
काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही पुस २१ र २२ गते बस्दै छ । केन्द्रीय समिति बैठक स्थलको टुंगो लागिसकेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्ने तय गरिएको छ । माओवादीको केन्द्रीय समिति जम्बो आकारको भएकाले बैठकका लागि पार्टी प्यालेस रोजेको हो । केन्द्रीय समिति बैठकमा ८२५ जना सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । माओवादीमा पूर्ण केन्द्रीय सदस्य ४०९, वैकल्पिक केन्द्रीय सदस्य २०५, केन्द्रीय आयोगका पदाधिकारी ७५ र प्रदेश समितिका पदाधिकारी १२५ जना छन् ।
केन्द्रीय समिति बैठकअघि माओवादी केन्द्रले यही पुस १८ गते स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति बैठकले केन्द्रीय समितिका एजेण्डाबारे थप निर्णय गर्ने बताइएको छ । बैठकमा राजनीतिक प्रतिवेदनसमेत पेस गरिनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन लेखनमा लाग्नुभएको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प्रचण्डले पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिका लगायतको विषय समेट्ने बताइएको छ । पार्टी उपमहासचिव जनार्दन शर्मा प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारीमा हुनुहुन्छ । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो । यस्तै, माओवादीले यही केन्द्रीय समितिको बैठकबाट पार्टी एकताको विषयमा पनि निर्णय गर्ने तयारी गरेको छ । माओवादीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकताको तयारी गरेको छ । यस्तै, विचार मिल्ने शक्तिहरूसँगको पनि एकता र सहकार्यको प्रयास गर्ने नीति लिएको छ । यही केन्द्रीय समितिको बैठकले पूर्व–उपराष्ट्रपति नन्दबहादुर पुन र लुम्बिनी प्रदेशका पूर्वप्रमुख अमिक शेरचनलाई उपाध्यक्षमा मनोनीत गर्दै आगामी महाधिवेशनको बारेमा पनि बैठकले निर्णय गर्ने नेताहरूले बताएका छन् ।
लामो समयको अन्तरालपछि बस्न लागेको माओवादीको केन्द्रीय समिति बैठकले आगामी महाधिवेशन, विभिन्न पार्टीसँगको एकता, प्रमुख प्रतिपक्षीका रूपमा आगामी दिनमा लिने नीति लगायतका विषयमा छलफल गरेर निर्णय लिने बताइएको छ । आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । केन्द्रीय समिति बैठकअघि माओवादीले सबै प्रदेशस्तरीय परामर्श बैठक गरिसकेको छ ।
लामो सत्ता यात्रामा रहेको माओवादी अहिले प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छ । ०८४ सम्म प्रमुख प्रतिपक्षको जिम्मेवारीमा बसेर पार्टीलाई ०६४ को अवस्थामा फर्काउने संकल्पसहित जनतामा जाने माओवादीको तयारी छ । हालै भएको स्थानीय तहको उपनिर्वाचनबाट उत्साहित माओवादीले कांग्रेस र एमाले भ्रष्टाचारी जोगाउन मिलेको भन्दै तल्लो तहसम्म खबरदारी सभा पनि गर्दै आइरहेको छ ।
जालझेलबाहेक ओलीको दिमागमा अरू केही छैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । सोमबार प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेलबाहेक उहाँ (केपी ओली)को दिमागमा अरू केही छैन ।’ यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका प्रचण्ड र ओलीबीच पछिल्लोपटक कांग्रेससँगको सत्ता सहकार्यपछि सम्बन्ध निकै तीक्ततापूर्ण छ ।
गिरिबन्धु फाइल खोलेरै छोड्ने चेतावनी
अध्यक्ष प्रचण्डले गिरिबन्धु टी-स्टेट घोटालाको फाइल खोलेरै छाड्ने चेतावनी दिनुभएको छ । प्रचण्डले गिरिबन्धु, यती, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यती, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेरै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई कांग्रेसतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो, तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ ।’
आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्छ : उपमहासचिव पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी प्रस्तुत हुने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । पूर्व-अर्थमन्त्रीसमेत रहनुभएका पुनले माओवादीले पनि विगतमा गल्ती गरेको स्वीकार गर्नुभयो । माओवादी पार्टी पनि टुटफुट र विभाजनको सिकार हुन पुगेको र सत्तामा पुग्दा जनताका कतिपय एजेण्टा छुट्न पुगेकाले स्वीकार गर्दै पुनले भन्नुभयो, ‘माओवादीले आफूलाई पनि सच्याउनुपर्छ, जनताको विश्वास पूरा गर्नुपर्छ, जनताले विश्वास गरेका पनि छन् । माओवादीले विगतका गल्तीबाट पाठ सिक्नुपर्दछ । विगतमा संविधान र शान्ति प्रक्रियाका काम गर्नका लागि कांग्रेस-एमालेसँग मिल्नुपर्ने हाम्रो बाध्यता थियो । तर, अहिले उनीहरूलाई यो परिवर्तन मन परेको छैन । उनीहरू पछि फर्कन खोजेका छन् ।’
विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम : उपमहासचिव शर्मा
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम भएको जिकिर गर्नुभएको छ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा शनिबार भएको मतदानबाट ३२ वर्षे उमेर हद लगाउने पक्षले जितेको थियो । सो निर्वाचनको नतिजा घोषणापछि सोमबार सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेख्नुभएको छ, ‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो । यसले झण्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ । पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट–विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच