काठमाडौं । नेपाली सेनाका उपल्लो तहका जर्नेलहरूको जन्ममिति र शैक्षिक प्रमाणपत्रसम्बन्धी विवादले आगामी प्रधानसेनापति को बन्ने ? भन्ने प्रश्न उब्जिएको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि प्रधानसेनापतिको रोलक्रममा रहनुभएका जर्नेल ताराध्वज पाण्डेको जन्ममिति विवादका कारण राजीनामा दिएसँगै आगामी प्रधानसेनापति को हुने ? भन्ने प्रश्न उब्जिएको हो ।
हालका प्रधानसेनापति शर्माले आगामी भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँले अवकाश पाएपछि प्रधानसेनापति हुने भनिएका जर्नेल पाण्डेको बढुवाको सिफारिस भइसकेपछि जन्ममितिको विवाद सार्वजनिक भएको थियो र त्यही विवादका कारण उहाँले पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ ।
रथी सरोजप्रताप राणा अनिवार्य अवकाशमा गइसकेको र आगामी पुस ३ गतेबाट अर्का रथि सीताराम खड्का पनि अनिवार्य अवकाशमा जाने भएकाले सैनिक मुख्यालयले पाण्डेको राजीनामापछि अर्को उपरथीलाई बढुवा सिफारिस गर्न सकेको छैन । प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उहाँपछिको रोलक्रममा सैनिक जंगी अड्डाले बढुवा सिफारिस गरेका पाण्डेले उमेर विवादका कारण राजीनामा दिएर बाहिरिएपछि सेनाभित्र भावी प्रधानसेनापतिको खोजी सुुरु भएको हो ।
त्यसो त राणा, पाण्डे र खड्काको अवकाशपछि अशोकराज सिग्देल स्वतः रथी बढुुवाको लाइनमा हुनुहुन्थ्यो । त्यहीअनुरूप पाण्डेलाई सैनिक मुख्यालयले अघि सारेको थियो । तर, पाण्डेको उमेर विवादले राजीनामा दिन बाध्य पार्यो । हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते तीनवर्षे कार्यकाल पूरा गरी अवकाशमा जाँदै हुनुहुन्छ । त्यसपछि नेपाली सेनाको ४५औँ प्रधानसेनापतिको कमाण्डमा कसलाई ल्याउने ? भन्नेमा सैनिक मुख्यालय अन्योलमा परेको छ ।
सेनामा अहिलेसम्म वरीयतामा एक नम्बरमा रहेका रथी नै सेनाको प्रधानसेनापति बन्ने परम्परा रहेको छ । जसअनुसार उपरथी सिग्देल पहिलो वरीयतामा हुनुहुन्छ । जानकारहरूका अनुसार बढुवा सिफरिसमा पर्नुअघि नै जंगी अड्डाले उहाँको पनि सरकारी कागत छानविन गर्ने तयारी गरेको छ । ‘उपरथीमा बढुवा हुनुुअघि उहाँको कागजातहरू छानविन गर्ने तयारी छ’, सैनिक मुख्यालय स्रोतले बतायो ।
मापदण्ड नै परिवर्तन गरेर सिग्देललाई सिफारिस गरिँदै
पाण्डेको राजीनामा स्वीकृत भएपछि उक्त ठाउँमा दुई तारे जर्नेल अशोकराज सिग्देलको नाम सिफारिसका लागि प्रस्ताव गरिएको छ । यसअघि ताराध्वज पाण्डेको नाम प्रस्ताव गरिएपछि उहाँका विरुद्ध सार्वजनिक रूपमा विरोध र उजुरीको लागि आहृवान गरिएको थियो तर अहिले सिग्देलको विरुद्ध उजुरी आहृवान गर्दा जंगी अड्डाले मापदण्ड नै परिवर्तन गरेर नेपाली सेनाका बहालवाला अधिकारीले आफ्नो नाम दर्जा खुलाएर उजुरी गर्नुपर्ने व्यवस्था गरेको छ ।
भावी प्रधानसेनापतिविरुद्ध सेनाका कुनै पनि जवान वा अधिकृतले आफ्नो नामबाट उजुरी गर्नसक्ने अवस्था रहँदैन र सर्वसाधारणले उजुरी गर्ने व्यवस्थामाथि रोक लगाएर जंगी अड्डाले निर्विवाद रूपमा सिग्देललाई प्रधानसेनापति बनाउन खोजेको देखिएको छ ।
बढ्यो राजनीतिक हस्तक्षेप
जंगी अड्डाले माओवादी नेतृत्वको योजनाअनुसार सिग्देललाई बढुवा गर्न लागेको बुझिएको छ । सिग्देलले आफूपछि जर्नेल बाबुराम श्रेष्ठलाई अघि सार्नुपर्ने र त्यसपछि माओवादी लडाकुबाट सेना समायोजनमा स्वतः प्रवेश पाउनुभएका यमबहादुर अधिकारीलाई नेतृत्वमा ल्याउने रोडम्याप बनाएको छ । माओवादीको उक्त रोडम्यापलाई प्रमुख प्रतिपक्षी एमालेले मौन समर्थन गरेको छ ।
जर्नेल सिग्देलको जन्ममिति विवादबारे अख्तियारमा उजुरी परेको छ । तर, त्यसमाथि छानविन अघि बढाइएको छैन । नागरिकताअनुसार उहाँको जन्ममिति २०२३ साल माघ १९ गते हो भने एसएलसीको सर्टिफिकेटअनुसार उहाँको जन्ममिति २०२१ साल माघ १९ गते हो । यस्तै, विवादमा परेका जर्नेल ताराध्वज पाण्डेले सेनाको कोर्ट मार्सलको कारबाहीबाट जोगिन र सबै सेवासुविधा प्राप्त गर्न राजीनामा दिएर बाहिरिएका थिए तर जर्नेल सिग्देललाई हुबहु उही प्रकृतिको विवादमा उन्मुक्ति दिएर बढुवा गर्न जंगी अड्डाले सम्भावित उजुरीको बाटोसमेत रोकेको छ ।
माओवादीसँग मिलेर रक्षामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का पेलेरै भए पनि जर्नेल सिग्देललाई बढुवा गर्ने पक्षमा लाग्नुभएको छ । कथम्कदाचित जर्नेल सिग्देलको जन्ममिति विवादमा छानविन भयो भने उहाँ पनि जर्नेल पाण्डेकै बाटोबाट राजीनामा गरेर हिँड्नुको अर्को विकल्प देखिएको छैन । त्यसपछिको रोलक्रमको वरिष्ठतम् जर्नेल निर्मलकुमार थापाको पनि त्यस्तै खोट रहेको भनी गत ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उहाँले सेनामा भर्ना हुन भारतीय नक्कली सर्टिफिकेट पेस गरेको आरोप लागेको छ । उहाँ २०४३ सालमा सेनामा भर्ना हुनुभएको थियो ।
२०४० सालमा एसएलसी पास गरी अमृत साइन्स कलेजमा भर्ना हुनुभएका थापा आइएस्सी प्रथम वर्षमै फेल हुनुभएको थियो र सेनामा भर्ना हुन उहाँले भारतको गोरखपुरबाट आइएस्सीको सर्टिफिकेट बनाएर ल्याउनुभएको थियो, जबकि ०४१÷०४२ सालमा उहाँ अमृत साइन्स कलेजकै विद्यार्थी हुनुहुन्थ्यो, उहाँले भारत गएर अध्ययन गर्नुभएको थिएन । त्यसरी छानविन हुने हो भने सेनामा यी दुई जर्नेल सिग्देल र थापा पनि कारबाहीमा पर्ने देखिन्छ ।
जहिल्यै जन्ममिति विवाद
नेपाली सेनामा ‘उमेर विवाद’को यो मात्रै पहिलो घटना भने होइन । यसपूर्व पनि पटक–पटक उमेर विवादका घटनाले चर्चा बटुल्दै आएका छन् । विशेष गरी जर्नेलस्तरका अधिकृतको उमेर विवादले बढी चर्चा पाउने गरेका हुन् । सेनामा उमेर विवादको कारण चर्चा पाएका पात्रहरूमध्ये पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको नाम पनि समावेश छ । उहाँमाथि शैक्षिक प्रमाणपत्र केरमेट गरेर जन्ममिति घटाएको आरोप लागेको छ । सञ्चार माध्यमले तत्कालीन समयमा प्रमाणसहित नै यो कुरा बाहिर ल्याएका थिए ।
यस्तै, उमेर विवादमा पूर्व-प्रधानसेनापति रुक्मांगद कटवालको नाम पनि आउँछ । उहाँको सही जन्ममिति २००१ कात्तिक २७ गते रहेको दाबी गरिन्छ । यस्तै उमेर विवादको सूचीमा पूर्व-सहायकरथी हेम खत्रीको नाम पनि आउँछ । उहाँ नक्कली प्रमाणपत्रका आधारमा वृत्ति विकासको अवसर लिएको भन्दै बर्खास्तीमा समेत पर्नुभएको थियो ।
खत्रीको मुद्दासँगै जोडेर तत्कालीन उपरथी प्रेमप्रकाश थापामगरलाई पनि बर्खास्त गरिएको थियो । थापामगरले खत्रीको प्रमाणपत्र बदनियत राखेर पेस गरेको वा स्नातक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्रको आधिकारिकता यकिन गर्नुपर्ने दायित्व र कर्तव्य हुँदाहुँदै लापरबाही गरेको, खत्रीलाई तालिममा समावेश गर्ने उद्देश्यले जन्ममिति परिवर्तन गरेको आरोप थापामगरमाथि लगाइएको थियो ।
त्यसैगरी, पूर्व-सहायकरथी ज्ञानेन्द्रजंग रायमाझीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको आरोप लागेको थियो । उपरथीमा जंगी अड्डाबाट उहाँको बढुवा फाइल रक्षा मन्त्रालय पुग्दा यही विवादका कारण तत्कालीन रक्षा सचिवले रोक्नुभएको थियो । त्यसपछि रायमाझी राजीनामा दिएर बाहिरिनु भएको थियो । सेनामा यी केही बाहिर आएका विवाद मात्रै हुन् । यस्ता विवाद बारम्बार आइरहन्छन् । जसको सिलसिला लामै छ । जसमा अधिकांश नक्कली शैक्षिक प्रमाणपत्र पेसका देखिन्छन् भने अन्यमा शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा भएको फरकपनले सिर्जना गर्ने गरेका छन् ।
सेनाका नक्कली नागरिकता र शैक्षिक प्रमाणपत्रलाई छानविन गर्ने आँट केही वर्षअघि तत्कालीन रक्षा सचिव ईश्वरी पौडेलले गर्नुभएको थियो । तर, उहाँको त्यो आँट पनि केही समय मात्र देखिएकाले सेनाभित्र नक्कली प्रमाणपत्रधारी उच्च अधिकारी अझै रहेको स्रोतले जनाएको छ । राजीनामा दिएर बाहिरिएका पाण्डेको पनि यसअघि छानविन गरिएको थियो । त्यसक्रममा हाल बहालवाला रहनुभएका उपरथी सिग्देलको पनि छानविन गरिएको थियो । त्यतिबेला दुवैलाई सफाइ दिइएको भए पनि पाण्डेको विवाद बाहिरिएपछि राजीनामा दिनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच