचिव श्रीराम पौडेलज्यू र सहसचिव मुकुन्दप्रसाद आचार्यज्यू, पत्रकारिता क्षेत्रमै मलाई अभिभावकको भूमिका निर्वाह गर्नुभएका र मलाई बुटवलदेखि काठमाडौं बसाइसराइ गराउने अग्रज राजन कार्की, वसन्तध्वज जोशीज्यूहरू सबैमा नमन गर्दछु । यसबाहेक पत्रकारिता क्षेत्रका मेरा अभिभावक जोसँग पनि मैले काम गर्ने अवसर पाएँ चन्द्रलाल झा, होमनाथ दाहाल, गोविन्द वियोगी, अर्जुन ज्ञवाली, गोपालदास श्रेष्ठ, हरिहर विरही, सोमनाथ घिमिरे, पी खरेलज्यूलगायतलाई पनि स्मरण गर्न चाहन्छु । धन्यवाद ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच