रौतहट । मकर संक्रान्तिको दिन हजारौंले गढीमाई मन्दिरमा दर्शन र पूजा गरेका छन् । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा रहेको गढीमाई मन्दिरमा लागेको मेलाको मुख्य दिन मंगलवार हजारौंले दर्शन र पूजा गरेका हुन् ।
पाँच वर्षमा लाग्ने गढीमाई मेलाको समयमा मंसिर महिनामा कुनै कारणले दर्शन तथा पूजा गर्न नपाएका र बलि चढाउन नपाएकाहरुले मकर संक्रान्तिको दिन गढीमाईको पूजा गर्ने र बलि चढाउने चलन रहेको छ । यस वर्ष मंसिरमा पञ्चवर्षीय गढीमाई मेला लागेको र मेला भर्न नपाएका तथा बलि प्रदान गर्न नपाएकाहरुले मन्दिरमा पुगेर भाकल पूरा गरेका हुन् ।
पञ्चवर्षीय मेलाको वर्ष मकर संक्रान्तिको अवसरमा गढीमाई मन्दिरमा तिनदिने मेला लाग्ने गरेको छ । विभिन्न नाचगान तथा खेलतमासासहित लाग्ने गरेको मेलामा हजारौं दर्शक पुग्ने गरेका छन् । मकर संक्रान्तिका दिन हजारौंले बलि प्रदान गर्ने गरेको छ । गढीमाई मन्दिरको वरिपरि विभिन्न ठाउँमा मंगलवार बिहानैदेखि बलि प्रदान गर्ने काम भइरहेको मेला तथा मञ्च व्यवस्थापन समितिका संयोजक महेश साहले जानकारी गराउनु भएको छ ।
मंगलवार बिहानैदेखि श्रद्धालु दर्शनार्थीको घुइँचो लागेको र कम्तीमा पचास हजारभन्दा बढी दर्शकले सुन्दरपुरस्थित मन्दिरमा गढीमाईको दर्शन तथा पूजा गरेको साहको दाबी छ । साहले भन्नुभयो – कम्तीमा १० हजार बोकाको बलि दिइएको छ । यसै गरी भाकल पूरा गर्न एक सय राँगा पनि भक्तजनहरुले चढाएका छन् ।
मकर संक्रान्तिको दिन मन्दिरमा प्राप्त भएको राँगाको बलि नदिइने र चलनअनुसार राँगाको अलिकति कान मात्र काटिने साहले जानकारी गराउनु भएको छ ।
मन्दिरमा हजारौंले परेवा पनि चढाएका छन् । फूल तथा मिठाई चढाउनेहरु पनि हजारौंको संख्यामा रहेका छन् । विगतका वर्षहरुभन्दा यस वर्ष मकर संक्रान्तिको अवसरमा धेरै श्रद्धालुले गढीमाईको दर्शन र पूजा गरेको मेला समितिको भनाइ छ ।
मेलाको व्यवस्थापनमा सम्भव भएसम्मको ध्यान दिइएको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवले बताउनु भएको छ ।
यसै गरी रौतहटको गढीमाई नगरपालिकाको हर्दिया र धर्मपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र बिर्ता, कटहरिया नगरपालिकाको दुधियाभार र बलिरामपुर, फतुवा विजयपुर नगरपालिकाको बैरगनिया, गुजरा नगरपालिकाको कनकपुर, वृन्दावन नगरपालिकाको धनगढी, दुर्गा भगवती गाउँपालिकाको करबोलमा रहेका गढीमाई मन्दिरमा पनि पूजाअर्चना गरिएको छ । सर्लाही जिल्लाको विभिन्न गढीमाई मन्दिरहरुमा पनि श्रद्धालुहरुले दर्शन र पूजा गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच