काठमाडौं । दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफमा युएईलाई ३ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल एक समय ६३-६ को दयनीय अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट दीपेन्द्रले ७९ रनको अर्धशतकीय पारी खेलेपछि नेपालले उक्त लक्ष्य ४३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
नेपालको एकातर्फको क्रिज सम्हाल्नुभएका दीपेन्द्रले सातौँ विकेटका लागि गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गर्नुभयो । गुलशनले २४ बलमा १ चौकासहित १२ रन जोड्नुभयो । त्यसपछि सन्दीप लामिछानेसँग आठौँ विकेटका लागि ७९ रनको साझेदारी गर्दै दीपेन्द्रले नेपाललाई जिताउनुभयो ।
सन्दीपले ३७ बलमा २ चौकासहित २३ रनको नटआउट पारी खेल्नुभयो । दीपेन्द्रले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गर्नुभएको थियो ।
त्यसअघि ओपनर कुशल भुर्तेलले ३५ रनको पारी खेले पनि नेपालको मध्यक्रम भने चलेन । अर्का ओपनर अर्जुन साउद १ रनमै आउट हुनुभयो । यस्तै, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की र आरिफ सेख १–१ रनमा आउट हुनुभएपछि नेपाललाई परेको संकट दीपेन्द्रले मोचन गर्नुभएको थियो ।
त्यसअघि जिम्बाबेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
युएईका वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाउनुभयो । अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेल अघि बढाउनुभएको थियो । अर्यांश शर्माले २८, रमिज शाहजाद १० रनमा आउट हुनुभयो । यस्तै, रोहन मुस्तफाले ५६ बलमा ३ चौकासहित ३५ रन बनाउनुभयो । बासिल हामिदले २९ रन थप्नुभयो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिनुभयो । करण केसीले ८.५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिनुभयो । प्रतिश जिसी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले समान एक-एक विकेट लिनुभयो ।
यस खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल गत मार्चमा भएको पपुवा न्युगिनीपछिको खेलपछि नेपाली टोलीमा फर्किनुभयो । त्यसबाहेक युवा खेलाडीद्वय प्रतिश जिसी र अर्जुन साउदलाई प्रशिक्षक मोन्टी देसाईले मौका दिनुभएको थियो । नेपालले आसिफ शेख, ललितनारायण राजवंशी र कुशल मल्लको स्थानमा उहाँहरूलाई खेलाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच