कैलाली । कैलालीको धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपीएफले विजयी सुरुवात गरेका छन् ।
मंगलबारबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको खेलमा गण्डकीलाई पराजित गर्दै सुदूरपश्चिमले विजयी बनेको छ भने कर्णालीलाई पराजित गर्दै एपीएफ विजयी भएको हो ।
प्रतियोगिताको उद्धघाटन खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । गण्डकीले दिएको ५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले ९।५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । सुदूरपश्चिमकी रेवती धामी २१ रनमा अविजित रहिन् । यस्तै, शोभा रोकाया ४ रनमा अविजित रहँदा मनिषा बोहराले ९, कविता कुँवरले ८ र कप्तान विन्दु रावलले ६ रनको योगदान दिए ।
गण्डकी प्रदेशकी अपेक्षा बुढाथोकी र आकृति तिवारीले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रनको योगफल तयार पारेको थियो । शीतलहर र हुस्सुका कारण २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो ।
गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रनको योगदान दिए । यसैगरी, निरुता जीटीले ७ रन जोड्दा श्रीया शाहीले ३ र सलिना सेनले २ रन जोड्दा धन क्षेत्री र अपेक्षा बुढाथोकी समान १ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, जानकी थापा र ऋतु कनौजियाले समान १–१ विकेट लिए ।
यस्तै दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई एक सय ११ रनले पराजित गर्दै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ममता चौधरी, इन्दु बर्माको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८१ रनको उच्च योगफल तयार पारेको थियो । चौधरी ७८ रनमा अविजित रहिन् । यस्तै बर्माले ५२ तथा राजमती ऐरीले २२ रन बनाइन् ।
कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् । एक सय ८३ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । उसका लागि दिक्षा पुरीले १७ तथा रमा बुढाथोकी र गौरी बोहराले समान १०÷१० रनको योगदान दिए । एपीएफकी करुणा भण्डारीले ३ तथा रेखा रावल र सुमन बिष्टले १–१ विकेट लिए ।
राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ५ लाख पुरस्कार पाउने छ । दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ३ हजार पुरस्कार दिइने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच