अझै अपूर्ण लुम्बिनी सरकार : संसदीय दलका नेता संग मुख्यमन्त्री छलफलमा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकरले अझै पूर्णता पाउन सकेको छैन । कांग्रेसबाट चार र एमालेबाट चार मन्त्री थपेर मन्त्रिपरिषद्लाई नौ सदस्यीय बनाएका मुख्यमन्त्री आचार्यलाई सरकारलाई पूर्णता दिन सकस भएको देखिन्छ । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ । यो मन्त्रालयमा एक सानो दलको प्रतिनिधित्व गराउने तयारी मुख्यमन्त्रीको छ ।

यो मन्त्रालयमा लोसपा र नागरिक उन्मुक्तिबीच मन्त्री बन्ने होड चलेको छ । लोसपाले आफूले सरकारलाई सुरुवातदेखि नै समर्थन गरेकाले मन्त्रालय आफूले पाउनु पर्ने दाबी गरिरहेको छ । यता चार सांसद रहेको उन्मुक्तिले पहिलो चरणमै सरकारमा सहभागी हुनु पर्ने शर्त राखिरहेको छ । लोसपा भन्दा ठुलो दलको हैसियत रहेकाले सरकारमा आफ्नो सहभागिता हुनु पर्ने तर्कलाई उन्मुक्तिले जोड दिइरहेको छ ।

उनीहरूलाई सहमतिमा आएर कुनै एक दल अहिले सरकारमा जाने वातावरण बनाउन आग्रह समेत गरिएको छ । ‘दुई दलमध्ये एक दल सरकारमा सहभागी हुने गरी सहमति गर्न दुवै दलका संसदीय दलका नेतालाई राखेर मुख्यमन्त्री ज्यूले छलफल समेत गराउनु भएको छ’,- सरकारका प्रवक्ता एवम् कृषि मन्त्री दिनेश पन्थीले भन्नुभयो ।

माओवादी एमालेको गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण निर्माणका क्रममा लुम्बिनी सरकारमा पनि साना दलको सहभागिताका विषयमा सहमति बनेको थियो । कूल १२ मन्त्रालयमा एमालेलाई मुख्यमन्त्रीसहित पाँच, कांग्रेसलाई पाँच र सानादललाई दुई मन्त्रालयको भागबन्डा मिलाएर सहमति गरिएको थियो ।

सानादलमध्येबाट अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी भइसकेको छ । यो दलबाट आदेश अग्रवाल कात्तिक ७ गते आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको छ । अब बाँकी रहेको युवा तथा खेलकुद मन्त्रालयमा नागरिक उन्मुक्ति र लोसपामध्ये एक दलबाट मन्त्री चुनिने छन् ।

‘प्रदेशमा रहेका १२ मन्त्रालयभन्दा बढी मन्त्रालय थप गरिने कुरा हुँदैन, साना दललाई समेत समावेश गर्ने नाममा मन्त्रालय फोड्दा वा बढाउँदा आम जनमानसमा राम्रो सन्देश जाँदैन भन्ने विषयमा मुख्यमन्त्री जानकार हुनुहुन्छ’, सरकारका प्रवक्ता पन्थीले भन्नुभयो, ‘अब बाँकी रहेको एउटा मन्त्रालयमा साना दुई दल मध्यबाट को आउने सहमति गरेर आउनुस् भनिएको छ तर दुई दललाई नै सरकारमा समावेश गर्ने गरी मन्त्रालय बढाउने कुरा हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?