महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ । यहाँको घोराही उपमहानगरपालिका-६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहनुभएको छ । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उहाँको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उहाँले भन्नुभयो । आफ्नै खर्चमा गाउँ-गाउँ पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।

घोराही-१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गर्नुभयो । “हामीले दुःखमात्र गरेका छाैं, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।

घोराही-१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताउनुभयो । “घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनाैँ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।”

घोराही-३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताउनुभयो । घोराही उपमहानगरपालिका-९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताउनुभयो । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उहाँले बताउनुभयो । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, “हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।”

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?