भारतीय क्रिकेटर देविका ब्याटिङ प्रशिक्षकमा नियुक्त

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पूर्वभारतीय महिला क्रिकेटर देविका पाल्शिकरलाई नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । नेपालले अगष्ट र सेप्टेम्बरमा मलेसियामा हुने आइसिसी महिला विश्वकप टी-२० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकका रूपमा अनुबन्ध गरेको हो ।

एसिया क्षेत्र छनोटका लागि नेपालले २४ सदस्यीय टोली यसअघि नै बन्द प्रशिक्षणमा बोलाइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक श्यामसनजंग थापाले महिला टोलीलाई प्रशिक्षण दिइरहनुभएको छ ।

देविकाले भारतबाट एक टेस्ट र १५ ओडिआई खेल्नुभएको छ । गत वर्ष भारतीय क्रिकेट बोर्डले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल)मा उहाँले मुम्बई इण्डियन्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसक्नुभएको छ । देविकाको अनुबन्धसँगै नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक विदेशी प्रशिक्षक पाउन लागेको हो ।

बन्द प्रशिक्षणमा कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का हुनुहुन्छ । त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोदार पनि छनोटमा पर्नुभएको छ ।

विश्वकपको एसिया छनोट प्रतियोगिता मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुँदैछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार छन् । प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् ।

विश्वकपको ग्लोबल छनोट श्रीलंकामा हुनेछ । जहाँ आयोजक श्रीलंका र आयरल्याण्डसँगै पाँच क्षेत्रीय छनोटबाट आउने आठ टोली गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसको फाइनलमा पुग्ने शीर्ष दुई टोली बंगलादेशमा हुने विश्वकपमा छनोट हुनेछन् ।

विश्वकप अर्को वर्ष बंगलादेशमा हुँदैछ । विश्वकपमा गत वर्ष दक्षिण अफ्रिकामा सम्पन्न महिला टी-२० विश्वकपका शीर्ष ६ टोली दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड र वेस्टइन्डिज सोझै छनोट भएका छन् । त्यसबाहेक पाकिस्तान वरीयताका आधारमा तथा बंगलादेश आयोजकका रूपमा विश्वकप खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?