
काठमाडौं । पछिल्लो समय च्याउको उत्पादन र बजार दुवै विस्तार हुँदै गएको छ । कम लगानीमा बढीभन्दा बढी आम्दानी लिन सकिने भएकाले पनि किसानमात्रै नभई कर्पोरेट हाउसहरूसमेत च्याउ व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । विगतमा आयातमा निर्भर नेपाल क्रमिकरूपमा आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । तथापि सरकारको स्पष्ट नीति नहुँदा अपेक्षाअनुसार च्याउको विकास विस्तार र प्रवद्र्धन भने हुन सकिरहेको छैन । च्याउ खेती आर्थिक र रोजगारीको दृष्टिकोणले अपार सम्भावना बोकेको कृषि व्यवसाय हो । अनुकूल भौगोलिक विविधताका कारण नेपालमा बाह्रै महिना यसको खेती गर्न सकिन्छ । अन्य नगदेबाली जस्तो धेरै जग्गा नचाहिने र छोटो अवधिभित्रै प्रतिफल प्राप्त गर्न सकिने नाफामुखी कृषि व्यवसाय भएकाले च्याउले गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ तर पनि च्याउ सरकारको खासै प्राथमिकतामा रहेको देखिँदैन ।
संघका अनुसार हाल कन्य च्याउ दैनिक उत्पादन ५० हजार केजी, गोलो च्याउ १० हजार केजी, राजा च्याउ एक हजार केजी, सिताके करिब आठ सय केजी र अन्यको उत्पादन दैनिक पाँच सय केजी रहेको छ ।
च्याउ अति नै पोषिलो र स्वास्थ्यवद्र्धक खाद्यवस्तु भएकाले विश्वबजारमा यसको माग अत्यधिक रहेको छ । नेपालमा धेरै जातका च्याउहरू पाइन्छन् तर यसको अध्ययन अनुसन्धान र विकास भने हुन सकेको छैन । नेपालमा बहुमूल्य जातका च्याउको उत्पादन र निर्यातको प्रचुर सम्भावना हुदाँहुदै पनि सरकारले चासो नदिएकाले नेपाल र नेपाली किसान च्याउका सम्भावित अवसरहरूबाड वञ्चित हुनुपरिरहेको छ । फ्रेस च्याउको आयात घटे पनि च्याउजन्य उत्पादन ठूलो परिमाणमा आयात भइरहेको छ ।
मासु, फलफूल र तरकारीमा भन्दा बढी तत्व
विभिन्न अध्ययनअनुसार च्याउमा प्रोटिनको मात्रा मासु र माछाभन्दा कम तथा धेरैजसो तरकारी तथा फलफूलभन्दा बढी पाइन्छ । शरीरलाई नभइनहुने नौवटा अत्यावश्यक अमिनो अम्लहरू कुनै पनि एउटै प्राकृतिक स्रोतमा हुँदैनन् तर यी सबै अत्यावश्यक अमिनो अम्ल च्याउमा पाइएको छ । च्याउमा पाइने प्रोटिन पचाउन पनि धेरै सजिलो हुन्छ, अन्य गेडागुडी र मासुको प्रोटिन पचाउन नसक्ने बालबालिका र वृद्धवृद्धाहरूका लागि त च्याउ झन् उपयोगी मानिन्छ । प्रोटिनबाहेक च्याउमा विभिन्न भिटामिन तथा खनिज तत्वहरू पनि पाइन्छन् । च्याउमा भिटामिन बी कम्प्लेक्स तथा भिटामिन सी पर्याप्तमात्रामा पाइन्छ । फोलिक एसिड तथा भिटामिन बी १२ जस्ता गर्भवती तथा दूध खुवाउने महिलालाई अति आवश्यक पोषक तत्वहरू सामान्य तरकारी सबैमा पाइँदैन तर च्याउमा एकसाथ पाइन्छ । फस्फोरस, सोडियम तथा पोटासियमजस्ता खनिज तत्वहरू पनि च्याउमा प्रशस्त मात्रामा पाइन्छ ।
व्यावसायिक कीट विकास केन्द्रद्वारा प्रकाशित च्याउ खेती प्रविधि पुस्तिकाअनुसार च्याउमा उच्च पोटासियम, सोडियम पाइन्छ, जुन ब्लडप्रेसरका बिरामीका लागि आवश्यक हुन्छ । च्याउमा सक्खर तथा बोसोको मात्रा धेरै कम हुने तथा कोलेस्टेरोलरहित भएकाले च्याउ मधुमेहका बिरामीका लागि अत्यन्तै फाइदाजनक मानिन्छ । च्याउमा रेशादार पदार्थसमेत बढी हुने भएकाले कब्जियतबाट बचाउनुका साथै दैनिक च्याउ खाने व्यक्तिलाई क्यान्सर रोग लाग्न नसक्ने स्वास्थ्यकर्मीको दाबी छ । त्यसैगरी च्याउले मानव शरीरका कोषहरूलाई चाँडो बुढो हुनबाट बचाउनुका साथै कोलेस्टेरोल घटाउँछ, जसको कारण हृदयाघात, पक्षाघातजस्ता समस्याबाट जोगाउँछ । शरीरमा अनावश्यक गिर्खा आउनबाट रोक्छ भने रुघाखोकी निरोधक क्षमताका साथै हाड रोगको रोकथाममा पनि सहयोग गर्छ ।
सम्भावना र चुनौती
च्याउ खेती आर्थिक र रोजगारीको दृष्टिकोणले अपार सम्भावना बोकेको एउटा कृषि व्यवसाय हो । अनुकूल भौगोलिक विविधताका कारण नेपालमा बाह्रै महिना च्याउ खेती गर्न सकिन्छ । अन्य नगदेबालीजस्तो धेरै जग्गा नचाहिने र छोटो अवधिभित्रै प्रतिफल प्राप्त गर्न सकिने नाफामुखी कृषि व्यवसाय भएकाले च्याउले गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
पछिल्लो समय स्वदेशी तथा विदेशी बजारमा च्याउको माग बढ्दै गएको छ । उन्नत प्रविधि विकास र च्याउको प्रजातीय विकासका कारण च्याउको व्यावसायिकीकरण बढ्दै गएको छ । पौष्टिक खाद्यतत्व उपलब्धताका कारण च्याउ खाद्य तथा पोषण सुरक्षाको बलियो आधार पनि मानिन्छ । स्थानीय स्रोत र साधनको सदुपयोग गरी च्याउ उत्पादन गर्न सकिन्छ । च्याउ प्रशोधन गरी विभिन्न परिकार बनाएर लामो समयसम्म भण्डारण तथा उपयोग गर्न सकिन्छ ।
त्यसो त खुला सिमानाका कारण भारतीय च्याउको प्रवेशले नेपाली च्याउले राम्रो मूल्य पाउन सकेको छैन । तथापि पछिल्लो समय नेपाली च्याउले भारतीय च्याउलाई विस्थापित गर्दै गएको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्की बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन् भने वार्षिक करिब १५ अर्ब रुपैयाँ बराबरको च्याउ कारोबार हुने गरेको छ । हाल कन्य च्याउको दैनिक उत्पादन ५० हजार केजी, गोलो च्याउ १० हजार केजी, राजा च्याउ एक हजार केजी, सिताके करिब आठ सय केजी र अन्यको उत्पादन दैनिक पाँच सय केजी रहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा ताजा गोभ्रे च्याउ तीन लाख १७ हजार नौ सय ३३ केजी आयात भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा घटेर ८२ हजार तीन सय १० केजीमा झरेको छ ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ताजा गोभ्रे च्याउ तीन लाख १७ हजार नौ सय ३३ केजी आयात भएको थियो तर आर्थिक वर्ष २०८०/८१ मा घटेर ८२ हजार तीन सय १० केजीमा झरेको छ । त्यसो त च्याउको धेरैजसो उत्पादन र खपत काठमाडौंलगायतका शहरी क्षेत्रमा मात्रै रहेको पाइएको छ । ग्रामीण क्षेत्रमा च्याउको खासै प्रवद्र्धन हुन सकेको छैन ।
तर, व्यावसायिक कीट विकास केन्द्र प्रमुख डा. सावित्री बराल भने सरकारले विगत वर्षहरूमा च्याउ प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरेकै कारण अहिले च्याउमा उपभोक्ता र उत्पादकमा जागरण ल्याएको बताउनुहुन्छ । उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘विगतमा केन्द्रमार्फत् सरकारले च्याउको प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । सोही कारण पछिल्लो समय सर्वसाधारणमा पनि च्याउ खानुपर्ने रहेछ भन्ने धारणा बन्दै गएको छ । विगतमा च्याउ खानै हुँदैन भन्ने जमात पनि अहिले च्याउतर्फ आकर्षित भइरहेको अवस्था छ ।
तथापि संघीयतासँगै सबै काम संघले गर्दैन, नीतिगत काम हुन्छ । तीनवटै सरकारबीच कामको बाँडफाँट भएका छन् ।’ साथै च्याउको राष्ट्रिय स्रोत केन्द्र स्थापनाका लागि खोपासीमा भवनलगायत पूर्वाधार निर्माणको काम सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो । स्रोत केन्द्र स्थापनापछि च्याउ क्षेत्रले गति लिने उहाँको भनाइ थियो । च्याउ खेतीसम्बन्धी दक्ष प्राविधिक जनशक्ति अभाव, बिउ उत्पादक व्यक्ति÷संस्थाहरू र उनीहरूले उत्पादन गरेका च्याउ बिउको गुणस्तरप्रति आम च्याउ उत्पादक कृषक अझै विश्वस्त हुन नसकिरहेको अवस्था, च्याउको बजार मूल्यमा अस्थिरता, च्याउको उपयुक्त बजार प्रविधि र व्यवस्थित बजार सञ्जाल अभाव, च्याउ प्रशोधन प्रविधि अभाव, राष्ट्रियस्तरको सरकारी च्याउ स्रोत केन्द्र र च्याउ नीति अभाव, च्याउ बिउ उत्पादन प्रयोगशालाको गुणस्तर, नियमन अभावलगायतका समस्या रहेको केन्द्रले जनाएको छ ।
विश्व बजारमा च्याउ
जर्मन को-अपरेसनसँगको सहकार्यमा सिप्रेडलगायतका संस्थाले तयार पारेको च्याउ उत्पादन तथा बजारीकरण पुस्तिकाअनुसार च्याउ मानव सभ्यतासँगै खाद्य, पोषण र औषधिका रूपमा प्रयोग हुँदै आएको छ । विगतमा च्याउ एक महत्वपूर्ण र विशिष्ट भोजनका रूपमा उपयोगमा थियो तर पछिल्लो समय व्यावसायिक उत्पादन, प्रविधि विकास र खुला बजारले च्याउको सर्वसुलभ उपलब्धता बढाएसँगै धनी गरिब सबैको पहुँचमा रहेको छ । यसरी १९९० दशकदेखि च्याउको लोकप्रियतासँगै उत्पादन पनि बढेर गएको छ । विश्वमा च्याउको बजार करिब १६.७ अर्ब डलरको अनुमान गरिएको छ । एसिया प्यासिफिक मुलुकहरूले च्याउ उत्पादनमा अग्रस्थान बनाउँदै आएका छन् । जसमा चीनले विश्वकै धेरै अर्थात् ७५ प्रतिशत च्याउ उत्पादन गर्छ भने जापान, भारत, इण्डोनेसिया पनि च्याउ उत्पादनमा अगाडि छन् । विश्वमा च्याउका करिब १४ हजार प्रजातिमध्ये सात हजार जति खानयोग्य मानिएको छ भने झण्डै दुर्ई सय प्रजाति परीक्षण उत्पादन भएकामा ६० प्रजातिका च्याउको व्यावसायिक उत्पादन हुने सम्भावना देखिएको छ ।
नेपालको भौगोलिक एवं जैविक विविधताका कारण च्याउ प्रजातिमा धेरै विविधता पाइए पनि अध्ययन अनुसन्धान हुन सकेको छैन । हालसम्म ११ सय ५० प्रजातिको मात्रै अभिलेखीकरण भएको पाइएको छ । जसमध्ये एक सय ४७ प्रजाति खानयोग्य, सय प्रजाति विषालु र ७० प्रजाति औषधीय गुण भएको पाइएका छन् । तर, व्यावसायिक कीट विकास केन्द्रका अनुसार नेपालमा पाइएका च्याउमध्ये एक सय ७० प्रजाति खानयोग्य छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच