
प्रा.डा.खेम दाहाल
गत आइतबारको अंकबाट क्रमशः
२.३ मार्बल-हाउसकी सालिनीबारे (शालिनी)
भूमिकामा कथा साहित्यको सुरुआतको पृष्ठ पल्टाइन्छ, संहितासँगसँगै कथाको प्रारम्भ भएको जनाइन्छ । यसमा प्राचीन धर्मग्रन्थ महाभारत, रामायण तथा इलियड र ओडिसीपूर्वको इतिहासमा गिलगमेसको महाकाव्यको नाम उठान गरिन्छ । नेपाली भाषामा संस्कृतबाट अनुदित शक्तिवल्लभ अज्यालकृत महाभारतको विराटपर्वलाई सम्झनामा लिइन्छ । यी सबै पृष्ठभूमिपछि गोेरखापत्र (१९५८) सम्म पुगेर त्यसमा प्रकाशित कथाहरू मौलिक कृति रहेका भन्ने एक इतिहास, एक सिंहावलोकन यहाँ उपस्थित छ । कथाकार उही अघिल्लो पाठमा स्मरण गरिएका पोखरेल र लेखकको परिचय दोहोरिने स्थिति छ, किनकि यो कृति पनि लेखनाथ पोखरेलकृत कथाको किताब हो । ‘फकलीको गाउँ’ पछि ‘मार्बल-हाउसकी सालिनी’ अगाडिपछाडि गर्दै आएका छन् ।
अर्को कृति ‘यात्राको सिकर्नी’ खेमनाथ दाहालको रचनाको समीक्षा, उही स्रष्टाको अहोरात्र (उपन्यास) को सरस व्याख्या, हरिभक्त सिग्देलको ‘एक मात्र’ भित्रको न्यायिक चिन्तन तथा लेखनाथ पोखरेलका ‘चिबेनकटो’, ‘फकलीको गाउँ’ र ‘मार्बल-हाउसकी शालिनी’ मा भएका समीक्षाहरू उच्च मूल्याङ्कनमा पर्छन् ।
पोखरेलका कथाहरू आमा, दिदी र भाउजूका कथा हुन्, सत्तरी जति जिल्ला भ्रमण गरेका अनुभवले यी कथाहरू जन्मिएका हुन् । हिजोका दिन सम्झनामा लिएर भनिएका भनाइहरू मार्मिक छन्, ‘तृष्णा’ कथाको मार्मिक पक्ष सम्पे्रषित छ गाउँ छोडेर जाने तथा कहिलेकाँही यसो हेर्न आउने पात्रहरू, त्यहाँका रत्यौली र नारी स्वतन्त्रताका गन्ध, भतेर तथा दर्जी नाच अहिले छैनन्, भए पनि लोपोन्मुख अवस्थामा छन् । कथाको किताब पढेर लेखिएको भूमिकामा दासप्रथा र त्यसका अवशेष देखाइन्छन् । ‘ममता’ शीर्षक त्यसको उदाहरणमा पर्छ । प्रजातन्त्र र त्यसका दोषमा आधारित कथा ‘विद्रोही’ले जातका समस्या र गरिबीका पीडामा टेक्छ । यस बिचमा पे्रम वा अनुरागका कथा छन् । यहाँ ‘जन्मकुण्डली’ जस्तो कथामा काठमाडौं र बाहिरबाट त्यहाँ बस्न गएका मोफसलवासी, ज्योतिषशास्त्र र त्यसको प्रयोगमा भएका कमजोरीको यथास्थिति उठाइन्छ । कृतिको शीर्षकधारी ‘मार्बल–हाउसकी शालिनी’ एक आधारभूत कथामा सामान्य मानव धनी भएर मार्बल हाउसको मालिक भएको प्रसङ्ग एउटा बुझाइन्छ भने सुन्दरी र सुरामा मुग्ध कर्मचारी तथा मन्त्रीको पोल खोलिन्छ । अनुभवको सत्य उदाहरण प्रकट गर्ने कथामा यो ‘मार्बल–हाउसकी शालिनी’ पर्छ । यसले सिंहदरबारलाई नङ्ग्याउँछ । साहित्यका समाजशास्त्रीहरूमा इपिली तेन मुहूर्त र पर्यावरणका बुँदा समाउँछन्, लुसियन गोल्डम्यान आवश्यक कारण र कार्यको बुँदा बनाउँछन् भने रेमन्ड विलियम्सले दिएको सूत्र ‘अनुभूतिको संरचना’ (The Structure of feeling)कथाकार पोखरेलका कथामा आकर्षित भएको बुझिन्छ । आफू ओभरसियर र इन्जिनियर भएर भोगेका, देखेका र भित्रसम्म घोचेका घटनाको एउटा पर्खाल वा संरचना बन्छ, त्यो पर्खाल ‘मार्बल-हाउसकी शालिनी’को आकारको छ । ‘चिबेनकटो’ लेखनाथ पोखरेलको कृतिमा अर्को भूमिका आउँदा पनि उही भूमिकाकारको लेखन रहेको छ । यस मान्यतालाई यस प्रसङ्गमा उस्तो राम्रो मानिँदैन : उही भूमिकाकार उही स्रष्टा यसरी बन्धन भएका व्यापारको दोष लाग्छ तर भूमिकाकारको गहिरो अध्ययनको प्रतिफल समेटिँदा हास्य-व्यङ्ग्यका सूत्र प्रयोगमा आएका पाइन्छन् । हास्यव्यङ्ग्यका नेपाली निबन्धका अग्रणीमा केशवराज पिँडाली, भैरव अर्याल, राम कुमार पाँडे, हुँदै आज लक्ष्मण समेत त्यतै अल्झिएका छन् । हाकिमको हप्की खाने साना तहका कर्मचारी तिनले हाकिमसँग तर्सिनुपर्ने कति कारणहरू, सबैले संस्मरणमा लिए पनि प्रकटमा ल्याउन नसकेका घटनाहरू सजाइएका छन् । ‘हस् हाकिमसाब’ भन्नै पर्नेका कष्ट उनैलाई थाहा छ । यहाँ नेता, विमानस्थलका कर्मचारी र पे्रत लेखक नै धनी हुँदै गएको सत्यता प्रकाशमा आउँछ ।
२.४ यात्रामा देशः अर्को भूमिका
विमला ढुङ्गाना निरौलाको कृति ‘यात्रा देशभित्र’ मा खेमनाथ दाहालको गहन भूमिका पढिन्छ । विमलाका ‘बाल मन’, ‘बादल र ऋतु’, ‘पशुपक्षी’, ‘बाल बगैँचा’ आदि बालसँग जोडिएका दशवटा पुस्तक प्रकाशित रहेका जानकारी पाइन्छ । विमला हाल अमेरिकी भूमिमा बस्ने नेपाली भएको बुझिन्छ । यात्रामा देश कविता संङ्ग्रह यहाँ प्रस्तुत कृति हो । बालसाहित्यमा रुचि रहेकी, विमलाको सुरूको प्रतिभा रेडियो नेपाल, बालकार्यक्रमसँग आबद्ध हुँदै यहाँसम्मको यात्रा तय भएको बुझिन्छ । यस यात्रामा देशभित्रका तेइस कविता सङ्कलित छन् भन्ने जानकारी गराइन्छ ।
बालकहरू जहाँ भए पनि हाम्रो झण्डाको मोहमा छन्, कान्तिपुरी, चाबहिल सम्झिएका छन् । नेपालमा बाआमा रुन्छन् भनी सोचिएको छ । रिङरोड, सातदोबाटो, कोटेश्वर, भक्तपुर, सिनामङ्गल, गौशाला, मित्रपार्क समेत नेपाल आउँदा घुमिन्छ । यहाँ बा-आमाको रोदन, घडेरीको बिक्री दुःखमा छन तर पाटनको कृष्ण मन्दिर त्यसै प्रिय छ । दमौली, चितवन, पोखरा, गोर्खा, सिन्धुली, गुल्मी, अर्घाखाँची कवितालाई सजाउने स्रोत बनेका छन् । आमा र जन्भूमि स्वर्गभन्दा ठुला छन् भनी सम्झेकै आधारमा यस्ता यात्रा कविता रचिएका भनी विश्वास गरिएको भूमिका पढिन्छ । सबै रचना यहाँ छैनन् । टिपिएका रचना लोकलयका भाकाका, पन्ध्र र सोह्र अक्षरका हरफले सजाइएका छन् ।
२.५ वसन्त श्रेष्ठ-अँगालोभरिको अनुभूतिभित्र
वसन्त श्रेष्ठ (२०१२, तेह्रथुम) का ‘वसन्त श्रेष्ठका कविता’,‘भावनाका लहरहरू’, ‘उज्यालो खोज्ने आवाजहरू’, ‘अर्को गोलाद्र्धमा उभिएको मान्छे’ जस्ता सिर्जना प्रकाशित छनु् । ‘अँगालोभरिको अनुभूति’ संस्करण प्रधान निबन्धको पुस्तकमाथि भूमिकाकार खेम दाहाल उपस्थित हुनुभएको छ । भूमिकामा प्राचीन श्रुति साहित्य, वसन्तको परिचय, समीक्षामा लिइएको कृतिका एक्काईसवटा पाठ, देश र परदेशमा भोगेका तथा देखेका सन्दर्भमाथि समीक्षात्मक सिंहावलोकन भएको स्थिति छ । यस भूमिकामा उल्लेख भएका आधारमा बाल्यकाल र त्यसको स्मरण, म्याङ्गलुङ बजारका सुनौला दिनहरू, आमाको प्यार हाम्रा संस्कार, सिंहवाहिनी हाइ स्कुलको पठनपाठन, विसं २०२४ सालको एसएलसी र वसन्त तुम्बाहाम्फेको काण्ड परिचयमा छन् । बाल्यकालपछि काठमाडौंको पठन अध्ययन, रत्नपार्क र विद्यार्थी आन्दोलन, २०२८ सालका ती दिन, जनप्रशासनको स्नातक, व्यवसायी र फिदिमको अनुभव गतिला स्मरण हुन् । पाँचथरले युवकलाई खारिने मौका दिन्छ । त्यसपछि अमेरिकी भूमिको अर्को अनुभव थपिन्छ । संस्मरण प्रधान यी निबन्ध लेखनमा लैनसिंह बाङ्गदेल, पारसमणि प्रधान, श्यामप्रसाद शर्मा, ताना शर्मा हुँदै निर्मोही व्यास आदि स्रष्टाहरूले मलजल गरेको यस निबन्धको फाँटमा वसन्त छिरेको अनुभूति भएको छ । एउटा जनशक्ति पलायन भएको विषय संवेदनशील पक्ष हो ।
‘कसुर’ उपन्यासका लेखक डा.डि.आर.उपाध्यायको क्षेत्र गीत र गीति एल्मबको साधनामाथि भूमिकाकारले गम्भीर अभ्ययन गरेको अवस्था छ । ‘प्रणय’, ‘अन्तराप’ जस्ता धेरै गीति एल्बम र ‘कसुर’ उपन्यासका स्रष्टा उपाध्याय वीरगञ्जमा सन् १९६२ मा जन्मिएका साधनाप्रिय प्रतिभाको उपन्यास ‘कसुर’ (कसूर ?) यहाँ भूमिकामा मूल मझेरीमा उभ्याइन्छ । गिनिज बुकमा नाम लेखाउने यस्ता प्रतिभाको पुस्तकमा अनुशासन बिगार्ने पात्र विपुल र उदयामा विपुल दोषी रहन्छ । अल्लारे उमेरका युवापुस्ताको उक्त उपन्यास भन्दा आजको युग धेरै अगाडिको जस्तो लाग्छ, लैनसिंह बाङ्गदेलले ‘मुलुक-बाहिर’ तथा ‘माइतघर’ का कथानकमा प्रस्तुत विषय यहाँ दोहोरिएकाले समयको गति उपन्यासले लिन सकेको छैन । पारिवारिक प्रेम र युवा पुस्तामा हुने पे्रमको उक्त पुस्तकको शैलीशिल्प सुन्दर हुन सक्छ । यसमा भूमिकाकारको अति रञ्जना जस्तो पनि लाग्ला । वस्तुको यर्थाथ स्थिति निरूपण गर्नु उचित हो । एक मालामाथि मालाको प्रशंसालाई त्यति उम्दा ठानिँदैन । यो टिप्पणीकारको निजी धारणा हो भनी बुझ्न सकिन्छ ।
‘कर्ना’ का रचनाकार मिलन शाहशङ्कर (२०५०) का ‘छिनको हाँसो’, ‘मैले देशको मुहारमा टुक्रा टुक्रा पाएँ’, ‘यात्रा अधुरो’, ‘शब्द मोहनी’ जस्ता कृति प्रकाशित रहेको जानकारी रहन्छ । यसै सिलसिलामा ‘उपन्यास’ शब्दको अर्थमा रहेका शास्त्रीयमत खोजीगरिएका छन् । त्यो शब्द ‘उपन्यास’ त्यसबेला जसरी प्रयोग भयो, आजको उपन्यास आख्यानको रूपको कृति त्यस्तो होइन । डानियल डेफो १६६०-१७३१ Daniel Defoe को रविन्सन क्रुसो (Robinson Crusoe १७१९ A.D) मोल फ्लन्डर्स (Moll Flanders१७२२ A.D) र ‘रक्साना (Roxana : The Fortunate Mistress, 1724 A.D.) जस्ता अठारौँ शताब्दीका उपलब्धि पछि विश्वसाहित्यमा झाँगिएको इतिहास हो । नेपाली साहित्यमा गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’ (विसं १९६०) प्रारम्भको उपन्यास र आधुनिक युगमा रूद्रराज पाण्डेको ‘रूपमती’ (विसं १९९१) इतिहासमा मान्यता पाउँछन् । यस क्रममा टल्सटायको ‘युद्ध र शान्ति’ गोर्कीको ‘आमा’ यहाँ सम्झनामा परेका छन् । शाहशङ्करको कष्टको बाल्यकाल, ‘कर्ना’ उपन्यासका चार सन्दर्भ सुरुमा प्रस्तुत हुन्छन् । सुरुको विषय ढुङ्गाको मूर्ति पूजामाथि समीक्षा, रुढिबुढी, अछूतको बेदना, पात्र करुणाको अनुभवमा भरिन्छ । दोस्रो विषय माओवादी युद्धः सामन्ती शासनको विरुद्धको आवाज बोल्छ । यस युद्धलाई कृष्ण र अर्जुनका संवादमा लगेर जोडिन्छ । मूलतः ग्रामीण जनता माओवादी युद्धमा होमिने कारण, माओवादी छापामार र सेना प्रहरीका बीचमा रहेका जनताको कष्ट यहाँ प्रकटमा आएको छ । यस विषयमा जगदीश घिमिरेको ‘सकस’, गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, राजन मुकारुङको ‘दमिनी भीर’आदि धेरै कृति प्रकाशनमा आए । ‘कर्ना’ मा युवती लडाकु करुणाको अन्यायविरोधी चरित्र देँखाइन्छ । अर्को चरणमा शान्ति सम्झौता हुँदा छापामारहरूमाथि अन्याय भएको स्थिति चित्रणमा रहन्छ तथा सामान्य जीवनमा फर्किएपछि आजको विडम्बनायुक्त समाज करुणाले देखेकी हुन् । यसमा पछि गएर कुलत र कुसंस्कार चित्रण गरिन्छ । यो कृति पाठकले पढिदिऊन् भन्ने कुरा भूमिकाले बोल्छ ।
जनक रावल (२०३३, अछाम) ‘खाटा बसेको घाउ’ (कथा सङ्ग्रह)को भूमिकामा ‘देवकी’, ‘उकाली-ओह्राली’, ‘खाटा बसेको घाउ’, ‘कथा राजधानीमा सडक’, ‘आइमाईको आदेश’ आदि कथाको काल खण्डलाई हेर्दा माओवादी युद्धकाल र सोभन्दा पछि लगत्तैका घटनाबाट सामाग्री लिइएको बुझिन्छ । कथालाई कुनै उक्तिमा जोडेर हेर्दै भूमिका लेखिदिनेले सबै कथाको सारांश गरेको अवस्था छ । यो देशका जनताले भोगेका दुःख सतीको सरापका फल जस्तै छन् । राजधानी सहर काठमाडौंको विकृत संस्कार र नेपाली जनजीवन समेटिने यी कथामा उन्नाइस कथाको सङ्ख्या छ : ‘बेरोजगारी पीडा’, ‘उनको च्यातिएको इस्टकोट’, ‘नौली बज्यैको मैलो गम्छा’, ‘ओ सखी आऊ ’ जस्ता लामा शीर्षकधारी कथामा समयचेतको सुन्दर निर्वाह भएको बुझाइन्छ ।
‘ऐना’ (कविता सङ्ग्रह)का कवयित्री माया गुरुङका विषयमा लेखिएको परिचयले गुरुङलाई कविता विधामा संलग्न देखाउँछ । कविताको लामो परिभाषा, ‘ऐना’ भित्रका कविताको परिचय, ‘प्रार्थना’ सुरुको रचना चिनाइन्छ । पूर्वीय साहित्यका कविहरू पनि शक्तिको आराधनाबाट रचना प्रारम्भ गर्थे भन्ने सन्देश जोडिएको छ । माया गुरुङले शान्तिको पाठ पढाउने, आमाको माया गर्ने, प्रकृतिको सम्मान गर्ने, करूणाको उत्थान र सम्मान गर्ने र अनुहारभन्दा भित्री चरित्रमा विशवास बढाउने रचनामा जोड दिएको पाइन्छ । यी रचना आदर्शवादका स्रोत भएर छोराछोरीमा समानता खोज्छन्, चाडबाडमा समीक्षा गर्छन्, गद्य कवितामा रुचि रहेको बुझिन्छ । यी रचनाले पूजा, लक्ष्मी, सरस्वती र दुर्गाको आदरसम्मान गरेको कारण संस्कारले जहाँ गए पनि नछोडेको माया गरुङको मनको ऐना हो ।
‘अनुराग’ कविता सङ्ग्रहका कवयित्री अनु शाहको रुचि क्षेत्र चलचित्र र कविता तथा गीति क्षेत्रसँग आबद्ध रहेको सुसूचन गरिन्छ । प्रवासी नेपाली अनु शाहको अनुरागका रचनाकारले नर्थ इस्टर्न विश्वविद्यालयबाट मनोविज्ञान विषय लिएर स्नातकोत्तर तह उत्तीर्ण गरी शिक्षण पेशा अँगालेको स्थितिमा देशप्रति सम्मान दर्शाउने, नेपाली बारीमा फुल्ने फलफूल सम्झने, कोइलीको आवाजमा नेपाली भूमिमा फर्किएको अनुभूति राख्ने, सन्तानलाई तपस्याको फल सम्झने, प्रेम प्रणय तथा राजधानी काठमाडौँका गल्लीलाई शब्दमा उतार्ने र आफू हराएकोमा दुःख प्रकट गर्ने डायस्पोरिक चेतका सन्दर्भ उठाएको पाइन्छ । अझै नारीको मन पिँडामा बद्ध नहोस्, खुला आकाशमा विचरण गरोस्, बिमा कम्पनी र भ्रष्टमाथि व्यङ्ग्य गरोस् मन प्रशन्न रहोस् भन्ने शुभकामना प्रस्तुत छ । ‘आगो सहिरहेछु’, ‘तिहारको सम्झना’ उत्तम रचना भएको विश्वास गरिएको छ ।
गोपाल भण्डारी (२००७, भोजपुर)को कृति गोपाल भण्डारीका छन्द कविताहरूमा प्रवेश गर्दा भूमिका लेखनमा बुद्धिमानको साधनाको एक श्लोक प्रस्तुत गरिन्छ । बुद्धिमानले खर्च गर्ने समय काव्यशास्त्रमा हो । सन् २०२२ मा यस्तो कृति प्रकाशनमा आउँछ-छन्दमा आबद्ध रचना प्रकाशित हुँदा वसन्ततिलका छन्दमा ‘अर्धाङ्गिनी’, अनुष्टुप छन्दमा चाडपर्वको चर्चा, स्रग्घरा छन्दमा’ भण्डारीवंश’, एक्कसाइस अक्षरको मरभनययय गणभएको रचना, भुजङ्ग प्रयात छन्दमा षडानन्द गुरु स्मरण (चारैवटा ‘य’) गरेका प्रंगग छन्, तिनलाई आफ्नो अध्ययनमा जोडेर संस्कृतका छन्दसँगको नाता देखाउने भूमिका सम्पन्न भएको छ । सम्पूर्ण कविताको आधार आध्यात्मिक चेतना हो । संस्कृत साहित्यको पृष्ठभूमिमा टेकेको यस कृतिका रचनाहरूबाट स्रग्विणी, स्वागता, इन्द्रवज्रा, उपजातिजस्ता छन्दसूत्र समातिएका छन् । मूल विषय आदर्श जीवनको अनुराग हो ।
कुनै स्रष्टाले पुस्तक दिनुभयो र केही कोरेर चिनारी गराउनुप¥यो भन्नुभयो भने कर लाग्छ, सम्मानको साटो अपमान होला भन्ने डर लाग्छ । त्यही बिन्दुमा उभिएर यहाँ हातमा आएको पुस्तकमाथि नयन डुलाउँदै शब्द खोज्दै भएको क्षणमा उभिँदा यो सरमको अनुभूति हुुँदैछ । आफ्ना अग्रजले समेत आफ्नै वासमा पुगेर कुनै उपहार स्वरूप कृति थमाउनुलाई जीवनको चरम उपलब्धि मानिँदो रहेछ ।
‘मैले पढेका ५१ पुस्तक’ (समीक्षा सङ्ग्रह)का समीक्षक गीता अधिकारी (केराबारी, मोरङ)को कार्यक्षेत्र पत्रिका, पत्रकारिता र कलाकारिता रहेको जनाइन्छ । व्यासका उक्ति तथा मीमांसाको उत्पत्तिसूत्र खोज गरिएको पृष्ठभूमिमा विषय आरम्भ हुन्छ । गीताका कार्यक्षेत्रमा पत्रिका परिचयका आधार हुन्ः यहाँ अमर बान्तुको ‘परिभाषाका राँटाहरू’ बाट आमाको मूल्य असीम रहने उद्धाहरण छ । अर्को कृति ‘यात्राको सिकर्नी’ खेमनाथ दाहालको रचनाको समीक्षा, उही स्रष्टाको अहोरात्र (उपन्यास)को सरस व्याख्या, हरिभक्त सिग्देलको ‘एक मात्र’ भित्रको न्यायिक चिन्तन तथा लेखनाथ पोखरेलका ‘चिबेनकटो’, ‘फकलीको गाउँ’ र ‘मार्बल-हाउसकी शालिनी’मा भएका समीक्षाहरू उच्च मूल्याङ्कनमा पर्छन् । गीताका अपूर्ण अंश पूर्ण हुने आशा छ । ‘सगरमाथाको आर्तनाद’का लक्ष्मी श्रेष्ठ (नयाँपाटी, काठमाडौं) का ‘ढुकढुकीमा सुन्दरीजल’, ‘तिम्रो समझनामा’, ‘न्युयोर्क कोरोना डायरी’ र ‘खुलाजेल’ जस्ता कविता, संस्मरणका सङ्ग्रह प्रकाशित छन् । भूमिका लेखनमा परेको सगरमाथाको आर्तनाद, कविताको पुस्तकमा कविताको परिचय, स्वरैकल्पनामा नेपाल प्रवेश, बैंङ्किङ कार्यमा संलग्नसँगसँगै लक्ष्मीको परिचय जोडिएको छ । लक्ष्मीको कविताले सगरमाथाको हिउँ सुक्ने कल्पना गर्छ, नेपालमा भएका अपराधको चित्रण सत्ताको भागवण्डाले गर्छ । यी कवितामा नारीको अवस्था चर्चामा रहन्छ, पे्रमप्रणयको गीत गाइन्छ, आमाको मुहार प्रतिबिम्बित रहन्छ, महामारीको सराप देखाइन्छ, लुटेराका विपक्षमा आक्रोश पोखिन्छ, खाडीमा गएका युवक–युवतीको दर्द प्रकाश गरिन्छ । लक्ष्मीले जुन सन्दर्भ अगाडि आउँछ, त्यसमा हर्ष वा विस्मतको रचना तुरुन्त रच्ने क्षमता राखेको निष्कर्ष भूमिकामा प्रकट भएको छ । ईश्वरी भुसाल (अर्घाखाँची, २०१०)को ‘अर्पण’ भूमिकामा परेको छ । निजका ‘विरह पुष्पाञ्जलि’, ‘विरह व्यथा’, ‘कसको आँखा लाग्यो’ जस्ता काव्य तथा गजलसङ्ग्रह प्रकाशित छन् ।
भूमिका लेखनमा कविताको परिचय, गद्य कविताको इतिहास, कविको फरकफरक पेशा र त्यसमा आएको विचलन, अन्त्यको समाजसेवाको एक पृष्ठभूमि बाँधिएको छ । ‘अर्पण’ मा शारदासँग शक्ति मागिन्छ, अनुष्टुप छन्दका गुच्छकहरूमा लुम्बिनी अञ्चल र जिल्लाहरू, जनावरको निवास, धार्मिक प्रचलनमा आएको खुलापना, चाडपर्वहरू, संस्कारका गतिहरू, युवाजोडीहरू, पत्नी वियोगका व्यथा, गर्मी ठाउँको जनजीवन (तौलिहवाको गर्मी)लाई केन्द्रमा राखिन्छ । विरह-पुष्पाञ्जलीका रचनाकार भुसालले दैवीशक्तिमा आराधना र जन्मभूमिको प्रशंसामा कृति सिर्जना गरेका भन्ने निष्र्कष भूमिकामा पढिन्छ । राजु सिटौला (२०३६, काठमाडौँ, त्यौड)को ‘जीवन–मृत्यु’ (कविता सङ्ग्रह) भूमिकामा परेको छ । विज्ञान विषयको उच्च डिग्री लिएका सिटौलाको कविता-काव्यमा रुचि हुनु सकारात्मक पक्ष हो, उनी आप्रवासी नेपाली बनेपछि अनेक संस्थासँग आबद्ध रहेको जानकारी प्रकाश गरिएको छ । ‘जीवन–मृत्यु’मा एककाइस रचना संकलित छन्, भावनाभित्रका रचनाको प्रवाहमा गद्यकविताले जीवन, मृत्यु, कोलाराडोको ऋतु (शरद), पहाडको रमाइलो दृश्य, जेनिफरको स्वरूप, जीवनको अरोहरण, समारोहमा आसनग्रहणसम्म हुने नाताकृपा, उपलब्धिको निराशाजनक क्षय, कतै उत्साह र कतै त्यसको पतन, नेपालमा हुने रक्तपात र बुद्ध, विकृत नातावाद, अति संवेदनशील भावुकतासँगको भेट, अन्तर्मन र ऐना, स्थानको पर्यावरण र मुहूर्तचित्रण, डायस्पोरिक पीडा मूलतः रचनाकारको नजरमा परेका विषय हुन्, यहाँ देवकोटा र हार्नेलाई सम्मान गरिएको छ । यहाँ कोलाराडोतिर पलायन जनशक्तिप्रति हाम्रो दुःखपूर्ण स्मरण छ, जनताका छोराहरू उच्च शिक्षा लिएर पलायन हुने स्थितिले चिन्ता बढाएको छ ।
३.० निष्कर्ष
भूमिकै–भूमिकाको सङ्कलनः ‘सिर्जनामा दृष्टि’ (२०८१) तीन सय पृष्ठभन्दा धेरै पृष्ठको सोह्र भूमिकाको पुस्तक पढिदिने पाठकको कमी रहने भय छ । कविताको भूमिका लेख्दा त्यसै विधाभित्र पसेर शास्त्रीय आधार खोजिन्छ, निबन्ध, कथा र संस्मरण उपन्यास र समीक्षामा पनि त्यही नियम लागु हुन्छ । पूर्वीय शास्त्र चिन्तनलाई स्थान दिने रहर पूर्ण गरेको स्थितिमा यी भूमिका कुनै धेरै लाइनमा व्यापक र कुनै धेरै गहिराइमा छन् । जसका कृति हुन्, तिनलाई यो पुस्तक प्रिय लाग्नेछ । लघुकथा, मुक्तक, गजल पढेर आनन्द लिने पाठक बढेको युगमा भूमिकाकारको यो भगीरथ प्रयत्नलाई सम्मान गरिन्छ र हरेक पाठभित्रै केही विचार प्रकट गरि सकेका कारणले यस भनाइलाई छोट्याउनु उचित ठानिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच