
चितवन । भूमि समस्या समाधान आयोगले चितवनका भूमिहीन सुकुमबासी, भूमिहीन दलीतलाई गरी २६४ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरेको छ ।
आयोगले औपचारिक कार्यक्रमको आयोजना गरी उनीहरुलाई लालपूर्जा वितरण गरेको हो । आयोग बनेपछि चितवनमा पहिलोपटक लालपूर्जा वितरण गरिएको काम सुरु गरिएको हो ।
रत्ननगर वडा नं १२ सालघारीका १२३ परिवार, भरतपुर वडा नं ११ का १२८ र भरतपुर १५ का नौं र भरतपुर २६ का ४ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह भोक्तानले जानकारी दिनुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले चितवनका २६४ घरपरिवारलाई लालपूर्जा हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने भन्दै तीन बर्षमा १० लाख सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने योजना रहेको बताउनु भयो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनु भयो । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताउनुभयो ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको भन्दै तीन वर्षभित्र १० लाख ९७ हजार ६७० जनाको भूमि सम्बन्धी समस्या समाधान गर्नेगरी कार्ययोजना निर्माण गरेको बताउनुभयो । आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि आयोगले तीव्रगतिमा काम गर्ने बताउनुभयो । नेपालभरिका भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई पुर्जा दिने अभियान सञ्चालन गरिएको भन्दै दलको सहमतिमा भूमिहीनको पहिचान गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष इमानसिंह मोक्तानले वार्षिक क्यालेन्डरअनुसार काम गर्ने भन्दै जिल्लामा रहेका १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरुको समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले दुई बर्ष भित्र नगरभित्रका दुई हजार ६४३ परिवारलाई लालपूर्जा वितरण गर्ने बताउनु भयो । ५५ वर्षदेखि बसोबास गर्दै आएका १२३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताउँदै उहाँले अन्य वडाहरुमा पनि लालपूर्जा वितरणको लागि सरकारी पहल गर्ने बताउनु भयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव पाठक, रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दर सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो ।
८१ बर्षको उमेरमा हातका लालपूर्जा
रत्ननगर । रत्ननगरको सालघारी सुकुमबासी बस्तीका सुर्यप्रसाद नेगीको हातमा लालपूर्जा परेपछि खुसीको सिमा रहेन । ४० बर्षदेखि सो सुकुमबासी बस्तीमा बस्दै आएका उहाँ उमेरले ८१ बर्षको हुनुभयो । आफु बसिराखेको जग्गाको लालपूर्जा नहुँदा उठिबास लगाउने हुन की भन्ने चिन्ताले उहाँ झस्किनु हुन्थ्यो । बुढेसकाल लागेपछि आइतबार उहाँको हातमा लालपूर्जा पर्यो । लालपूर्जा पाउने सो बस्तीका १२३ जना मध्ये उहाँ सबै भन्दा उमेरले जेठा हुनुहुन्थ्यो ।
कार्यक्रम सञ्चालन गर्न बनाइएको मञ्चबाट लालपूर्जा लिएर झरेपछि उहाँले बुढेसकालमा हातमा लालपूर्जा पाउना खुसीको सिमा नभएको प्रतिक्रिया दिनुभयो । लालपूर्जा नपाई मरिन्छ की भन्ने लागेको थियो उहाँले भन्नुभयो तर सरकारले हल्लाखल्ला नगरी एक्कासी लालपूर्जा दियो । आफुले लालपूर्जा पाउदा उहाँले सबैसंग खुसी साट्नुभयाे। म मात्र खुसी भएर भएन उहाँले भन्नुभयो सरकारले देशभरीका सुकुमबासीलाई लालपूर्जा वितरण गरोस । बस्तीकी सुन्तली गुरुङले सिरानीमा लालपूर्जा हालेर सुत्ने सपना पुरा भएको बताउनुभयो ।
बस्तीकी अगुवा फुलमाया तामाङले ठुलो संघर्ष पछि सुकुमबासीहरुले लालपूर्जा हात पारेको बताउनुभयो । लालपूर्जाको लागि सडक संघर्ष समेत गर्यौं उहाँले भन्नुभयो यो सरकारले दियो अब सधैका लागि समस्या टर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच