ओमानसँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राती भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले १-१ गोल गर्नुभयो । एएफसी एसियन कप छनोटका लागि नेपाली टोली कतारको दोहामा रहेको थियो । दोहामै नेपालले ओमानसँग तेस्रो अभ्यास खेल खेलेको हो । यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यु-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकालाई १-१ को बराबरीमा रोकेको थियो ।

योसँगै नेपाली टोलीको दोहा बसाइसमेत सकिएको छ । दोहामा नेपाली टोलीले १० दिन बिताएको थियो । दोहाबाट शनिबार नै नेपाली टोली विश्वकप छनोट आयोजनास्थल कुवेत प्रस्थान गरेको छ । एसिया कप क्वालिफायरको तेस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली टिम कुवेत प्रस्थान गरेको हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मनमुटावपछि नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित ११ खेलाडीको अनुपस्थिति रहँदा टोलीमा युवा खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीको कप्तानी नवयुग श्रेष्ठले गर्दै हुनुहुन्छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोली घोषणा गर्नुभएको हो । नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छोड्नुभएको थियो । उक्त विरोध गर्ने रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालाई टोलीबाट हटाइएको छ ।

एएफसी छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपाल समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?