अमेरिकासँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको हृयुस्टनस्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।

अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिनुभयो ।

यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाउनुभयो । छैटौँ विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन/तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक/एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाउनुभयो । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाउनुभयो । बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिनुभयो ।

अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो । आइसिसी विश्वकप लिग-२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अंक जोडेको छ । नेपाल लिग-२ मा पाँचौँ स्थानमा छ ।

नेपालले खेल हारे पनि तीव्र गतिका बलर करण केसीले प्लेयर अफ द सिरिजको उपाधि जित्नुभयो । करणले ४ खेलमा १३ विकेट लिनुभएको थियो । उहाँले ओमानविरुद्ध भएको दुवै खेलमा ५ विकेट लिनुभएको थियो । करणले पहिलो खेलमा ओमानविरुद्ध ५-३८ र दोस्रोमा ५-३३ लिनुभएको थियो । अमेरिकाविरुद्ध तेस्रो खेलमा करणले ३-६७ विकेट लिनुभएको थियो ।

अमेरिकासँग पराजित भएसँगै नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जितको नजिक पुगेर पनि पराजित भएको बताउँदै आफूहरूले राम्रो खेल्न नसकेको प्रतिक्रिया दिनुभयो । ‘जितको एकदमै नजिक पुगेर हारेका छौँ । मलाई लाग्दैन हामीले जुन तरिकाले खेलेका थियौँ त्यहाँबाट एउटा खेल गुमाउनुपर्ने हो । पहिलो खेलमा ओमानसँग होस् वा अमेरिकासँग २७४ रन टाई हुँदा, सानो-सानो गल्ती हामीले सुधार गर्नुपर्ने हुन्छ’, सन्दीपले भन्नुभयो, ‘हामी अमेरिकामा चारै खेल जित्ने अवस्थामा पनि थियौँ । एकदम जित नजिक पुगेर हार्नुले हामी कहाँ छौँ र धेरै सुधार गर्नुपर्ने हुन्छ । हाम्रो खासै धेरै कुराहरू मिस भएको छैन । विपक्षीले पनि एउटा समयमा विकेट गुमाएको हुन्छ । त्यसपछिको ब्याटरले खासै जोखिम लिँदैन । त्यसले गर्दा सानो-सानो कुरामा साझेदारी गर्दा हामीले सबै कुरा एकैपटक प्रयोग गर्न मिल्दैन ।’

सन्दीपले युवा खेलाडीहरू भएका कारणले दबाब थेग्न समस्या भएको बताउनुभयो । उहाँले आफूले पनि बलिङमा अझै राम्रो गर्न सक्ने विकल्प हुँदाहुँदै गर्न नसकिएको प्रतिक्रिया दिनुभयो । नेपालले विश्वकप लिग-२ मा देशबाहिर ६ सिरिज खेल्नुपर्ने हुन्छ । नेपालले अब स्कटल्यान्ड र नामिबियामा गएर खेल्नेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाको सिरिज जुलाई दोस्रो सातादेखि सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?