
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले धार्मिक यात्रालाई तीव्रता दिनुभएको छ । पछिल्लो समय पोखरामा एक महिना बिताएर धार्मिक तथा राजनीतिक गतिविधिमा समय बिताउनुभएका पूर्वराजा अहिले पुर्ख्यौली गोरखामा व्यस्त रहनुभएको छ । सतही रूपमा धार्मिक यात्रा देखिए पनि पूर्वराजा शाह आफ्नो मिसनमा निरन्तर लागिरहनु भएको निकट स्रोतको दाबी छ । राजतन्त्रविरोधी शक्तिहरूले भने पूर्वराजाको पछिल्लो सक्रियतालाई धार्मिक यात्राको आवरणमा समर्थक बटुल्ने प्रयासको रूपमा अर्थ लगाएका छन् ।
पूर्वराजा शाह मुलुकमा गणतन्त्र स्थापनापछि पहिलोपटक पुख्र्यौली थलो गोरखा पुग्नुभएको हो । शनिबार गोरखा पुग्नुभएका शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । शाहवंशीय राजाहरूले कुलदेवताका रूपमा पूज्दै आएको गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झण्डै दुई घण्टा बिताउनुभएको थियो । उहाँले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको अवलोकनसमेत गर्नुभएको छ ।
पूर्वराजाका समर्थकले केहीबेर राजसंस्थाका पक्षमा नारा लगाएका थिए । उनीहरूले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल -याली पनि गरेका थिए । शाहलाई गोरखा भ्रमणको व्यवस्थापनका लागि नागरिक समाज गठन गरिएको थियो । नागरिक समाजका सहसंयोजक होमसिंह बस्नेतले भन्नुभयो, ‘शाहवंशीय राजाको कुलदेवता गोरखकाली हो । गोरखकाली, गोरखनाथ र वज्रभैरवको पूजाका लागि उहाँ आउनुभएको हो । पूजाअर्चना गरेर उहाँ फर्कनुभयो ।’
गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशीर्वादले तत्कालीन राजाहरूले युद्ध जितेको बताइन्छ । इतिहासहरूमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ । गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुनेछ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ । पूर्वराजा शाहले आज (आइतबार) मनकामना मन्दिरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।
केही गर्न कोही डराउन पर्दैन:पूर्वराजा शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताउनुभएको छ । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराजा शाहले कसैले कसैको पनि कुभलो चिताउन नहुने उल्लेख गर्दै भन्नुभयो, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’
यस्तै, उहाँले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभएको छ । पूर्वराजा शाहले भन्नुभयो, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो । सबैलाई भेट्दा पनि खुसी लागेको छ ।’
राजावादीले फोटो प्रयोग गर्दा योगी आदित्यनाथ मौन
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री एवं भाजपा नेता योगी आदित्यनाथले नेपालमा भइरहेको धर्मान्तरणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल–भारत सम्बन्ध बिथोल्ने प्रयास भइरहेको भन्दै असन्तुष्टिसमेत जनाउनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत नेपालका नेताहरूसँग उत्तर प्रदेश (युपी) को बलरामपुर जिल्लाको माँ पाटेश्वरी मन्दिर तुलसीपुरमा भएको भेटमा योगीले नेपालमा भइरहेको तीव्र धर्मान्तरणको बारेमा चासो व्यक्त गर्नुभएको मधेस प्रदेशका मुख्यमन्त्री सिंहले जानकारी दिनुभएको हो ।
फागुन २५ गते काठमाडौंमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शनमा आफ्नो तस्वीर राखिएको बारेमा आदित्यनाथ मौन बस्नुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा गरिएको स्वागतमा योगीको तस्वीर राखिएपछि नेकपा एमालेलगायत गणतन्त्र पक्षधर पार्टी तथा नेताहरूले आलोचना गरिरहेका छन् ।
राजतन्त्र भूत हो, भूत भ्रम हो : डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुक अब पुरानै व्यवस्थामा फर्कने भन्ने कुरा भ्रम रहेको टिप्पणी गर्नुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा डा.भट्टराईले लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक रहेको समेत बताउनुभएको छ ।
अध्यक्ष भट्टराईले राजतन्त्र भूत भएकाले वास्तविकता सम्भावना नभएको जिकिर गर्दै भन्नुभयो, ‘राजतन्त्र भूत हो, भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’
पञ्चायती शासन चलाउने सपना देख्नेहरू अहिले आफैँ द्विविधामा रहेको टिप्पणी गर्दै डा.भट्टराईले भन्नुभयो, ‘तसर्थ, सत्ताको भोकले तिर्खाएका नेताहरूले पनि यो सत्य स्वीकार गर्नुपर्छ । आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो । तर, उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे । त्यसैले जनतालाई शिक्षित नै गराइएन । अहिले जनता पढ्न–लेख्न पाएका छन् । तर, राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो ।’
इतिहास बनेकाहरू टाउको उठाउने प्रयासमा छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने दाबी गर्नुभएको छ । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘वर्तमान सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरिरहेका छन् । यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुःस्साहस गरिरहेका छन् ।
यद्यपि, त्यो टाउको धेरै उठ्नेवाला छैन । आउने १५ गतेसम्म पुग्दा नपुग्दै त्यो त सकिनै हाल्छ ।’ कार्यक्रममा पार्टी उपाध्यक्षसमेत रहनुभएका प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष प्रचण्डको नेतृत्वमा आफूहरू युग परिवर्तनको लागि हिँडिरहेको दाबी गर्नुभयो । मुलुक अहिले भयानक संकटमा रहेको दाबी गर्दै सापकोटाले भन्नुभयो, ‘अहिले भयानक संकट छ, तर संकटभित्र सम्भावना पनि छ । हामीले राजावादीहरूको हौवाले यी सबै कुरा गरिरहेका छैनौँ । त्यसप्रति सचेत हुँदै समाजवादी क्रान्तिमा अघि बढिरहेका छौँ । अहिले राजावादी र ओलीलाई चुनौती दिनेगरी बुद्धिमतापूर्ण ढंगले हाम्रो अध्यक्षले फायर खोलिसक्नु भएको छ । फायर खोल्न नपाउँदै ती प्रतिगमनकारीहरूको हावा खुस्किसकेको छ । ८६ वर्षको उमेरमा केको आन्दोलन ?’
राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुँदा राम्रो : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले तनहुँमा आयोजना गरेको कार्यकर्ता भेटमा उहाँले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै उहाँले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभयो । उहाँले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नुहुने बताउनुभयो । महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको दाबी गर्नुभयो ।
आफ्नो सीमा बुझ्न निधिको पूर्वराजा शाहलाई सुझाव
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राजतन्त्र अब नफर्किने बताउनुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भए पनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताउनुभयो ।
उहाँले अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्ने कुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताउनुभयो । उहाँले राजतन्त्र अस्वीकृत भइसकेको बताउनुभयो । उहाँले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताउनुभयो । गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने उहाँको जिकिर थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच