देशको प्रधानमन्त्री समाज, राष्ट्र, अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न भएका र उत्पन्न हुने सम्भावना भएका द्वन्द्व, असमझदारीलाई व्यवस्थापन गर्ने, द्वन्द्वरत दुबै पक्षले अभिभावकत्व, न्याय, अपनत्वसमेत पाएको अनुभूतिसमेत हुने परिस्थिति सिर्जना गर्ने क्षमतावान एकमात्र जिम्मेवार अभिभावक हो । प्रधानमन्त्री द्वन्द्व उत्पादन र असमझदारीलाई उत्पन्न हुन नदिन के-के पूर्वतयारी गर्नुपर्छ, त्यसको गृहकार्य, परिचालन गर्ने निर्देशनात्मक भूमिका खेल्ने अधिकारी वा अभिभावक दुबै हो । उत्पन्न द्वन्द्वको उभय पक्षलाई चित्त बुझ्दो, समाजले समेत प्रधानमन्त्रीका सबै निर्णयमा न्यायानुभूति गर्नेगरी अभिभावक, उत्प्रेरक र शिक्षक साथै न्यायाधीशसमेतको भूमिका झल्कने, न्याय दिनसक्ने क्षमता र दक्षता भएको राष्ट्रिय महत्वको पद हो ।
प्रधानमन्त्री सांसदहरूको बहुमतले मात्रै प्रधानमन्त्री बन्ने घटनाक्रम फगत प्राविधिक विषय हो । प्रधानमन्त्री पदका लागि योग्य हुने विषय उसको कार्यक्षमता, कार्यकुशलता, कूटनीतिक ज्ञान र भविष्यको आँकलन गर्नसक्ने भविष्य द्रष्टाको र सुशासनको प्रत्याभूति दिने कौशलता पनि हो । प्रधानमन्त्रीको न्यायिक, अभिभावकीय, समझदारीलाई विकास एवं प्रबद्र्धन गर्ने क्षमता, दक्षताले उसको कार्यक्षमतामा निखार ल्याउँछ । सांसदहरूको बहुमत जस्तो प्राविधिक पक्षमा टालटुल, जोडजाममा सफल तर राज्य सञ्चालनमा अक्षम सबै असफल प्रधानमन्त्रीमा गनिन्छन् ।
प्रधानमन्त्रीको मुख्य योग्यता र कार्यक्षमताको मूल्यांकन निष्पक्षता, इमानदारी, उच्च चारित्रिक बल, समानता, समभाव, कूटनीतिक क्षमता, शालीनता र नैतिकताको कसीमा जाँचिन्छ । प्रधानमन्त्रीका प्रत्येक वाक्यमा मात्रै होइन शब्द–शब्दमा शालीन, स्पष्टता, विज्ञता, विशेषज्ञ, विद्वता, निष्पक्ष, इमानदारी र कपटशून्यता झल्कनु पर्दछ ।
नेपालमा प्राविधिक रूपमा सफल व्यावहारिक रूपमा पनि सफल हुन्छन् कि भन्ने आश लाग्दा पात्रहरू हिजो नदेखिएका भने होइनन् । उनीहरूको चिन्तन, जीवनशैली, कार्यशैली, कार्यक्रम, योजना बारे उनीहरूका अभिव्यक्तिका आधारमा सफल हुने सम्भावना बोकेका प्रधानमन्त्रीहरूमा बीपी कोइराला प्रमुख हुन् भने मनमोहन अधिकारी पनि दाबेदार हुन् । तर दुबैजनाको कार्यकाल अत्यन्तै छोटो भएकाले आशा गरिए अनुसारको प्रतिफल दिनसक्ने अवस्था रहेन तर ती दुबैजना भरोसा योग्य पात्र भने अवश्य हुन् ।
२०४६/०४७ को आन्दोलनपछिको अत्यन्तै संवेदनशील अवस्थामा सर्वशक्तिमान् राजालाई संविधानको मातहतमा राख्ने काम जोखिमपूर्ण र चुनौतीपूर्ण थियोे । त्यस्तो संवेदनशील परिस्थितिमा विशिष्ट संविधान जारी गर्ने र निर्वाचन सम्पन्न गर्ने मुख्य दुई एजेण्डाले प्राथमिकता पाएको बेलामा नियुक्त प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरे । जननिर्वाचित सरकारलाई सत्ता तोकिएको समयमा हस्तान्तरण गर्न पूर्णतः सफल प्रधानमन्त्री बने । आफू निर्वाचनमा पराजित भएर पनि प्रजातन्त्रलाई विजयी बनाए । यो उनको वाक्पटुता, सादगी र अध्ययन कुशलताको प्रतिफल हो । संविधान निर्माण र निर्वाचनलाई कुशलतापूर्वक निर्दिष्ट समयमा सम्पन्न गरेकाले कृष्णप्रसाद भट्टराई अहिलेसम्मका एक्ला सफल प्रधानमन्त्री हुन् ।
प्रधानमन्त्रीको मुख्य योग्यता र कार्यक्षमताको मूल्यांकन निष्पक्ष, इमानदारी, उच्च चारित्रिक बल, समानता, समभाव, कूटनीतिक क्षमता, शालीनता र नैतिकताको कसीमा जाँचिन्छ । प्रधानमन्त्रीका प्रत्येक वाक्यमा मात्रै होइन शब्द-शब्दमा शालीन, स्पष्टता, विज्ञ, विशेषज्ञता, विद्वता, निष्पक्ष, इमानदारी र कपटशून्यता झल्कनुपर्दछ । के त्यस्तो योग्यता भएको प्रधानमन्त्री नेपालले पाएको छ ? कसैलाई काखा र कसैलाई पाखा प्रधानमन्त्रीको शब्दले, व्यवहारले, निर्णयले, हाउभाउसमेतले गर्न पाइँदैन र गर्नु हुँदैन । कसैलाई लाञ्छित, उपेक्षित, अपमानित गर्ने शब्दहरूको प्रयोग राज्य सञ्चालनको जिम्मेवारीमा हुनेहरूको अयोग्यता हो ।
खासगरी प्रधानमन्त्रीको काम व्यवहार, बोली आदिले कसैलाई घोच्ने, होच्याउने, बिझाउने, चिढ्याउने, खिसीटिउरी गर्ने विषयको कल्पनासम्म गर्न सकिन्न । यो कोणबाट मूल्यांकन गर्ने हो भने बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्थाका कुनै पनि प्रधानमन्त्रीहरूमा यो गुण देखिँदैन । अयोग्यलाई प्रधानमन्त्री बनाउने अनि हामी विकास र समृद्धि खोज्ने ? के यो सम्भव हुन्छ ? आफ्नो पालामा राम्रो काम गरेको दाबी गर्ने कुनै पनि प्रधानमन्त्रीका भ्रष्टाचार, अनियमितता, नातावाद जस्ता लाञ्छनाले एकआध राम्रा कामलाई परिवार मोह, गुट मोह र पार्टी मोहले ढाकेका कारण यो कालखण्डमा भएका सबै प्रधानमन्त्री र सरकारहरू असफल प्रमाणित भएका छन् ।
छानबिन गर्ने, कारबाही गर्ने हिम्मत भएको व्यक्ति प्रधानमन्त्री भएको भए अहिलेसम्मका सबै पूर्वप्रधानमन्त्रीहरू जेलमा हुन्थे । खास गरी २०७२ को संविधानपछि बनेका सरकारमध्ये खड्गप्रसाद ओलीको पहिलो सरकार बहुमतको मात्रै होइन दुईतिहाइकै थियो । बहुदलीय व्यवस्थापछि गिरिजाप्रसादको नेतृत्वमा बनेको बहुमतको सरकार र गणतान्त्रिक संविधानपछि ओलीको नेतृत्वमा बनेका सरकारबाट देशको र जनताको भविष्य उज्ज्वल हुने विश्वास आमनेपालीमा थियो । त्यस्तै २०६२/०६३ को आन्दोलनपछि संविधानसभाको निर्वाचनमा प्रचण्ड बहुमतमा रहेको पुष्पकमल दाहालको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने मुख्य योजनालाई अलपत्र पार्दै प्रधानसेनापति र पशुपतिका पुजारीको फेरबदलमा लाग्दा आफ्नो लक्ष र गन्तव्यसमेतलाई बिर्सियो ।
प्रधानमन्त्री पुष्पकमलकै अक्षमता, अकर्मण्यताका कारण संविधानसभाको निर्वाचन गर्न निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराईसमेत असफल भए । इतिहासमै जनप्रतिनिधिहरू अक्षम हुन्छन् भन्ने नजीर बन्यो । परिणामस्वरूप सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई निर्वाचन सम्पन गर्ने जिम्मेवारी दिने निर्णयले जनताका प्रतिनिधिहरू चुनौतीपूर्ण कामका लागि सक्षम हुँदैनन्/छैनन् भन्ने नजीरका कारण सबैको अक्षमता र अकर्मण्यताको एकमुष्ठ प्रमाणको रूपमा इतिहासमा कैद भएको घटनालाई दुर्भाग्यपूर्ण भन्नुपर्छ । यस घटनाले जनप्रतिनिधिको कद घटेको छ ।
राजनीतिक परिवर्तन र संवैधानिक नयाँ परिस्थितिप्रति जनता आशावादी मात्रै थिएनन् विश्वस्त थिए । त्यो विश्वासघात गर्ने गिरिजाप्रसाद, पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीहरू नेपाली जनताको मूल्यांकनमा कालोसूचीमा दर्ता भएका पात्र हुन् । अझ भन्नुपर्दा कालोसूचीका हकदार शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम र झलनाथ खनाललगायतको नाम उल्लेख नगर्दा उनीहरूप्रति अन्याय हुन्छ । गिरिजाप्रसादले भने माओवादी हिंसात्मक द्वन्द्वले आक्रान्त देशलाई हिंसामुक्त गर्न माओवादीहरूलाई संसदीय खोरमा हाल्न खेलेको नेतृत्वदायी भूमिकाका कारण नेपाली जनताले पतिया दिएका छन् ।
बाँकी पुष्पकमल र खड्गप्रसाद र शेरबहादुर देउवाहरू बारम्बार दोहोरिँदै तेहरिँदै प्रधानमन्त्री हुँदा जनतामा उनीहरूप्रतिको दृष्टिकोण नितान्त नकारात्मक छ भन्ने होस्ले किन काम गर्दैन ? यस परिप्रेक्ष्यमा आमा-आमा बोक्सी भन्छन् नि भन्दा आमाले जस्तो देख्छन् त्यस्तै भन्छन् भनेर स्वीकार गरेजस्तै पुष्पकमल दाहाल, शेरबहादुर र खड्गप्रसाद ओली आदिले पनि बोक्सी आमाले जस्तै आफ्नो कमजोरीलाई स्वीकार गरेर पतिया लिनुपर्छ न कि हामी लोकप्रिय र राम्रो काम गर्नेमध्येका हौं भन्ने भ्रम पालेर बस्नुहुँदैन । अबको सन्दर्भमा शेरबहादुर, पुष्पकमल र खड्ग ओली प्रधानमन्त्री पदका लागि म्याद गुज्रेका औषधि हुन् । यिनै म्याद सक्किएका औषधिहरूको आलोपालो कुर्सीको लेनदेनले नेपाल र नेपालीको भाग्यमा ग्रहण लागेको छ ।
प्रधानमन्त्री ओली केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूको एकमात्र आधिकारिक अभिभावकको जिम्मेवारपूर्ण भूभिका निर्वाह गर्नुपर्ने व्यक्तिले कुनै व्यक्ति र घटनाका विषयमा व्यंग्य, अवहेलना, अनावश्यक टीकाटिप्पणी, गिल्ली गर्ने र आफ्ना भरौटेलाई बालेनका विरुद्धमा वा स्वतन्त्र मेयरहरूका विरुद्धमा गाली गलोच, वक्तव्यबाजी गर्ने गराउने कामले ओलीमात्रै होइन सिंगो एमाले पार्टी नै अलोकप्रिय बनेको छ । मेयर बालेन पनि सच्चिने ठाउँ नै नभएका व्यक्ति पक्कै होइनन् तर प्रधानमन्त्री सच्चिनुपर्ने विषय यत्रतत्र सर्वत्र रहेको विषय यो लेखकको व्यक्तिगत विचार नभएर जनताको निष्कर्ष हो भन्ने विषयलाई समयमै आत्मसात नगरेको खण्डमा एमालेलाई मात्रै होइन कांग्रेस, माओवादी जस्ता ठूला भनिने पार्टीहरूलाई नै निकट भविष्यमा संकटको सामना गर्नुपर्ने हुन्छ । त्यसबखत पुराना पार्टीहरूलाई पछुताउने, सप्रन्छु र सुध्रन्छु भन्ने समयसम्म नमिल्नसक्छ । सबैले समय हुँदै चेत्ने, सच्चिने र सुध्रनुको अर्को उत्तम विकल्प छैन ।
गन्तव्यको नारा प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक समाजवाद, साम्यवाद वा सुखी नेपाली समृद्ध नेपाल, नयाँ नेपाल वा सिंगापुर वा स्वीट्जरल्याण्ड बनाउने भाषणले मात्रै बन्ने विषय होइनन् । कामले योजनाले र कार्यान्वयनले दिने परिणाम हुन् । सत्ता प्राप्त गर्नेहरूमा यो सामान्य ज्ञानले अहिलेसम्म किन धोका दियो ? योजना, कार्यक्रम र कार्यान्वयन पक्ष अत्यन्तै कमजोर हुनेहरूबाट भनिएका यी शब्द निरर्थक प्रमाणित गर्नेलाई इतिहासले पक्कै माफी दिनेछैन् ।
बालेन साह र रवि लामिछानेहरूलाई राजनीतिमा आउन उत्प्रेरित गर्ने र बाध्य पार्ने को ? खड्ग ओली, शेरबहादुर देउवा र पुष्पकमलको कुशासन, भ्रष्टाचार, अनियमितता र भाइ भतिजावादकै उपज हुन् स्वतन्त्रहरू । शासकीय अकर्मण्यता सत्ताधारीले नगरेको भए यिनीहरू जन्मने थिएनन् ।
बालेन साह र रवि लामिछानेलाई राजनीतिमा आउन उत्प्रेरित गर्ने र बाध्य पार्ने को ? खड्ग ओली, शेरबहादुर देउवा र पुष्पकमलहरूको कुशासन, भ्रष्टाचार, अनियमितता र भाइ भतिजावादकै उपज हुन् स्वतन्त्रहरू । शासकीय अकर्मण्यता सत्ताधारीले नगरेको भए यिनीहरू जन्मने नै थिएनन् । जसले जन्मायो उनीहरूबाट जन्मदाता सिद्धिने निश्चित हुँदाहुँदै तिनलाई मार्न नहुने र नपाइने कुरा भ्रष्टाचारका नाइकेहरूले बुझ्नुपर्छ । हिजो सरकार बनाउन र बचाउन रविलाई जोक्करका रूपमा प्रयोग गर्नेहरूले अहिले उसैलाई हकरको उपाधि दिएका छन् । बालेन र रविका कमजोरीको फाइदा लिने होइन ।
कमजोरी नगर्न र सच्याउन उत्प्रेरित र रचनात्मक खबरदारी गर्दै राज्य व्यवस्थापनमा नयाँ चिन्तन र नयाँ ऊर्जालाई देशको विकासमा परिचालन गरेर दिगो विकासको पूर्वाधार सिर्जना गर्ने सक्रिय भूमिका प्रधानमन्त्रीले खेल्नुपर्छ न कि उनीहरूको तेजोबध र बदनाम ? जनमतको परिणामको हिसाबले बालेन र रविहरू साँढे भए । त्यो बनाउने को ? कांग्रेस, एमाले र माओवादीले आफ्ना भोटरहरूलाई किन गुमाए ? हिजोका भोटरहरू कांग्रेस, एमाले र माओवादीसँग आज किन बिच्किए ? यसका कारण सत्ता मोह, भ्रष्टाचार, अनियमितता, भेदभाव, भाइ भतिजावाद आदि हुन् ।
यी दुर्गुणहरूबाट ओली, देउवा र दाहालहरू अविलम्ब सच्चिन र मुक्त हुन केनन् भने बालेन र रविहरूलाई भोलि राजनीतिक मैदान नै सुम्पनुपर्ने बाध्यता सिर्जना नहोला भन्न सकिन्न । ओलीसँग बालेन किन डराउँदैनन् भने उनी महानगरको बजेटलाई जनताको उच्चतम हितमा कसरी परिचालन गर्ने भन्ने चिन्तन गर्छन् । विज्ञ विशेषज्ञहरूबाट सुझाव लिने विषयमा उदार छन् । व्यवहारमै भ्रष्टाचार नगर्ने र हुन नदिने उनको अठोट र रणनीतिले उनी लोकप्रिय छन् । त्यसको ठीकविपरीत ओली असफल प्रधानमन्त्री हुँदाहँुदै पनि आफूलाई सर्वज्ञ ठान्दछन् । जो केही जान्दैन उसले सर्बज्ञ ठान्यो भने के हुन्छ ? भ्रष्टाचार, कुशासन र भाइ भतिजावाद ओली, देउवा र दाहालका कुशासनका मुख्य हतियार हुन् । कुशासनका ती हतियारहरूको सिकार नेपाल र नेपाली कहिलेसम्म हुनुपर्ने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच