यस पटकको बजेट साइज सानो हुन्छः सांसद विष्ट

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्णराज विष्टले यस पटकको बजेट साइज सानो हुने बताउनुभएको छ । मंगलबार सदरमुकाम तम्घासमा जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्लास्थित विकास निर्माणसँग सम्बन्धित कार्यालयका आ. व.२०७९/०८०को दोस्रो चौमासिक प्रगति समिक्षा बैठकमा सांसद विष्टले यस्तो बताउनुभएको हो ।

देशको आर्थिकस्थिति डरलाग्दो अवस्थामा देखा परिरहेको बताउँदै बढ्दो व्यापार घाटा, मूल्य वृद्धि, जनशक्तिको अभाव, बढ्दो बेरोजगारि जस्ता समस्या नेपालको अर्थतन्त्रमा देखा परिरहेको उहाँले बताउनुभयो । अहिले जनताको निराशालाई बुझेर विकास दिनुपर्ने सबैको साँझा विन्दु भएको उल्लेख गर्नुभयो ।

उहाँले अहिले विकासका आयोजनाहरु संक्रमणकालिन अवस्थामा रहेको समेत बताउनुभयो । राजनीतिज्ञले सपना देख्ने र त्यसलाई डिजाइन गरी पुरा गर्ने काम कर्मचारीहरुको भएको समेत बताउनुभयो । उहाँले ठेक्काको जिम्मा लिएर काम नगर्ने छुट कसैलाई नभएको समेत उल्लेख गर्नुभयो ।

सोही बैठकमा प्रदेश सांसद डिल्लीराज भुसालले गुल्मी जिल्लाको विकासका लागि राजनैतिक पूर्वग्राह राख्न नहुने बताउनुभयो । “हामी जनताका साझा जनप्रतिनिधि हौं । पार्टी हेरेर काम गर्नु हुँदैन् ।” उहाँले भन्नुभयो- “बजेट ल्याउन समस्या छ । तर दुख गरेर ल्याएको बजेट कार्यान्वयन लैजान कार्यालयले समयमन टेण्डर आव्हान नगर्ने, र निर्माण व्यवसायीले समयमै काम नगर्ने भएका कारण समस्या हुने गरेको छ ।” भुसालले चुनावको होइन् कामको प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

बैठकमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले कतिपय मान्छेको काम अख्तियारमा मुद्धा दिने मात्रै भएको बताउनुभएको छ । राम्रो कार्य गर्दा पनि अख्तियारमा मुद्धा खानु परेको भन्दै विकासमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्माण व्यवसायीले समयमा काम नगर्दा जनप्रतिनिधले दोष खेप्नु परेको समेत बताउनुभयो । निर्माण व्यवसायीहरुलाई समयमै गुणस्तरीय काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

बैठकमा सहभागी निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउनेलगायतका विभिन्न समस्याहरु आफुहरुले भोग्नु परेको बताएका थिए । निर्माण व्यवसायीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन पनि उनीहरुले माग गरेका थिए । निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफुहरु अन्यायमा परेको बताउनुभयो ।

समिक्षा बैठकमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तम्घासका डिभिजन प्रमुख आबिद हुसैन, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखरा सालझण्डी, सन्धिखर्क ढोरपाटन सडक योजनाका ईन्जिनियर शरद आचार्य, भदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका ईन्जिनियर विरेन्द्रप्रकाश तेली, सडक डिभिजन कार्यालय पाल्पाका प्रदिपमणि निरौला, सडक पूर्वाधार विकास कार्यालय गुल्मीका सचितानन्द चौधरीले आ-आफ्नो कार्यालय मातहतमा रहेका योजनाहरुको प्रगतिका विषयमा जानकारी गराउनुभएको थियो । बैठकमा जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, विभिन्न गाउँपालिकाका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?