महेन्द्रनगर । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ ।
पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरूले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही बनेको छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।
कञ्चनपुर क्रिकेट संघका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताउनुभयो । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तर्राष्ट्रियरूपमै परिचित खेलाडीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढावा पाएको उहाँको भनाइ छ ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रूपमा परिचित पनि छ । हाल महेन्द्रनगरमा क्रिकेट संघको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रूपमा खेलाडी उत्पादन गरिरहेका छन् । संघका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता संघको समन्वयमा भइरहेको जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन । संघका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो गर्नुभयो ।
जिल्लामा अन्यत्र पनि केही ठाउँमा क्रिकेट मैदान बनाउने सुरसार देखिए पनि सदरमुकामको निर्माणाधीन मैदान अलपत्र रहेको उहाँको गुनासो छ ।
चीनमा सम्पन्न १९औँ एसियाली खेलुकदमा टी-२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाउनुभएको थियो । ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुनुहुन्छ । गत भदौमा नेपालका तर्फबाट एसियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहोलले बजार पाएको बुझाइ छ ।
अध्यक्ष चन्दका अनुसार महेन्द्रनगरमा अहिले वडास्तरीय क्रिकेट प्रतियोगिता जारी छ भने वेदकोट, कृष्णपुरको गुलरिया, पुनर्वासमा समेत संघसँगको समन्वयमा क्रिकेट आयोजना भएको छ ।
त्यसका साथै वडा कार्यालयको अग्रसरतामा शुक्लाफाँटा नगरपालिका-१ र भीमदत्त नगरपालिका-१२ मा समेत ठूलो धनराशिको क्रिकेट आयोजना भइसकेको छ । नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आए पनि खेलाडीको उर्वरभूमिमा बजेट अभाव रहेको उहाँले बताउनुभयो ।
कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताउनुभयो । कञ्चनपुरमा हाल विभिन्न खेलका १७ प्रशिक्षक कार्यरत छन् भने ३१ संघ दर्ता छन् । पछिल्लो समय यहाँ स्थानीय तह र वडा कार्यालय नै अग्रसर भएर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताउनुभएको छ । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेल मैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘खेलकुदका माध्यमबाट लागूऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताउनुभयो ।
जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मंसिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २० हजार र विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच