नेपाली भूमिबाट मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगे भारतीय तिर्थयात्री

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 8 mins

हुम्ला । झण्डै तीन वर्ष देखि चीनसँग सिमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका कोभिड १९ को संक्रमणका कारण बन्द रहेको छ ।

मानसरोवर कैलाश दर्शनका लागि हिल्सा नाका बन्द रहेपनि नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर-६ को लिमि लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि आज (मङ्गलबार)बाट भारतीय तीर्थयात्री जिल्ला आउन थालेका छन् । हुम्लाको लिमी लाप्चाबाट सहजै मानसरोवर कैलाश तीर्थको दर्शन तथा अवलोक गर्न सकिने भएकाले भारतीय तीर्थयात्रीको टोली आजबाट हुम्ला आउन सुरु गरेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू-भागका रुपमा पनि चिनिँदै आएको हो ।
कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थारु आउन थालेका हुन् । भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडाैँबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेकाछन् भने उनिहरु सिमकोटबाट हिडेर मानसरोवर कैलाश दर्शनका लागि पैदल मार्ग भएर त्यहाँ जाने भएका छन् ।

आज पहिलो दिन ५६ जना भारतीय तीर्थयात्री हुम्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । उनिहरु आजै दर्शनका लागि पैदल भएर लिमि लाप्चा प्रस्थान गर्ने भएका छन् । नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने धार्मिक पर्यटकहरुका लागि नाम्खा गाउँपालिका वडा नम्बर-१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ । काठमाडौँबाट नेपालगंज हुँदै सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो । लेकधिंगामा एक सय जना पर्यटक अट्ने गरी टेण्ट हालेर क्याम्प बनाइएको छ । लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सिमकोटमा भएका १०/१२ वटा बोलेरो जीप बुक गरिएको छ ।

हुम्लाको लिमी उत्कृष्ट गन्तव्यस्थल

कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक तथा बाहिय पर्यटकको उत्कृष्ट गन्तव्यस्थ बनेको छ ।

यसरी पछिल्लो समयमा लिमी उपत्यका कैलाश मानसरोवरको दर्शन गर्न सकिने नेपालको एकमात्र भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रष्ट रुपमा देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलो मिटरको दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेको भन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ ।

यसतर्फको चिनियाँ भूभागमा पुग्दा जुनसुकै क्षेत्रबाट पनि देख्न सकिने यो प्रसिद्ध तीर्थस्थल नेपालतर्फबाट भने यसै स्थानबाट मात्र सहज दर्शन गर्न सकिन्छ । लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै छन् । यो क्षेत्र पनि पछिल्लो सयममा सहज बन्दै आएको छ ।

कसरी पुग्ने लिमी लाप्चा ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिनजति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खाने कुरालगायतका सामान बोक्नुपर्छ ।

दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजै रूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न सकिने स्थानमा पुग्न सकिने नाम्खाका स्थानीय छेपाल लामाले बताउनुभयो । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ । लामाले भन्नुभयो, ‘‘हामीले सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो ।” नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ ।

कैलाश दर्शनको धार्मिक विश्वास

धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ ।

कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेको हुम्लाका स्थानीय बताउँछन् । पर्यटकीय रुपमा पनि आकर्षक गन्तव्य रहेको मानसरोवरको यहाँको स्थानीय चिनारी भने धार्मिक तीर्थस्थल नै हो । त्यसो त तीर्थयात्रीहरु वर्षैभरी मानसरोवरको यात्राका लागि निस्किने गर्छन् तर त्यसमा पनि मानसरोवर जाने सहज याम भने असार महिना देखि भदौसम्म हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?