काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा युएईका अलराउण्डर रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत् ३६ वर्षीय मुस्ताफालाई अनुबन्ध गरेको जानकारी दिएको हो । मुस्ताफाले युएईका लागि ५८ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा चार अर्धशतकसहित एक हजार ६ रन बनाउनुभएको छ । उहाँको नाममा ६१ विकेट पनि छ ।
यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका ब्याटर ब्रेन्डन म्याकमुलन र इंग्ल्याण्डका अलराउण्डर सैफ अली जैब र न्युजिल्याण्डका अलराउण्डर स्कट कुग्गेलिजनलाई भिœयाएको थियो । यससँगै सुदूरपश्चिमले चार विदेशी खेलाडीको कोटा पूरा गरेको छ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । टोलीले जगत् टमाटालाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
इंग्ल्याण्डका म्याट क्रिचलीले पोखराबाट खेल्ने
यस्तै, एनपिएलको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा इंग्ल्याण्डका अलराउण्डर म्याट क्रिचलीलाई अनुबन्ध गरेको छ । पोखराले सामाजिक सञ्जालमार्फत् २८ वर्षीय क्रिचलीलाई अनुबन्ध गरेको जानकारी गराएको छ । क्रिचलीले इंग्ल्याण्डका लागि खेल्न भने पाउनुभएको छैन ।
क्रिचलीले १४१ ट्वान्टी-२० खेलमा पाँच अर्धशतकसहित एक हजार ९७३ रन प्रहार गर्नुभएको छ । यसैगरी उहाँको नाममा १२० विकेट पनि छ । यससँगै पोखराले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गरेको छ । यसअघि टोलीले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस, नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडे र वेष्ट इण्डिजका बलर एन्डरसन फिलिपलाई भित्र्याएको थियो ।
टोलीले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसक्नुभएका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उहाँ चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुनुहुन्छ । पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल हुनुहुन्छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।
लोफ्टी-इटन चितवनमा
यस्तै, चितवन राइनोजले एनपिएलको आगामी सिजनका लागि जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरेको छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि चितवनले मर्रस्यन्ट डी ल्यांगा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी-२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाउनुभएको थियो । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उहाँले सो कोसेढुंगा पार गर्नुभएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उहाँले ३३ बलमा शतक बनाउनुभएको थियो । एक बल कम खेल्दै उहाँले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोड्नुभएको थियो । कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गर्नुभएको थियो । दुवैले चितवन राइनोजबाट एनपिएल खेल्नुहुनेछ ।
चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गर्नुभएको छ । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ’, उहाँले भन्नुभयो । चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी-इटन र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गर्नुभयोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच