संस्मरण : हजुर बुबाको मृत्यु

हिमालय टाइम्स
Read Time = 20 mins

✍️ वीरेन्द्रबहादुर चन्द

ब्याकुल आठ बजेर पन्ध्र मिनेट जाँदा हजुर बुबाको मृत्यु भयो । यो खबर हामी सबैका लागि हृदयविदारक थियो । असी वर्ष पुगेका हाम्रा हजुर बुबा अचानक बिरामी हुनुभयो । केही महिनाअघि मात्रै उहाँ उपचारको लागि काठमाडौं आउनुभएको थियो र अलि-अलि सञ्चो भएर घर जानुभएको थियो । घर गएपछि उहाँलाई पूरै सञ्चो भयो । घरायसी काममा एकपटक फेरि उहाँ सक्रिय हुन थाल्नुभयो । दाउरा-घाँस बोक्ने, मेला-मन्दिरमा पुग्ने गर्न थाल्नुभयो । सकेसम्म आराम नगर्ने उहाँको पुरानै बानी थियो । यस्तैमा एकदिन अचानक बिरामी पर्नुभयो । निकै गाह्रो भएपछि भोलिपल्ट बुबाको सल्लाहमा स्वास्थ्य चौकी जान सहमत हुनुभयो । छिमेकीहरूले स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लगे । त्यहाँ उपचार सम्भव थिएन ।

केही बेर बसेर पहिले जुस र त्यसपछि रोटी खानुभयो । रोटी खाने इच्छा उहाँले नै व्यक्त गर्नुभएको थियो र अन्त्यमा भोलि बिहानै नजिकको बजार डडेल्धुरा जाने कुरा भयो । स्ट्रेचरमै बसेर घर आउनुभयो र त्यही साँझ बुबाले हामीहरूको हजुर बुबासँग फोनमा कुरा गराउनुभएको थियो । ‘जिरेई बा । नातनी निकी छ ब ।’ मैले सुनेको हजुर बुबाको अन्तिम वाक्य यही हुन पुग्यो । त्यसको केही समयपछि हजुर बुबा स्वर्गीय हुनुभयो । हे भगवान ! त्यस साँझ भाइसँग कुरा गर्दा आँखा रसाएका थिए ।

मैले कामबाट बिदा माग्नुपर्ने भयो र प्रमुखलाई एउटा म्यासेज लेखेर पठाए, अंग्रेजीमा : सर, माई ग्य्राण्डफादर पासअवे फ्यु आवरस् ब्याक, सो आई निड टु टेक एन इमरजेन्सी लिभ । उताबाट प्रश्न आयो : बट हृवाई ?

हजुर बुबाको यस्तो खबर सुनेर हामीहरू सबै गाउँ जाने तयारीमा लाग्यौँ । मैले कामबाट बिदा माग्नुपर्ने भयो र प्रमुखलाई एउटा मेसेज लेखेर पठाए, अंग्रेजीमा : सर, माई ग्य्राण्डफादर पासअवे फ्यु आवरस् ब्याक, सो आई निड टु टेक एन इमरजेन्सी लिभ ।
उताबाट प्रश्न आयो : बट हृवाई ?
यसको उत्तर मसँग थियो पनि र थिएन पनि ।

घरसम्मको यात्रा लामो थियो । परिगाउँ, सर्लाही र काठमाडौंबाट सबैजना घर पुग्दा रातको दस बजिसकेको थियो । हजुर बुबाको पार्थिव शरीर आँगनको छेउमा लमतन्न परेको थियो । बुबा र माइलो बुबासँगै हुनुहुन्थ्यो । हजुरआमा, आमा, अन्य आफन्त र छिमेकीहरू घरभित्र र बाहिर कोही बसेर अनि कोही उभिएर समयको मौनतामा विलीन थिए । त्यहाँ पुग्दा फरक संसारमा पुगेजस्तो लाग्यो । यात्राको थकान कत्ति पनि महसुस भएन । मैले हजुर बुबाको पाइताला स्पर्श गरेँ । ती पाइताला सधैं सधैंका लागि स्पर्श गरिरहुँ जस्तो लाग्यो । त्यसपछि उहाँको अनुहारमा मेरा औंला चलाएँ । त्यस अनुहारको तेजमा कुनै कमी देखिएको थिएन । वातावरण चिसो थियो तर केही सोच्न सकिरहेको थिइनँ । एकछिनपछि फुपूले भाइ र मलाई तातो पानी दिनुभयो र हामी बिस्तारै पानी पिउन थाल्यौँ ।

काकाबाहेक हामी सबैजना पुगिसकेका थियौं । बुबाको इच्छाअनुसार हजुर बुबालाई महाकाली (खाँण) लैजाने तयारी भएको थियो । मध्यराततिर हजुर बुबालाई बाँसमा बाँधियो । अघि अघि पिण्ड र कात्रो (बाट) अनि पछि-पछि हजुर बुबा । यसरी हजुर बुबालाई ट्रयाक्टरसम्म पु¥यायौँ । एउटा ट्रयाक्टरमा दाउरा र अर्कोमा हामीहरू हजुर बुबासँग बस्यौँ । जीपमा आउनुभएका काकाले बीच बाटोमा भेट्नुभयो । त्यसपछिको यात्रा निरन्तर भयो । रातको समयमा चिसो र कच्ची बाटोमा ट्रयाक्टरको कठिन यात्रा बिर्साउने एउटैमात्र कारण थियो-हजुर बुबा ।

हजुर बुबाको जीवन निकै संघर्षमा बित्यो । चौध वर्षको उमेरमा उहाँको आमाको मृत्यु भयो । उहाँको बुबाले दोस्रो बिहे नगरेपछि घरमा दुइटी बहिनी र बुबामात्र रहनुभयो । जेठो छोरो भएका कारण सम्पूर्ण जिम्मेवारी उहाँमा थुपारियो । गाउँमा दुई ठाउँमा बस्नु पथ्र्यो । एउटा घरमा हजुर बुबा र अर्कोमा उहाँको बुबा बस्नुभयो । गुजारा गर्नका लागि भैंसी, गोरु र बाख्रा पाल्नुपथ्र्योे । हजुर बुबाको रुचि भैंसी पालनमा थियो । उहाँले पाल्नु भएका राँगा मेला जात्रामा बलि चढाउन लगिन्थे । त्यहाँ त्यो राँगाको धेरै चर्चा हुन्थ्यो किनकि त्यो अरूभन्दा निकै बलियो, हृस्टपुष्ट र मोटो देखिन्थ्यो । देवतालाई भाकेर हजुर बुबाले धेरै राँगाहरू पाल्नुभयो ।

धर्मकर्ममा उहाँको लगाव उल्लेखनीय थियो । बैतडीको मेलौली मन्दिरमा चन्दादाताहरूको नामावलीमा उहाँको नाम अगाडि नै छ । उहाँले जीवनकालभरि भैंसी पालेर धेरै पटक टिनमा घ्यू बेच्न टनकपुर जानुभएको थियो । त्यहाँबाट नुन, लत्ताकपडा आदिको भारी ल्याई घर चलाउने गर्नुहुन्थ्यो । यसैगरी उहाँले पाल्नुभएको एउटा भैंसीले एक पटक ब्याइसकेपछि लगातार छ वर्षसम्म दूध दिएको रेकर्ड छ । सुन्दा अचम्म लाग्न सक्छ तर हजुर बुबाले त्यस भैंसीको राम्रो चाकरी गर्नुभएको थियो ।

धेरै बुढो भएपछि त्यसलाई कमलो घाँसमात्र दिनुहुन्थ्यो । केही साह्रो घाँस भए थिचेर खुवाउनुहुन्थ्यो । यसरी त्यो भैंसीले छ वर्षभन्दा बढी दूध दिएको थियो र त्यसपछि मरेको थियो । भन्नुहुन्थ्यो, त्यो भैंसी मरेदेखि यसको पनि उद्धार हुन्थ्यो र मेरो पनि । त्यो नै हजुर बुबाको जीवनकालको अन्तिम भैंसी बनेको थियो ।

बन्द आँखा, घुँडामा हात, हल्का पछाडि ढलेको पातलो ज्यान र त्यो दैवीय स्वर- भुल्नै नसकिने कुरा थिए । गौरा पर्वमा गाइने धुमारी, भलाउलो, चाँचडी, ठाडो खेल सबै कण्ठ थिए उहाँलाई । परम्परा, धर्म र संस्कृतिका बारेमा उहाँको ज्ञान अपार थियो ।

घरको धेरैजसो काम हजुबुबा आफैँ गर्नुहुन्थ्यो । खेत-बारीमा काम गर्ने, घाँस–दाउरा ल्याउने, धान-गहुँको भारी बोक्ने, ओखल कुट्ने, जाँतो पिन्नेजस्ता घरायसी काममा उहाँ कहिल्यै पनि थाक्नु भएन । त्यतिमात्र नभएर घर बाहिरको काममा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । टनकपुर, झुलाघाट, डडेल्धुरा, पुल्लबाट नुन-सामलको भारी ल्याउनुहुन्थ्यो । उहाँको हिँड्ने गति पनि अलौकिक थियो । अहिले सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । एकपटक उहाँ नुन ल्याउनको लागि डडेल्धुरा जानुपर्ने भयो । हिँडेर हामी घरबाट डडेल्धुरासम्म एक दिनमा पुग्थ्यौँ । अहिले कच्ची रोड छ र जिपमा तीन घण्टा जति लाग्छ ।

त्यस बेला हजुर बुबा डडेल्धुरा जान भनेर बिहानै चार बजेतिर तयार हुनुभयो । दिउँसोको एघार बजेतिर डडेल्धुरा पुग्नुभयो । नुनको भारी तयार पार्नुभयो र एकजना चिनेको मान्छेका घरमा खाना खानुभयो । खाइसकेपछि एक घण्टा जति आराम गर्नुभयो । त्यतिन्जेलसम्म दिउँसोको एक बजिसकेको थियो । हजुर बुबाले घरतिर हिँड्ने कुरा गर्दा त्यस घरका हितैषीले अब ढिला भइसकेको र यहीँ बस्न आग्रह गरे तर हजुर बुबाले हिँड्ने तय गरिसक्नुभएको थियो ।

डडेल्धुराबाट एक बजेतिर हिँड्नुभएका हजुर बुबा ब्याकुल सातबजे घर पुग्नुभयो । यसरी एकै दिनमा घरबाट डडेल्धुरा र त्यहाँबाट नुनको भारीसहित घर फिर्ता आउन सक्नु मामुली कुरा थिएन । एकपटक उहाँले मलाई भन्नुभएको थियो, ‘मेरो चाल कुकुरको जस्तै छ, हिँड्यो कि दगुर्ने, बस्यो कि सुत्ने ।’

हजुर बुबाले जीवनमा पढ्न पाउनुभएन । जम्मा नौ दिनका लागि दानी गुरु/पण्डितजीसँग बसेर अक्षर चिन्ने काम सिक्नु भएको थियो । अक्षरसँगको त्यति छोटो सामीप्यमा जति सिक्नुभयो त्यसलाई नै प्रयोग गरेर उहाँ रामायण, महाभारत पढ्नुहुन्थ्यो, तोयानाथको पात्रो हेर्नुहुन्थ्यो । उहाँको पात्रो हेर्ने कला मिहीन थियो । हरेक वर्षको पात्रो उहाँको सुत्ने ठाउँको ठीकमाथि राखिन्थ्यो र आवश्यक तिथि-मितिहरू त्यसैमा हेर्नुहुन्थ्यो । उहाँका आँखा कत्ति पनि कमजोर भएका थिएनन् । धेरै टाढाको वस्तुलाई पनि ठम्याउन सक्नुहुन्थ्यो तर पात्रो हेर्दा कहिलेकाहीं एउटा चश्मा लगाउनुहुन्थ्यो ।

त्यो चश्मा क्याप्टेन बाजेले दिनुभएको थियो र दाइको सम्झना भनेर कहिले–काहीँ लगाउनुहुन्थ्यो । एकदिन मैले हजुर बुबालाई मेरो डायरीमा केही लेखिदिन अनुरोध गरेँ । खास रुचि देखाउनु भएन तर मैले बढी नै अनुरोध गरेपछि उहाँले विस्तारै कलम समाउनु भयो र क, ख लेख्नुभयो र त्यसको तलतिर रामायणको पहिलो श्लोक लेख्नुभयो ।

त्यो अत्यन्तै सुन्दर देखिएको थियो । रामायण पढ्ने गर्नुहुन्थ्यो । उहाँको स्मरण शक्ति निकै राम्रो थियो । कुनै विश्वविद्यालयका प्राध्यापकभन्दा कम थिएन उहाँको दिमाग । चन्द परिवारका पुर्खाहरूको नाम उहाँलाई कण्ठस्त थियो । एकपटक भाइलाई उहाँले हाम्रा पुर्खाहरूको सम्पूर्ण नाम भन्नुभएको थियो जुन उसले सुरक्षित टिपेर राखेको छ । यस्तैगरी अर्को भाइले उहाँसँग गौरा पर्वमा गाइने धुमारीलगायत अन्य गीतहरूको संकलन गरेको थियो । त्यसबेला हरेक साँझ भाइले हजुर बुबासँग बसेर ती गीतहरूको बारेमा कुरा गरेको थियो । ती अविस्मरणीय साँझहरूमा हजुर बुबा गीत भन्नेमात्र नभएर त्यसको व्याख्या गर्दै भाका हालेर गाउनु पनि हुन्थ्यो ।
बन्द आँखा, घुँडामा हात, हल्का पछाडि ढलेको पातलो ज्यान र त्यो दैवीय स्वर-भुल्नै नसकिने कुरा थिए । गौरा पर्वमा गाइने धुमारी, भलाउलो, चाँचडी, ठाडो खेल सबै कण्ठ थिए उहाँलाई । परम्परा, धर्म र संस्कृतिका बारेमा उहाँको ज्ञान अपार थियो ।

हजुर बुबाको जीवन साधारण तरिकाले बितेको थियो । धेरै सम्पत्ति जोड्न नसके पनि उहाँले परिवारमा खानको कमी हुन दिनुभएन । खेत-गह्रा अनि चौपायासँग उहाँको जीवन बित्यो । आत्म-सम्मान भन्ने कुरा अलि बढी नै थियो उहाँमा । जति दुःख परे पनि मागेर खान नपरोस् भन्नुहुन्थ्यो । दाजुभाइहरूसँग राम्रो मेलमिलाप थियो । सबैभन्दा बढी त गाडका बज्यासँग उहाँको प्रेम थियो । सबै कामहरू सल्लाह गरेरमात्र सम्पन्न गर्नुहुन्थ्यो । घर परिवारभन्दा बाहिर पर्ने काममा गाडका बज्याले सल्लाह दिनुहुन्थ्यो भने खेती-पाती र अन्य घरायसी कामकाजमा हजुर बुबाले सल्लाह दिनुहुन्थ्यो । घर पनि एकै ठाउँमा सँगै जोडेर बनाउनुभएको थियो । काका-बुबाका छोरा भएर पनि दुवैको मेलमिलाप आदर्श स्वरूप थियो ।

उदाहरणीय जीवन बिताउनुभएका हजुर बुबा आज ट्रयाक्टरमा बोकिँदै हुनुहुन्थ्यो । उहाँको शरीरलाई न चिसो भएको थियो न त थकाइ नै लागेको थियो । रातको सुनसानमा ट्रयाक्टरको एकसुरको घड्घड् आवाजमात्र कर्कश संगीत बन्न पुगेको थियो ।

हामीलाई पनि मिलेर बस्नु, ऋण नमाग्नु, शिर ठाडो पार्नुजस्ता उपदेश दिनुहुन्थ्यो । सधैं सत्यमार्गमा हिँड्ने हुनाले हजुर बुबा कसैसँग डराउनुहुँदैनथ्यो । सत्यताको पक्षमा बोल्नुपर्दा देवतालाई पनि चुनौती दिन सक्नुहुन्थ्यो । धेरैजसो व्यक्तिहरू उहाँको बारेमा भन्नुपर्दा ‘देव गुण छ र राक्षस गुण पनि छ’ भन्ने गर्थे । देव गुण यस कारणले कि उहाँले कसैको केही बिगार्नु भएको थिएन । सबैलाई उच्च सम्मान गर्नुहुन्थ्यो । पाहुनालाई सधैं बास दिनुहुन्थ्यो र राक्षस गुण यस कारण कि नराम्रो कुरालाई सजिलै माफी दिनुहुँदैनथ्यो । ल भैगो, बिर्सिदिउँ, छाडिदिउँ जस्ता कुरा नगर्ने भएकाले धेरैजसो मानिस उहाँसँगको दुस्मनी मोल्न चाहँदैनथे । त्यसैले सबैसँग उहाँको असल सम्बन्ध थियो ।

हजुर बुबाले एकपटक भन्नुभएको थियो, ‘जीवन भनेको दुई दिनको हो । एक, जन्मेको दिन र अर्को, मरेको दिन । बाँकी अरू दिन त नगने पनि हुन्छ ।’ उहाँले भन्नुभएको यो कुरा कहिले नबिर्सने खालको छ । वास्तवमा जीवनलाई किन दुई दिनको भनिएको हो भनेर हजुर बुबाले राम्ररी बुझ्नुभएको थियो । जन्म र मृत्युका बीचको समयलाई उहाँले भरपुर उपयोग गर्नुभयो । जति बाधा-अड्चनहरू आए पनि नआत्तिएर बस्नुभयो, समस्यासँग सधैं लड्नुभयो । कहिल्यै पनि घमण्ड गर्नुभएन । जीवनमा आएका जिम्मेवारीलाई सकेसम्म राम्ररी पूरा गर्नुभयो । ढाँट्ने, छल्ने काम कहिल्यै गर्नुभएन । अरूको सित्तैमा खान र अरूलाई सित्तैमा दिन खोज्नुभएन ।

यसरी उदाहरणीय जीवन बिताउनुभएका हजुर बुबा आज ट्रयाक्टरमा बोकिँदै हुनुहुन्थ्यो । उहाँको शरीरलाई न चिसो भएको थियो न त थकाइ नै लागेको थियो । रातको सुनसानमा ट्रयाक्टरको एकसुरको घड्घड् आवाजमात्र कर्कश संगीत बन्न पुगेको थियो । झिसमिसे भइसक्दा पनि हामी गन्तव्यमा पुग्न सकेका थिएनौं । लाग्यो, हजुर बुबाको दोस्रो दिन वास्तवमै महत्वपूर्ण हुनगयो ।

सात-आठ घण्टाको अविरल यात्रापछि हामी महाकाली घाट (खाँण) पुग्यौं । त्यहाँ पुग्नुभन्दा एक किलोमिटर अगाडि जति ट्रयाक्टर रोकेर बुबाले परम्पराअनुसार पिण्ड दिने कार्य गर्नुभयो । महाकाली किनारमा पुगेपछि ट्रयाक्टरबाट हजुर बुबा र दाउराका गेलहरू क्रमशः झिकिए । एकजना गोर्खा सैनिकबाट अवकाश हुनुभएका अग्रज (गिठोला बज्या) हजुर बुबालाई सलामी दिन भनी सैनिक पोशाकमै आउनुभएको थियो । उहाँले हजुर बुबाको पार्थिव शरीरलाई भारतीय सैनिकको शैलीमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । हामी सबैजना मौनधारणमा सामेल भयौँ । महाकालीको निरन्तर गडगडाहट, मलीन अनुहारहरू र हरिया पहाडको बीचमा यसरी अन्तिम श्रद्धाञ्जलि दिइसकेपछि हजुर बुबाको शरीरलाई चितामा राखियो । जलाइयो । हजुर बुबाको मृत्यु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?