फेरि एकपटक प्रधानमन्त्री बनेर मुलुकलाई नयाँ युगमा लैजाने सपना छ : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनुभएको हो ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताउनुभएको हो । अध्यक्ष दाहालले पहिलोपटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो कार्यकाल भने गर्व गर्न लायक रहेको दाबीसमेत गर्नुभयोे ।

‘पहिलोचोटि प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बितिगयो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि दाहालले बताउनुभयो । ‘आर्थिक वृद्धिदरलाई २५ वर्षपछि साढे ७ प्रतिशत बनाउने कुरा पनि सानो कुरा थिएन,’ दाहालले भन्नुभयो ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाइ थियो । फेरि एकपटक देशको नेतृत्व गरेर नयाँ युगमा मुलुकलाई लैजाने आफ्नो सपना रहेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?