फ्रिडमको मिश्रित प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४-० गोलले पराजित गर्दै विजयी सुरुवात गर्‍यो ।

दुई गोल गरेका विजेताका विकर्ण श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । फ्रिडमको ‘बी’ टिमलाई भने जगंवीर युनाइटेडले १–० गोलले हरायो । विजयी टिमका कप्तान विकास कार्की ‘म्यान अफ द म्याच’ चुनिनुभयो ।

काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा नुवाकोट दरबार, बौद्ध भेट्रान ‘बी’ र ढोलाहिटीले पनि सफलता पाउनुभयो । नुवाकोटले एएफसीमाथि ८-२ को सहज जित दर्ता गर्‍यो । नुवाकोटका मनु गौतम ‘म्यान अफ द म्याच’ ठहरिनुभयो । उहाँले २ गोल गर्नुभयो ।

बौद्धले आयोजक चावहिल ‘ए’ लाई ३-० ले निराश पार्‍यो । बौद्धका गोलरक्षक राजेन्द्र गौतम ‘म्यान अफ द म्याच’ बन्नुभयो । ढोलाहिटीले आयोजक ‘बी’ माथि टाइब्रेकरमा ४-३ को जित रच्यो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ढोलाहिटीका नितिन गुरुङ ‘म्यान अफ द म्याच’ हुनुभयो ।

प्रतियोगिताको युवा नेता गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका मोफसलका दुईसहित १५ पुरुष टिमको सहभागिता थियो । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनुहुनेछ ।

उत्कृष्ट खेलाडी, डिफेन्डर र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने छ । सिक्स ‘ए’ साइड नकआउट प्रतियोगिताको फाइनल जेठ ३१ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?