
रोएर बस्नुभन्दा गीत गाउनु राम्रो
गिरिजाप्रसाद कोइराला र सुशील कोइराला यस धराधामबाट गएपछि नेपाली कांग्रेस एक पाखे, एक पक्षे भएर आफ्नै प्रकारका कमाउ र गठबन्धने धन्दामा लागेर विवेक र तर्कभन्दा आफ्नै आन्तरिक छुवाछूतका परिवर्जन प्रक्रियामा लाग्नलागेको आभास पाइन थालेपछि म विश्वविद्यालयबाट पनि उमेरका कारणले निवृत्त भएर घर फर्केका बेला अब म पनि कांग्रेस मन पराउँछु भन्न लाज लाग्ने अवस्था कांग्रेसका नेतृत्वले सिर्जना गरेकाले केही लेखपढ गर्ने भनेर बसेको पनि पाँच/छ वर्ष भएछन् । आर्थिक अपचलनका सही झुट्टा खबर, पुराना योगदान पु¥याएका कांग्रेसीजनलाई कारबाही, रूखमा भोट हाल्न नपाउने केन्द्रीय प्रतिबन्धका कारणले मतदाताको स्वतन्त्र छनोटको अधिकार पनि बाधित भएपछि र नेतापुत्रहरू कसैलाई हराउने र कसैका पक्षमा पृष्ठपोषक बनेर उभिने गरेको देखेपछि मेरा विवेकले दलका पछि लाग्नुभन्दा लेखपढतिर लाग्न मलाई अभिप्रेरित गरेको हो ।
कांग्रेस र विश्वविद्यालयले मलाई बेलाबेला गर्न लाएका कामकाले देशका अधिकांश भागमा मेरा पाइला परेका हुन् । अब विश्वविद्यालयबाट अवकाशित र कांग्रेस आफ्नै सीमामा आबद्ध रहन लागेपछिको करिब आठ वर्षपछि २०८१ साल चैत गते आठ गते म एउटा कांग्रेसी सभामा गएँ । त्यहाँ सुनेका कुराले मलाई निकै निराश बनायो । नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्वबाट अवसर पाएर देशको पटक–पटक मन्त्री बनेका एकजना मित्रको भनाइ दलीय संगठनको स्वास्थ्यका दृष्टिले निकै सोचनीय रहेको मैले बुझेँ उनले यस्तै बताए ।
नेपाली कांग्रेसमा नैतिकता हराउँदै गएको छ । पार्टीको विधान पालन गरिएको छैन । सबै लागेर पहिला त पार्टीलाई सबै जनताले विश्वास गर्न लायक बनाउन आफैंमा एक हुनुपर्दछ । जित्नेले विवेकपूर्ण काम गर्ने हार्नेले जित्नेलाई रचनात्मक सहयोग गर्ने गर्नैपर्छ ।
अर्का नेपाल विद्यार्थी संघको केन्द्रीय नेतृत्व सम्हालेका तर परिस्थिति र नेकाका नेताका अविवेकको पटकपटक झापड लागेर आहत हुन विवश नेताको हिजै हिसाब बिग्रेको र अब सही बोल्न, संगठनमा लाग्न र विधिको पालनका निमित्त केन्द्रीय नेतृत्वलाई दबाब दिएर पनि बेलामा महाधिवेशन गर्ने, बेलामा सदस्यता नवीकरण गराउने र बेलैदेखि क्रियाशील सदस्यता वितरण गराउने पद्धतिलाई नियमित नगराउने हो भने तपाईंहरूको पनि अब हिसाब बिग्रने निश्चित छ भनेको सुन्दा एक प्रकारले म जंगली युगकै समाजमा रहेछु भन्ने बोध गरेँ । अर्को मनले रोएर बस्नुभन्दा गीत गाएर बस्नु राम्रो भन्ने लोकोक्ति पनि सम्झेँ ।
आफूभित्रको डर नै तिम्रो शत्रु हो
अर्का निकै बौद्धिक मानिएका दल र सरकारमा पनि बेलाबेला अवसर भेटेका नेताको कुरालाई सुनेर प्रत्यक्ष किसिमले भन्नुपर्दा दलको चुनाव हारेका कारणले सरकारका तहमा भोग गर्दैगरेको मन्त्रीको पदबाट राजीनामा गरेर उच्च नैतिकता प्रदर्शन गरेका नेताको पनि कुरा सुन्दा कांग्रेस रूप घरका छानाको एक पाखो गठबन्धनका जुइनाले छाड्दा थेगिन नसक्ने भएछ । दलीय रसाइन पुरानिएर इँटालाई सिमेन्ट र बालुवाले छाडेर ठाउँठाउँमा प्वाल परेको भित्तो देखिन थालेछ । घरका वरिपरि उदासे झार तथा सिस्नु उम्रेर मान्छे बस्न छाडेको वर्षौं भए जस्तो देखिन थालेछ । कमाउधन्दा भएका नैतिक अनैतिक कुराको ख्याल नगर्ने मनोवृत्ति मिल्ने तर वैचारिक धार नमिल्नेसँगको गठबन्धनमा केन्द्रीय नेतृत्व लागेकाले देश चलाउने मुख्यमुख्य स्थानमा कतै पनि कांग्रेसको हैसियत नरहेको कुरालाई उनले सुन्दर ढंगले प्रस्तुत गरे ।
यस कार्यक्रमका प्रमुख अतिथिका रूपमा रहेका नेपाली कांग्रेसका वरिष्ठ र अहिले धेरैले आस गरेका कुनै पदमा नपुगेका कुनै प्रकारको कमीकमजोरी जनताले देख्न नपाएका डा.शेखर कोइरालाले भने आफू त्यति निराश नभएको किनभने आफ्नो संगठन, साथीहरू र परिश्रमी जनतामाथिको अदम्य उत्साहपूर्ण विश्वासका कारणले अरू–अरू साथीहरू जस्तो निराश नभएको कुरो गर्दै केही वर्षमै आफूले भनेजस्तो गरी कांग्रेस या सरकार चलाउने अवसर पाए दक्षिण र उत्तरतिरका छिमेकीले गरेका प्रगतिको उदाहरणकै तहमा नभए पनि उद्यमशील देशमा रूपान्तरण गर्न चारवटा क्षेत्रमा हामीले ध्यानकेन्द्रित गर्नुपर्ने हुन्छ भनेको सुन्दा चाहिँ धुक्धुकी निभिसकेको रैनछ भन्ने मलाई लागेको थियो ।
पहिलो त नेपाली कांग्रेसमा नैतिकता हराउँदै गएको छ । पार्टीको विधान पालन गरिएको छैन । हामीले सबै लागेर पहिला त पार्टीलाई सबै जनताले विश्वास गर्न लायक बनाउन हामी आफैंमा एक हुनुपर्दछ । जित्नेले विवेकपूर्ण काम गर्ने हार्नेले जित्नेलाई रचनात्मक सहयोग गर्ने गर्नैपर्छ । म पनि त शेरबहादुरजीसँग लडेर हारेको हुँ । हाम्रो राम्रै छ त मेरो सभापति उहाँ नै हो अर्को त त्यस्तो कुनै उपाय छैन । हामी आफैंमा विभाजित भएर अरूसँग मिल्ने होइन एक्लै बहुमत ल्याउने गरी चुनावमा जान सकिन्छ तर हामी एक चाहिँ हुनैपर्छ भन्ने कुरो उनले गरे ।
यो उनको सोच मलाई राम्रो लाग्यो तर घर बस्नै नहुने गरी भत्केको भए त सेउले झाप्रो बनाउन पनि त जाँगर चलाउनुपर्छ भनेर चाहिँ उनले नभनेको देख्दा मैले गिरिजाप्रसाद, कृष्णप्रसाद र गणेशमानका बेलाको कांग्रेसी ठासठुस पनि सम्झेँ । डरले, लोभले आसले बेलामा नबोल्ने मान्छेका मनका तिनै कुरा उसका शत्रु हुन् । अतः मौकामा सत्य बोल भन्ने सन्देश भने अप्रत्यक्षतया सबै वक्ताले भनेका थिए । मञ्चैमा बसेर सुनिरहँदा यी सबैलाई मैले राजनीतिका बहरमात्र देखेँ परिपक्व र गर्जेर रनवन थर्काउने साँढे बनेका भने देखिन । बीपीका कुरै नगरौं गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादका तुलनामा पनि आँट्न होस्, सुर न सारका यस्तै देखेँ मैले ।
नामर्द रुन्छ, कममर्द भाग्छ र मर्द विजयी बन्छ
नेपाली कांग्रेस अहिले नामर्दका नेतृत्वमा बसेको छ भनौं भने लामो संघर्षबाट खारिएका र बंंंैसमा नेपाल विद्यार्थी संघको नेतृत्वदेखि बेला न कुबेला बाक्लो दाल खाएर पनि विजयी भएका व्यक्तिको सभापतित्वमा कांग्रेस रहेको देखिन्छ । उहाँले केही राम्रा काम पनि गर्नुभएको छ । आफ्ना नजिकका मान्छे जति नै निकम्मा भए पनि मौका पर्नासाथ तिनलाई पनि वैतरणी पार गराउनुभएको छ । यो काम उहाँका राजनीतिक गुरुले पनि गर्नुभएको थियो । त्यसलाई कायम मात्रै राख्नुभएन विकास पनि गर्नुभयो । कामभन्दा द्वेश, हिंसा, हत्या र नचाहिँदो कचिंगल गर्ने वामको पनि गठबन्धन गरेर गधेपच्चिसी पार गराउनुभयो ।
२४० वर्षसम्म नेपाली जनता र नेपालमा विषाक्त वायुप्रवाहक तŒव फेरि सल्बलाउन थालेको देखिन्छ । यो सल्बलाएको पनि त्यत्तिकै होइन जनताले छानेका नेता भन्ने ठानेकाहरू नै कालनेमी बनेर जनता र देशलाई कंगाल बनाउन उद्यत् देखिएका हुनाले हो ।
उस्ता प्रभावशाली प्रभुका नेतृत्वमा कांग्रेस किन रोएर बस्न लागेको होला भनेर सोच्न थालेँ म । विचारभन्दा फाइदा, संगठनभन्दा नसनाता, जातीय या क्षेत्रीवादलाई प्राथमिकता दिने रणनीतिले उहाँ र उहाँका परिवारको चाकडी नगर्ने या नजराना नचढाएर देवताको प्रसाद लिएर सभापति भेट्न जाने सुनको फुल पार्ने मुर्गालाई ‘पार्टी चलाउन द्रव्य चाहिन्छ तपाईं जस्तो विदेशबाट कमाएर आएका व्यक्तिले प्रसाद लिएर आएर हुन्छ ? प्रसादले पार्टी चल्दैन पार्टीको टिकट चाहिन्छ भने...चाहियो भनेपछि विचरा स्वर्णिम नामका चराले गुँड नखोजेर गरुन् के ? जीवनभरि उहाँकै सहयोगी बनेर उभिएका उहाँपछि लगत्तै नेपाल विद्यार्थी संघको अध्यक्ष भएका व्यक्तिले नेकाको सभापति बन्ने इच्छा राख्दा उहाँलाई पनि दलको ढोका बन्द मान्नुपर्ने अवस्था आएछ ।
दलमा उहाँको भन्दा पत्नीको हैहुकुम चलेपछि धेरै विवेकशील मान्छे तर्सन र भाग्न लागेछन् । हुन त उहाँका गुरुले २८ वर्षदेखि दुःखसुखको उकाली ओरालीमा सहयोग गर्दा ऐयासम्म नभनेका एकजना सुयोग्य नेतालाई बिदा दिएर दूधालु गाई ठानेर लोकमान सिंहलाई जलस्रोत सचिव बनाएको घटना पनि मेरा दिमागमा आयो । आज किन–किन मलाई मेरै दिमागसँग रिस उठिरहेको छ । चाहिँदा नचाहिँदा कुरा ल्याएर यसले मलाई पनि घरको न घाटको बनाउने त होइन ? अँ, म भन्न खोज्दै थिएँ, गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसको संगठन गरेका हुनाले बीपीका विचारलाई पृथ्वीमा पेट्रोेल फैले झैँ फैलने सजिलो मार्ग सिर्जना गरेको थयो ।
जगन्नथ आचार्यले पनि किसानको संगठन गरेर सहयोग पु¥याएका थिए । बीपीको चिन्तन, गिरिजाप्रसादको संगठन, सुवर्ण शमशेरको धन, सूर्यप्रसाद उपाध्यायको र कृष्णप्रसाद भट्टराईको बौद्धिक कूटनीति अनि गणेशमान सिंहको अविचलित नेताप्रतिको भक्ति र दर्शनका मूल्यप्रतिको चट्टानी अडानको सम्पृक्तस्वरूप हो नेपाली कांग्रेस । आजका नवागन्तुक पत्नीपुत्रलाई त्यस बलाका ती काला कठोर दिनको मूल्य कसरी थाह होस् । आज त ठूलाकी पत्नी हूँ भनेरै काम चल्छ । यो कुरो बुझेका अलिअलि बालभावमा नै भए पनि भोगेका डा.शशांक कोइराला र डा.शेखर कोइरालासँग नेपाली जनताले आस गर्नु नाजायज पनि होइन ।
हिजो सुदूरबाट शेरबहादुर, मध्यपश्चिमबाट परशुनारायण चौधरी, बलदेव मजगैयाँ र खुमबहादुर खडका जस्ता जनधार, दिमागाधार तथा आचरणको बलियो धरातल भएका मान्छेको सुयोग मिलाएको थियो नेकाले । आजको मधेस प्रदेश भनिएका ठाउँमा रुद्रप्रसाद गिरि, महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला, शेख इदृश, तेजबहादुर अमात्य जस्ता आदर्श व्यक्तिहरू नेपाली कांग्रेसमा थिए र कांग्रेससँग बलियो जनाधार थियो । यस्तो अवस्था देखेका तनहूँले दुई नेता आफैं हराए महका ढुंग्रामा डुबेका झिँगा जसरी । सुदूरपश्चिमका पटकपटक जनताले जिताएर देशको ठूलो मान्छे बनेर नाम राख्ने ठाउँमा पुगेका एकजना स्वनामधन्य चाहिँ पत्नीपुत्र कलत्र र बंैसको आवश्यक्ताका पात्रको सेवक बन्दा नेपाली जनताले घृणा गर्ने मान्छेमा परिणत भए ।
अनि तिनकै आज्ञाकारी बनेर आफ्नै पितापितृव्यले स्थापना गरेको आदर्श पिरामिडलाई छाडेर हराएका अर्का आशालाग्दा व्यक्ति अब भलाद्मी तर शालिग्राम बनेका देखिन पुगे । यतिबेला अलिकति आसलाग्दा क्रियाकलाप, आचरण र बोली–व्यवहार आजका प्रमुख अतिथिले प्रदर्शन गर्न थालेका छन् । तर, उनी पनि गर्जनभन्दा नरममा विश्वास गरेर कांग्रेसी जंगली जनवरको सिकार त बन्दैनन् भनेर मेरा मनमा डर पलायो । अतः यिनले साम, दाम, दण्ड र भेदका नीतिलाई पनि अख्तियार गरेर उच्च स्वरमा शार्दूल गर्जे झैँ गर्जनु आवश्यक छ नेपाली जनताको निराशा समाप्त गर्नका निमित्त ।
उभिएकी छु बालकलाई छातीमा च्यापेर
हो, माधव घिमिरेको ‘पापिनी आमा’ की पात्र पापिनी आमा यसरी नै हुँकार छाडेर बोल्छे आफूलाई पापिनी बनाउने, पापिनी भन्ने र दुत्कार्ने ठूलाठालुका विरुद्ध । नेपाली राजनीतिमा पनि यसैगरी हुँकारेर बोल्ने हैसियत कमाएका छन् आजका प्रमुख अतिथिले । अर्का एकजनालाई नेपाली राजनीतिक वनको एकमात्र सिंहको डमरुका रूपमा सारा नेपाली जनताले श्रद्धा गरे, सम्मान गरे, आस पनि गरे तर उनी शार्दूल बनेर गर्जन सकेनन् मौका पाउँदा पनि । यो कुरो सम्झँदा हामी सबैको मन कुँडिन्छ कुँडिएर के गर्ने ? जसमा जति शक्ति छ त्यति नै गर्दोरहेछ ।
अहिले त्यसै ओडारको अर्को डमरु निक्लेर सिकार खेल्ला जस्तो आस जगाएको छ नेपाली जनताका दिलदिमागमा पनि चारैतिरका सम्भाव्य चरित्रवान जनाधार भएका साथीलाई आफ्ना वरिपरि राखेर दललाई सबै नेपाली र विशेषगरी पीडित, उपेक्षित नेपाली जनताका पक्षमा सिंह गर्जे झैँ गर्जेर सरकारलाई सडकप्रदर्शन होइन जनताका काममा लाग्न विवश बनाएर पार्टीभित्रका सड्यन्त्रकारी जुम्से निर्वाचन नगराएर आजीवन पदमा रही आर्यघाट पनि पदमा नै रहेर जाने चाल बोकेकालाई त्यागेर प्रजातन्त्र अनुकूल बेलामा जनताको आदेश लिन जनतामा जान विवश बनाउन सक्नुपर्दछ ।
यसो गर्न सकेनन् भने जनता अझै निराश बनेर गर्नु÷नगर्नु गर्न पनि लाग्ने सम्भावना देखिएको छ । २४० वर्षसम्म नेपाली जनता र नेपालमा विषाक्त वायुप्रवाहक तŒव फेरि सल्बलाउन थालेको देखिन्छ । यो सल्बलाएको पनि त्यत्तिकै होइन जनताले छानेका नेता भन्ने ठानेकाहरू नै कालनेमी बनेर जनता र देशलाई कंगाल बनाउन उद्यत् देखिएका हुनाले हो । यी चार–पाँच कालनेमीलाई राजनीतिक मञ्चबाट दरकिनार गराए नेपाली राजनीति आफैं परिशुद्ध र शान्त बन्न सक्छ भन्ने चिन्तन गर डा.शेखर ¤ बिलौना होइन वनमा शार्दूल गर्जे झैँ गर्जन थाल । जनता तिम्रै पछि लाग्छन् गर्जन सक्यौ भने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच