काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण आगामी माघ १२ गते हुने भएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
२०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५औँ वर्ष हो । सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक पाँचवटा बजाज पल्सरको एन सिरिजमोटर साइकल प्रदान गर्नेछ । जसमा एन २५० दुईवटा र एन १६० तीनवटा मोटरसाइकल छन् । साथै गोल्छाले १२ लाख रुपैयाँ नगद पनि दिने उल्लेख गरेको छ ।
पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो । सो अवसरमा कम्पनीमा निर्देशक अभिमन्यू गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको धारणा राख्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘मञ्चले हरेक अवार्डमा नयाँ नयाँ शैली र प्रविधि अपनाएर अवार्डलाई उच्च स्तरको बनाएको छ । मञ्चसँग सहकार्य गर्न पाउँदा गोल्छा ग्रुप गर्व महसुस गर्छ । जस्तोसुकै आर्थिक परिस्थिति भए पनि गोल्छाले मञ्चसँग सहकार्य गर्दै जानेछ ।’
मञ्चका अध्यक्ष सुबेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिएकोमा गोल्छा ग्रुपको कदमको सराहना गर्नुभयो । यसपटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुबेदीले बताउनुभएको छ ।
यस वर्ष पनि अवार्डमा नौ विधा नै समावेश छ । जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् । यी पाँचजना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।
यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिष्ट अवार्ड विधा रहनेछ । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हृयाम्पर पाउनेछन् । मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट हुनुभएको थियो । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जित्नुभएको थियो । स्पेसल अवार्ड दानबहादुर तामाङ र उहाँकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो । उहाँहरू ब्याडमिण्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुनुहुन्छ ।
पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच