काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८) मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) जानुभएको छ । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल बुधबार राति ९ः३० बजे त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोलगायत अन्य उच्चाधिकारी हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड त्यहाँ हुने विभिन्न साइडलाइन समारोहमा पनि सहभागी हुनुहुने छ । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।
यससपालिको कोप सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्याबारे कुरा उठाउने तयारी गरेको छ । नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँटमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग छलफल हुनेछ । गत वर्ष इजिप्टको साम-इल-शेख सहरमा भएको कोप २७ मा नेपालसहित कम विकसित मुलुकहरूलाई जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि पैरवी गर्न दिइने अनुदानको रकम बढाउने छलफल भएको थियो । सोहीअनुसार संयुक्त राष्ट्रसंघले वित्तीय कोष बढाउने निर्णय पनि गरेको थियो । तर, घोषणा कार्यान्वयनमा नआएको भन्दै उक्त घोषणालाई कार्यान्वयनमा लैजान यसपटक नेपालले पैरवी गर्ने भएको हो ।
वन मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी उक्त सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालना गर्नुपर्ने गरी नेपालले आफ्ना धारणा पेस गर्नेछ । यस्तै, जलवायु अनुकूलनका लागि दोब्बर घोषणा गरिएको सहायता कोषलाई अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयनमा पनि नेपालले जोड दिनेछ । यही वर्षदेखि आफ्नो छुट्टै पेभिलियन बनाएर छलफल चलाउने तयारी गरेको छ । नेपालले हिमालय क्षेत्रमा देखा परेको जलवायु परिवर्तनको असर र न्यूनीकरणका लागि विश्व समुदायबाट प्राप्त गर्न सकिने सहयोगका बारेमा ती छलफल केन्द्रित गर्नेछ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा आज (बिहीबार) सम्मेलनको उद्घाटन समारोह हुँदै छ । आयोजक युएईले सम्मेलनको अध्यक्षता गर्नेछ ।
कोप-२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । भोलिदेखि १३ दिनसम्म चल्ने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । उहाँले शुक्रबार सत्रलाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै ‘कल अफ दी माउण्टेन " हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुने छ । यो सत्रमा उहाँले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तन र तापक्रमको असर बुझ्न र हेर्नका लागि अपिल गर्नुहुने तयारी छ । प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुहुने छ । साथै उहाँले युएईमा हुन लागेको नेपाल-युएई व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेपाली टोली शनिबार स्वदेश फर्किनेछ ।
कोप-२८ : यस्ता छन् नेपालका प्राथमिकता
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताउनुभयो । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि राष्ट्रिय स्थिति पत्र नै तयार गरेको छ । विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पुपलर जेन्टलका अनुसार यो सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्वपूर्ण हुनेछ । सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने अपेक्षा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच