गड्डाचौकी भएर आउने विदेशी पर्यटकको संख्या न्यून

हिमालय टाइम्स
Read Time = 6 mins

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमा नाका हँुदै आउने पर्यटकको संख्या घटेको हो । अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी पदमराज भट्टका अनुसार जनवरीमा १७, फेब्रुअरीमा ७, मार्चमा २९, अप्रिलमा २२ र मेमा २२ जना पर्यटक सीमा नाका भएर भित्रिएका छन् ।

सीमा नाका हुँदै भारततर्फ जाने पर्यटकको संख्या भने शून्य रहेको छ । ‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमा नाकामा रोकतोक गरेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बरदेखि हालसम्म जान दिइएको छैन । केन्द्रबाटै केही सीमा नाकामात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्,’ उहाँले भन्नुभयो ।

गत वर्षको यही अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको संख्या भने शून्य रहेको थियो । कोरोनाको संक्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमा नाका हुँदै आउन थालेका छन् । सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका छन् । ‘भारतमा ६ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम रहेको छ,’ सूचना अधिकारी भट्टले भन्नुभयो, ‘ती विदेशी पर्यटक ६ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन् । पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन् ।’

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइने गरेको छ । जसका लागि भिसा शुल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको भिसाका लागि १२५ डलर शुल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको संख्या शून्य रहेको थियो । अगस्टदेखि डिसेम्बरसम्म ५८ जना पर्यटकमात्रै भित्रिएका थिए । सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए ।

सन् २०२० को जनवरीदेखि मार्च महिनासम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सीमा नाका हुँदै आउने पर्यटकको संख्या शून्य रहेको थियो । अक्टुबर महिनामा दुईजनामात्रै विदेशी पर्यटक भित्रिएका थिए । नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो । सन् २०२० मा सीमा नाका हँुदै ५१९ पर्यटक बाहिरिएका थिए । सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए । सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र दुई हजार २२२ पर्यटक बाहिरिएका थिए ।

यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । ‘विदेशी पर्यटकहरूले सीमा प्रवेश गरेपछि सम्पूर्ण विवरणसहितको फाराम भर्नुपर्ने हुन्छ । आवेदन दिनुपर्छ,’ सूचना अधिकारी भट्टले भन्नुभयो, ‘कोरोनाविरुद्धको दुईवटा खोप अनिवार्य लगाएको हुनुपर्छ । त्यसपछि मात्रै सीमा प्रवेश अनुमति दिइने गरेको छ । धेरैले फाराम भर्न जान्दैनन् । हामीले फाराम भर्न सघाउने गरेका छौँ ।’

विदेशी पर्यटकसँग नगद रकम नभई कार्डमात्रै हुने गर्दछ । कार्ड स्वाइप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनी चेन्जरमा विदेशी पैसाको कारोबार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यागमन कार्यालय लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ । कार्यालयको आफ्नो स्वामित्वमा जग्गा र घर नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीले २४सै घण्टा सेवा दिँदै आए पनि अतिरिक्त सुविधा भने पाउने गरेका छैनन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?