नेपाली कांग्रेस अर्घाखाँचीले ६१ वडामा वडा सम्मेलन गर्दै

अविजित पन्थी
Read Time = 3 mins

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले पार्टी संगठनलाई सशक्त बनाउन जिल्लाका ६१ वटै वडामा एकैसाथ ‘वडा सम्मेलन’ आयोजना गर्ने भएको छ । शनिबार बिहान ११ बजे जिल्लाका छ वटै स्थानीय तहअन्तर्गत पर्ने सबै वडामा एकैसाथ सम्मेलन सुरु गरिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले भन्नुभयो, "रूपान्तरण अभियानअन्तर्गत कांग्रेस संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले यो अभियान थालिएको हो । अब जनताले स्पष्ट रूपमा परिवर्तन चाहेका छन्, त्यसैले कांग्रेसलाई जनअपेक्षाअनुसार नयाँ युगमा लैजान संगठन सुदृढीकरणमा केन्द्रीत हुन आवश्यक छ।"

यस वडा सम्मेलनमा कांग्रेसका जिल्ला तहका नेता, जिल्ला कार्यसमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय तथा नगरस्तरीय नेताहरू प्रतिनिधिका रूपमा खटिएका छन् । नेपाली कांग्रेसका युवा नेता लेखनाथ पोख्रेलले बताउनु भयो, "सबै वडामा प्रतिनिधिहरू पुगिसकेका छन् । स्थानीय नेता तथा कार्यकर्ताहरूमा उच्च उत्साह देखिएको छ, जसले कांग्रेस संगठनलाई थप बलियो बनाउनेछ।"

सन्धिखर्क नगरपालिकाका १२ वडा, भूमिकास्थान नगरपालिकाका १० वडा, शितगंगा नगरपालिकाका १४ वडा, पाणिनी गाउँपालिकाका ८ वडा, छत्रदेव गाउँपालिकाका ८ वडा र मालारानी गाउँपालिकाका ९ वडा गरी जिल्लाका ६१ वडामा एकैसाथ सम्मेलन हुने कांग्रेसले जनाएको छ ।

जिल्ला सचिव अर्जुन आचार्यले भन्नुभयो, "वडा सम्मेलनमार्फत पार्टी संगठनलाई पुनः व्यवस्थित गर्ने, स्थानीयस्तरमा कांग्रेसको उपस्थिति बलियो बनाउने, पार्टी कार्यकर्ताहरूको मनोबल उच्च राख्ने तथा भावी रणनीति बनाउने विषयमा छलफल हुनेछ।"

स्थानीय नेता तथा कार्यकर्ताहरूले यस कार्यक्रमलाई ऐतिहासिक अवसरको रूपमा लिएको बताएका छन्। पार्टीका वरिष्ठ नेता गोपाल पन्थीले बताउनु भयो, "कांग्रेसको संगठनात्मक संरचना बलियो बनाउन, क्रियाशील सदस्यहरूको भूमिका स्पष्ट पार्न तथा स्थानीयस्तरमा नेतृत्व विकास गर्न वडा सम्मेलन महत्वपूर्ण हुनेछ।"

स्थानीय तहसम्म जनताको अभिमत बुझ्न, कांग्रेसको नीति-कार्यक्रम प्रचारप्रसार गर्न र संगठनलाई झन् बलियो बनाउन यो अभियान प्रभावकारी हुने विश्वास कांग्रेसका नेताहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?