मौलिक सामग्रीले पाउन छाडे बजार

Read Time = 6 mins

डम्मर बुढा मगर

बागलुङ । केही वर्षअगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै हुने गथ्र्यो । मौलिकतासँग जोडिएका यस्ता सामग्रीहरू अहिले कम प्रयोग हुन थालेका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्रीहरू आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्लोको प्रयोग कम हुन थालेपछि मौलिकतासमेत हराउँदै जान थालेका छन् । वर्षौँदेखि डालो-नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएकाहरू पनि समस्यामा पर्न थालेका छन् । बागलुङको बडिगाडका होमबहादुर थापाले वर्षौँदेखि डालो-नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको छ । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको थापाले बताउनुभयो ।

केही वर्षअगाडिसम्म निकै बिक्री हुने डालोहरू पछिल्लो समय लोकप्रियता कम हुँदै गएको उहाँ बताउनुहुन्छ । बजारमा नयाँ-नयाँ प्रविधिका नापतौलका सामग्रीहरू आएपछि आफूहरूले बुनेका डालो-नाङ्लोले बजार पाउन छाडेको होमबहादुर बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलाका रूपमा प्रयोग हुने मानापाथी आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँ सुनाउनुहुन्छ । ‘हामी सानो-सानो हुँदा केही अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँघरमा उत्पादन हुने परम्परागत मानापाथीको प्रयोग हराउँदै गए,’ थापाले भन्नुभयो, ‘यही हिसाबले हेर्ने हो भने त हाम्रा सीपको प्रयोग हुने ठाउँ विस्तारै लोप हुने हो कि भन्ने लाग्छ ।’

थापाले बाह्रै महिना यही डालो-नाङ्लो बुन्ने काममात्रै गर्नुहुन्न । उहाँले खेतीकिसानी पनि गर्नुहुन्छ । उहाँले डालो-नाङ्लो फुर्सदको समयमा मात्रै बुन्ने गर्नुहुन्छ । पर्याप्तमात्रामा चोया भए दिनमा पाँच/सात वटासम्म बुन्न सकिने उहाँहरूको अनुभव छ । पछिल्लो समय कच्चा पदार्थसमेत अभाव हुन थालेको थापा गुनासो गर्नुहुन्छ ।

‘वर्षैभरि यही बुन्ने काम गर्ने हो भने त धेरै बनाइन्थ्योे होला, खेती पनि गर्नुपर्यो, घरको काम पनि, जसले गर्दा त्यति धेरै समय दिन सकिँदैन, यो त बेलामौका पारेर बुनेको हो,’ थम्मन थापाले भन्नुभयो, ‘आजभोलि त पहिले-पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा पाँच/सातवटा बुन्न सकिन्छ ।’

आफ्नो बाबुबाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवापुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरूको पुस्तापछि परम्परागतरूपमा बुनिँदै आएका डालो-नाङ्लो लोप हुन सक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् । ‘हामी पछिका मान्छेहरूले त अब यस्ता बुन्ने कामहरू त गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ,’ थापाले भन्नुभयो, ‘पछि-पछिका मान्छेले त यो डालो-नाम्लो पनि चिन्दैनन् होला, त्यसबेला बुन्ने मान्छे कोही पनि हुन्न होला ।’

थापा फुर्सदको समयमा डालो बुनेर बेचे पनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । धेरै समय दिन नसके पनि फुर्सदको समयलाई सदुपयोग गरेर थापा डालो-नाङ्लो बुन्ने गरेको बताउनुहुन्छ । यसबाट आफूले आफ्नो घरखर्च चलेको र बालबच्चाको लालनपालन र पठनपाठनमा सहज भएको उहाँ बताउनुहुन्छ । थापाको घरमा छोराछोरी र एक श्रीमती छन् । ‘उही केही गर्न सकिएन, धेरै पढ्न पनि पढिएन, गाउँमा बस्यो, खेतीकिसानी गर्यो, यही डालो-नाङ्लो बुनेर कहिलेकाहीँ बेच्ने गरेको छु, यहीबाट घरखर्च चलेको छ,’ उहाँले भन्नुभयो, ‘व्यावसायिकरूपमा गरेको भए राम्रो हुन्थ्यो होला, त्यसरी व्यवस्थित गर्न पनि सकिएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?