
काठमाडौं । २०८१ साल हामीबाट बिदा हुँदैछ । २०८२ साललाई स्वागत गर्न हामी तयार भएर बसेका छौ । यतिबेला विसं २०८१ मा भएका विभिन्न गतिविधि र घटनाक्रमलाई अनेक कोणबाट मूल्यांकन भइरहेको छ । ०८१ को नेपाली रजतपटको सफलताले कलाकर्मीमाझ एक खालको आशा जगाएको छ, उत्साह ल्याएको छ । ०८१ साल नेपाली रजतपटका लागि ऐतिहासिक वर्ष सावित भएको छ । यो वर्ष धेरै चलचित्रले राम्रो व्यापार गर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको रिपोर्टअनुसार स्वदेशी तथा विदेशी फिल्मसहित यसवर्ष नेपाली चलचित्रको बजार दुई अर्ब ७० करोड पुगेको छ । जसमा नेपाली चलचित्रतर्फ ६० फिल्म रिलिज हुँदा ग्रस कलेक्सन एक अर्ब ८० करोड रहृयो ।
बोर्डको तथ्यांकानुसार यसवर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शनमा आएका छन् । यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुंगो लाग्ने गरेकाले अंक तलमाथि हुनसक्ने बोर्डको भनाइ छ ।
यसवर्षको नेपाली बजारको आकार ऐतिहासिक मात्रै नभई अभूतपूर्ण देखिएको छ । पहिलोपटक नेपाली चलचित्र बजारको कमाइमा यो किसिमको उछाल देखिएको हो । नेपाली चलचित्रतर्फ ‘पूर्णबहादुरको सारंगी’ले अत्याधिक कमाइ गर्दा विदेशीतर्फ भने दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ले नेपालमा उच्च व्यापार गर्न सफल भयो ।
हिन्दी चलचित्रको बोलवाल रहने हाम्रा सिनेमाघरमा यसपालि नेपाली चलचित्रलाई दर्शकले माया देखाए । सधैं विदेशी चलचित्रको दबदबा खेपिरहेका स्वदेशी चलचित्रका लागि ‘पूर्णबहादुरको सारंगी’ आशाको किरण बनेर आयोभन्दा अतिशयोक्ति नहोला । नेपाली चलचित्रले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद् र गौरवको कुरा हो ।
यसवर्षको दशैँदेखि सिनेमाघरहरूमा सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरू एकपछि अर्को लोकप्रिय बनिरहे । सिनेमाघरहरूमा देखिएको दर्शकहरूको चापले नेपाली चलचित्रप्रति दर्शकको मोह देखियो । प्रदर्शन भएका चलचित्रहरूले निकै राम्रो कमाइ गरेपछि ती नेपाली चलचित्रबारे व्यापक चर्चा भए । खासगरी चाडपर्व नेपाली चलचित्रका लागि सुखद् देखिएको छ । बडादशैँ र तिहारमा सिनेमा घरसँगै ‘ओभर दि टप’ (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिए । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैँ र तिहारमा उच्च रहृयो । सिनेमाघरहरू नेपाली चलचित्रमय बन्यो दशैँ भने तिहारमा पनि त्यो स्प्रिड कायम रहृयो पछिसम्म ।
दशैँ लक्षित प्रदर्शन गरिएका चलचित्र ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ले बक्स अफिसमा आफ्नो पकड कायम राखे भने ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले त इतिहास नै रच्न सफल भयो । ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कमाइको रेकर्ड राख्न सफल भयो । यो चलचित्र नेपाली सिने क्षेत्रमा व्यापारको नयाँ मानक नै स्थापित गर्न सफल रहृयो ।
सिनेमाघरसँगै ओटिटीमा समेत नयाँ चलचित्र
सिनेमाघरसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन आए । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’लाई ओटिटीमा ल्याउनुभयो । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरुष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरियो । दशैँ तिहारमा सिनेमाघरमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको देखियो ।
चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको उत्साहजनक साथ पायो । दर्शकको साथ पाएसँगै यो चलचित्रको सो थपिए । दर्शकबाट माग बढेपछि चलचित्र हलहरूले बिहानदेखि मध्यरातिसम्म यसको सो उपलब्ध गराए । देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले चलचित्रलाई बिहान ७ बजेदेखि मध्यरातिसम्मको सो दिए । यो चलचित्रले बलिउडका बहुप्रतिक्षित चलचित्रहरू ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ लाई पनि सोमा पछि पार्दै आकर्षक कमाइ गर्दै इतिहास रच्न सफल भयो । चलचित्रले बक्स अफिसमा ल्याएको उछाल पर्वहरू सकिएपछि पनि कायम रहृयो ।
स्वदेशी सिनेमा क्षेत्रको भविश्य राम्रो
हिन्दी चलचित्रको बोलवाल रहने हाम्रा सिनेमाघरमा यसपालि नेपाली चलचित्रलाई दर्शकले माया देखाए । सधैं विदेशी चलचित्रको दबदबा खेपिरहेका स्वदेशी चलचित्रका लागि ‘पूर्णबहादुरको सारंगी’ आशाको किरण बनेर आयो भन्दा अतिशयोक्ति नहोला । नेपाली चलचित्रले लगातार माया पाइरहनु उद्योगका लागि एकदमै सुखद् र गौरवको कुरा हो । ‘१२ गाउँ’ एक्सन फिल्म चलेपछि अब त्यसको लहर आउँछ कि भन्ने थियो । तर, सोसल ड्रामा ‘पूर्णबहादुरको सारंगी’ले एकदमै राम्रो गर्यो । लगातार यसरी, त्यो पनि अलगअलग विधाका चलचित्र चलेको विरलै पाइन्छ । राम्रो कथा र कन्सेप्ट भयो भने जुनसुकै जनराको चलचित्र पनि चल्छ र लगातार आउँदा पनि चल्छ भन्नेसमेत पुष्टि भएको छ । चाडपर्व लक्षित सिनेमापछि आएका चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ले पनि दर्शकको साथ पाउन सफल भए ।
नेपाली चलचित्रको ५९ वर्ष लामो इतिहासमा यो वर्ष सिनेमाघरमा उछाल नै आयो । यो वर्षको दशैँ–तिहारमा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक सिनेमाघरमा आए । पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको व्यावसायिक सफलता तथा सिनेमाघरमा दर्शकको व्यापक उपस्थितिले स्वदेशी सिनेमा क्षेत्रको भविश्य राम्रो भएको सन्देश दिएको छ । नेपाली चलचित्र क्षेत्र व्यावसायिक उद्योगका रूपमा स्थापित हुने आशा जगाएको छ । यसलाई कतिपयले ‘नेपाली सिनेमाको स्वर्णयुग’समेत भनेका छन् ।
वर्षको सुरुवात नै सुखद्
पर्वमा मात्र चलचित्रले दर्शको साथ नपाएर यो वर्षको सुरुवात नै सुखद् रहेको थियो । यो वर्षको सुरुमै प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको सार्वजनिक भएको थियो । यस्तै, चलचित्र ‘मनसरा’, ‘पुजार सार्की’, ‘फर्कीफर्की’, ‘घरज्वाइँ’, ‘खुस्मा’, ‘गाउँ आएको बाटो’, ‘डिग्री माइला’, ‘शाम्बाला’लगायतले पनि निकै चर्चा पाए । व्यावसायिक किसिमका चलचित्र र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर बनेका चलचित्र दुवै चलचित्रहरूले सफलता पाइरहेका छन् ।
नेपाली चलचित्रको बजार विस्तार
त्यसो त अहिले नेपाली चलचित्रको बजार नेपालमात्र नभएर विदेशका धेरै ठाउँमा पुगेको छ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोवास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास बढ्दै छ ।
विशेषतः डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा रिलमार्फत चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । अहिले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । नेपाली चलचित्र अहिले अन्य भाषामा स्वरांकन भएरसमेत विदेशमा प्रदर्शन हुन् थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमै जाँचपास लिने हो भने विश्वभर जहाँबाट पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिने अवस्था छ जुन नेपाली सिनेमाका लागि सुखद् पक्ष हो ।
आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि अहिले चलचित्र हेराइको शैली फेरिएको छ । एउटामात्रै चलचित्र भवनमा भिडभाडका बीचमा चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधा सम्पन्न चलचित्र भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा समेत आधुनिकता देखिएको छ । शहरमात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आइरहेका छन् । पछिल्लो समय अधिकांश नेपाली चलचित्रले बक्स अफिसमा लगातार सफलता पाइरहँदा त्यसको सकारात्मक प्रभाव फिल्मकर्मीमा देखिन थालेको छ । २०८१को नेपाली चलचित्रको उत्साहले वर्ष विसं २०८२ नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन् सकिन्छ ।
बलिउडकालाई विस्थापित गर्दै नेपाली कलाकारलाई हेर्न दर्शकको भिड
नेपाली चलचित्र हेर्न अहिले हलमा पुगेका दर्शकको भिड हेर्दा लाग्छ, अब नेपाली चलचित्रले भोग्दै आएको व्यापारिक शून्यता सकिएको छ । भारतका चर्चित कलाकारका चलचित्रलाई विस्थापित गर्दै नेपाली कलाकारलाई हेर्न दर्शकको भिड जसरी हलमा उर्लिएको छ यसले अब नेपाली चलचित्रमा चुनौती र आशा दुवै थपिदिएको छ ।
यसवर्षको नेपाली बजारको आकार ऐतिहासिक मात्रै नभई अभूतपूर्ण देखिएको छ । पहिलोपटक नेपाली चलचित्र बजारको कमाइमा यो किसिमको उछाल देखिएको हो । यस वर्षको दशैँदेखि सिनेमाघरहरूमा सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरू एकपछि अर्को लोकप्रिय बनिरहे । सिनेमाघरहरूमा देखिएको दर्शकहरूको चापले नेपाली चलचित्रप्रति दर्शकको मोह देखियो ।
नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्छ । नबुझेर चलचित्र बनाउने, मनलाग्दी निर्माण गर्ने, कथावस्तुलाई सस्तो बनाउनेभन्दा पनि वर्षमा कम तर उत्कृष्ट चलचित्र बन्न जरुरी छ । पक्कै पनि नेपाली चलचित्रका दर्शक फर्किएका छन् । तर, यी फर्किएका दर्शकलाई भड्काउने काम भने नगरौँ । बक्स अफिसमा देखिएको उछालले जगाएको आशालाई निभ्न नदिनु यसैसँग सम्बन्धितहरूको जिम्मेवारी हो । २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ । विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा केही नेपाली चलचित्रले विदेशी चलचित्रलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ ।
धेरै कमाउने नेपाली चलचित्र
गत वैशाखदेखि चैत तेस्रो सातासम्म डेढ सय करोडमाथिको व्यापार नेपाली चलचित्रले गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार सबैभन्दा ठूलो योगदान ‘पूर्णबहादुरको सारंगी’को रहृयो । यसले नेपालमा ४६ करोड ८० लाख ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । ‘पूर्णबहादुरको सारंगी’ले ऐतिहासिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाउँदा यस वर्ष दोस्रो धेरै कमाउने नेपाली चलचित्र ‘१२ गाउँ’ बनेको छ । यसको कमाइ झण्डै २० करोड ग्रस छ । तेस्रो नम्बरमा १५ करोड २० लाख ग्रससहित ‘छक्का पञ्जा ५’ छ भने १० करोड ग्रससहित ‘बोक्सीको घर’ चौथो र सात करोड ५० लाख ग्रस व्यापारसहित हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ पाँचौं नम्बरमा छ ।
गत जेठमा प्रदर्शन भएको ‘पूजार सार्की’ पनि यसवर्ष धेरै कमाउने चलचित्रको ‘टप टेन’ सूचीमा पर्छ । चलचित्रको कमाइ सात करोड ३७ लाख ग्रस छ । यसवर्ष पाँच करोडमाथि कमाउनेमा ‘घरज्वाइँ’ छ भने ‘मनसरा’, ‘लाज शरणम्’, ‘ह्रस्व दीर्घ’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फर्की फर्की’ले चार करोडमाथि कमाइ गरेका छन् । त्यस्तै, ‘बेहुली फ्रम मेघौली’ र ‘खुस्मा’को कमाइ तीन करोडमाथि रहेको छ ।
यसवर्ष ‘पूर्णबहादुरको सारंगी’पछि सबैभन्दा धेरै कमाउनेमा विदेशी चलचित्र ‘पुष्पा २’ छ । यसले नेपालमा २६ करोड ४४ लाख ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा देखिन्छ । नेपालमा विदेशी चलचित्रले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो । यसअघि नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको रेकर्ड ‘केजीएफ २’को नाममा थियो, जसको ग्रस कमाइ १९ करोड थियो ।
त्यस्तै, यसवर्ष विदेशीतर्फ नेपालमा दोस्रो धेरै कमाइ गर्ने चलचित्र ‘कल्की’ हो, जसले १२ करोड ५७ लाख ग्रस कमाएको छ । आठ करोड ११ लाख ग्रससहित ‘स्त्री २’ तेस्रो स्थानमा छ भने ‘सिंघम अगेन’ र भूल भूलैयाँ ३’ले चार करोडमाथि कमाइ गरेका छन् ।
५७ लाख ३७ हजार ७३४ जना हलमा पुगे दर्शक
चलचित्र विकास बोर्ड स्रोतका अनुसार ०८१ मा नेपाली चलचित्र ५७ लाख ३७ हजार ७३४ जनाले हेरेका छन् । ५७ लाख ३७ हजार ७३४ टिकट ०८१ मा बिक्री भएको छ । केही दर्शक दोहोर्याएर चलचित्र हेर्न जाने भएकाले यो संख्यामा केही हजार कमी हुनसक्छ । सबैभन्दा धेरै ‘पूर्ण बहादुरको सारंगी’ हेरिएको छ । यो चलचित्र १७ लाख दुई हजार ३० जनाले हेरेको तथ्यांक छ । ५७ लाख ३७ हजार ७३४ टिकट बिक्री हुँदा नेपाली चलचित्रले एक अर्ब ६२ करोड ६३ लाख ९३ हजार ६०२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।
सबैभन्दा कर्म दर्शक ‘शिरफूल’
नेपाली चलचित्र ‘शिरफूल’ विसं २०८१ मा सबैभन्दा थोरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । ०८१ मा रिलिज भएका ६२ वटा नेपाली चलचित्रमध्ये ‘शिरफूल’ले सबैभन्दा थोरै कलेक्सन गरेको हो । सबैभन्दा कम ८९ जनाले ‘शिरफूल’ हेरेका छन् । बोर्डका अनुसार ‘शिरफूल’ले १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘शिरफूल’ साउन १८ गते रिलिज भएको थियो । यो सँगै अर्को नेपाली चलचित्र ‘मोदीबेनी’ सिनेमाघरमा आएको थियो । बलिउड चलचित्र ‘औरों में कहाँ दम था’ र हलिउड मुभी ‘डेडपूल एण्ड वुल्भरिन’ सोही दिन सिनेमाघरमा आएका थिए । कमल एक्चै मगरको निर्देशन रहेको ‘शिरफूल’ सामाजिक कथावस्तु उठान गरेको बनेको चलचित्र थियो । निर्माण भएको लामो समयपछि यो चलचित्र सिनेमाघरमा आएको थियो ।
गीतसंगीत क्षेत्रमा पनि उत्साह
यो वर्ष गीतसंगीत क्षेत्रमा पनि उत्साह थपिएको छ । यो वर्ष धेरै गीतहरू विश्वव्यापी ट्रेन्डिङसम्म पुगे । बाबुकृष्ण परियारको ‘कस्मिरे पछ्यौरी’, ‘रुकुम मैकोट’, दुर्गेशको ‘दुस्मन हेरेको हेर्यै’, सुशान्त केसीको ‘बार्दली’, हेमन्त शर्माको ‘आउँथ्यो दशैँ’ जस्ता गीतल ग्लोबल ट्रेन्डिङमा पर्न सफल भए । यस वर्ष धेरै गीतहरू नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङमा परे ।
धेरै कमाउने टप टेन नेपाली चलचित्र
पूर्णबहादुरको सारंगी- ४६ करोड ८० लाख रुपैयाँ ग्रस
१२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस
छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस
बोक्सीको घर- १० करोड २ लाख ग्रस
अञ्जिला- सात करोड ५० लाख रुपैयाँ ग्रस
पूजार सार्की- सात करोड ३७ लाख रुपैयाँ ग्रस
घरज्वाइँ- पाँच करोड नौ लाख रुपैयाँ ग्रस
फर्की फर्की- चार करोड ८४ लाख रुपैयाँ ग्रस
मनसरा- चार करोड ७८ लाख रुपैयाँ ग्रस
लाज शरणम्- चार करोड ३४ लाख रुपैयाँ ग्रस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच