नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) मतदान हुँदै छ । मुलुकको तेस्रो उपराष्ट्रपति चयनको लागि मतदान हुन लागेको हो । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद् भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले भन्नुभयो, ‘चुनावका लागि मतदान केन्द्र निर्माण, मतपत्रको तयारीलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।’ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान हुनेछ । मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ । हलमा दुईवटा मतपेटिकाको व्यवस्था गरिएको छ । मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । मतदान सकिएलगत्तै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आज साँझ नै सार्वजनिक हुने जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भन्नुभयो, ‘निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार साँझ ६-७ बजेभित्रै परिणाम सार्वजनिक हुन्छ ।’ निर्वाचनमा एउटा मतदान केन्द्रमा सात जनासम्म कर्मचारी खटिनेछन् ।

उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् । प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्मा ३३४ सदस्य छन् । त्यस्तै, सातवटै प्रदेशमा गरी कुल ५५० प्रदेशसभा सदस्यसमेत गर्दा उपराष्ट्रपतिको निर्वाचनमा कुल ८८४ मतदाता छन् । राष्ट्रपतिबाट प्रमाणित भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ । यसअनुसार, संघीय संसद्का कुल ३३४ सदस्यको कुल मतभार (प्रतिसदस्य ७९ का दरले) २६ हजार ३८६ हुन आउँछ । प्रदेशसभाका कुल ५५० सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ४०० हुन आउँछ । यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७८६ हुन आउँछ । त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३९४ मत ल्याउनुपर्छ । नयाँ उपराष्ट्रपतिका लागि चार उम्मेदवार छन् । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला यादवले उम्मेदवारी दिनुभएको छ । तर, उम्मेदवार प्रमिलाले रामसहाय यादवलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।

दुई प्रकारका मतपत्रको व्यवस्था
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । मतपत्रमा उपराष्ट्रपतिका उम्मेदवार चारै जना अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादवको तस्बिर र नाम समावेश गरिएको छ । यद्यपि, प्रमिला कुमारीले उम्मेद्वारी फिर्ता गरेर जसपाकै उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने घोषणा गरिसक्नु भएको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्ने छ ।

उपराष्ट्रपति चुनावअघि दलहरूको बैठक राख्न रोक
उपराष्ट्रपतिको निर्वाचनको मौन अवधिमा दलहरूले आचारसंहिता विपरीतका गतिविधि गर्न थालेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर उपराष्ट्रपतिको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलहरूले बैठक बसेपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आयोगले यस्तो नगर्न सचेतसमेत गराएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइरहेको विज्ञप्तिमार्फत स्मरण गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’ आयोगले मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आग्रह गरेको छ ।

रास्वपाले उपराष्ट्रपति निर्वाचनबारे आज निर्णय गर्ने
उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । पार्टी कार्यालय बसुन्धारामा बिहान साढे ११ बजे बस्ने बैठकले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिने बताइएको छ । राष्ट्रपतिको निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा निर्णय लिनेछ । कांग्रेसले मौन अवधिकै बीचमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट यादवसहित जनमत पार्टीकी ममता झा उम्मेदवार हुनुहुन्छ । झाको उम्मेदवारी निष्क्रिय बनाउने प्रयास भइरहेको छ ।

निजी निवासमा उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपतिको दोस्रो कार्यकाल पूरा गर्दै उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । पुन बिहीबार दिउँसो १ बजे उपराष्ट्रपति भवन लैनचौरबाट चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । नयाँ उपराष्ट्रपति आउनुअघि नै उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति पुन निजी निवासमा सर्नुभएको हो । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय जाने बताइएको छ ।

उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मत नहाल्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गरेर राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था पार्टीको सिद्धान्तविपरीत रहेकाले राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि सहभागी नहुने जानकारी दिनुभएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित कतिपय नेताहरू निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा भए पनि पार्टीका अधिकांश नेताहरूले बहिष्कारको पक्षमा मत राखेपछि राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि अन्सारीको नाम सिफारिस
जनता समाजवादी पार्टी (जसपा) ले रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । बिहीबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक बन्दसूचीका आधारमा अन्सारीको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको हो । यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बन्नुभएकी सांसद शहनाज रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो । जसपाका प्रवक्ता मनीष सुमनले रिक्त भएको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । अन्सारी सप्तरीकी नेता हुनुहुन्छ । बन्दसूचीमा मञ्जुको नाम मुस्लिम महिला क्लष्टरतर्फ दोस्रो नम्बरमा रहेको थियो । जसपाले बिहीबार नाम सिफारिस गरे पनि उपराष्ट्रपति निर्वाचनमा भने मञ्जुले मतदान गर्न पाउनुहुने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?